२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

राजनीतिक ध्रुवीकरणको दलदल

Nada
डा. देवीप्रसाद आचार्य
२०८३ जेठ २१ गते ०६:०५
Shares
राजनीतिक ध्रुवीकरणको दलदल

विविधतामा एकता नेपाली समाजको विशेषता हो । नेपाली समाजमा रहेको जातीय, धार्मिक, सांस्कृतिक, भाषिकलगायत विविधतामा सामाजिक एकीकरण विश्व समुदायमा समेत परिचित छ । परन्तु प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछि नेपाली समाज राजनीतिक दलमा ध्रुवीकृत बन्दै गएको देखिन्छ । कोही कांग्रेस, कोही कम्युनिस्ट, कम्युनिस्टभित्र पनि अनेक नामधारी दलहरू, राप्रपा, रास्वपा, श्रम संस्कृतिलगायत दर्जनौंको संख्यामा रहेका राजनीतिक दलहरूमा नेपाली समाज ध्रुवीकृत भएको छ । 

त्यसो त लोकतन्त्रमा नागरिकले आफूले रुचाएको राजनीतिक दललाई समर्थन गर्न, मतदान गर्न, आलोचना वा प्रशंसा गर्न पाउने विषय उसको वैयक्तिक अधिकारको विषय हो । परन्तु फरक विचार राख्ने व्यक्तिलाई शत्रुवत् व्यवहार गर्ने, असहिष्णु हुने, आलोचना तथा सत्तोसराप गर्नेजस्ता कुरा सभ्य मानिस वा समाजका लागि सुहाउने विषय होइन । राजनीतिक आस्थाकै आधारमा गालीगलौजमा उत्रनु लोकतान्त्रिक आचरण होइन ।

अब्राहम लिंकनका शब्दमा, ‘आफैंमा विभाजित समाज दीर्घकालसम्म टिक्न सक्दैन’ भन्ने छ । यस भनाइलाई आधार मानेर हेर्दा नेपाली समाजले राजनीतिक आस्थाका आधारमा सिर्जना गरेको विभाजन, आपसी द्वन्द्व, असमझदारी तथा असहिष्णु व्यवहारले राम्रो संकेत गर्दैन । हरेक व्यक्तिले कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता हुनुभन्दा पहिले सार्वभौम देशका नागरिक हुँ भन्ने चेतनाको विकास गर्नुपर्दछ । कुनै पनि राजनीतिक दलभन्दा देश माथि हुन्छ ।

यो मुलुकमा दलीय ध्रुवीकरण सर्वसाधारणमा मात्र सीमित छैन । नागरिक समाज, मानवअधिकारवादी, राजनीतिक विश्लेषक, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारीलगायत हरेक क्षेत्रमा संलग्न व्यक्ति एवं संघसंस्था दलीय पक्ष र विपक्षमा विभाजित छन् । नेपाली समाज व्यक्तिगत आशा, निराशा, स्वार्थ, प्रभाव, दबाब वा लहडले ध्रुवीकृत छ ।

मार्टिन लुथरको भनाइमा, ‘समाजले सहकार्य र सहअस्तित्व सिक्नुपर्दछ, नत्र विभाजनले सबैलाई क्षति पु¥याउँछ’ भन्ने छ । अहिले डिजिटल प्लेटफर्महरूमा आउने गरेका विचार तथा क्रियाकलापले मार्टिन लुथरले भनेजस्तो सहकार्य र सहअस्तित्वलाई स्वीकार गरेको देखिँदैन । बरु समाजले विचारभन्दा राजनीतिक दलमाथि, सत्यभन्दा समूहमा विश्वास तथा राष्ट्रहितभन्दा दलीय समर्थनमा लाग्दा सबैलाई क्षति हुन सक्छ । समाजमा निष्पक्ष सोच कमजोर बन्दै गएको छ । कुनै पनि विषयको मूल्यांकन गर्दा आवेग र उत्तेजनाले काम गरेको देखिन्छ । यस्तो क्रियाकलाप अलोकतान्त्रिक अभ्यास हो । अन्ततः यसले समाजमा आपसी मेलमिलाप कमजोर बनाउँछ । व्यक्ति, समाज र राष्ट्रलाई नै क्षति पुर्‍याउँछ ।

हरेक दलका पछाडि देखिने मानिसको भिडले सचेत समाजको संकेत गर्दैन । समाजको यस्तो चरित्रले कतै समाज नेपाली हुनुभन्दा बढी दलको कार्यकर्ता वा समर्थक हुनुमै गौरवको अनुभूति गरेको त होइन ? भन्ने प्रश्न उठ्ने गरेको छ । समाजमा हुने दलीय पक्ष र विपक्षीय व्यवहारले राजनीतिभन्दा माथि देश हुन्छ भन्ने विषयलाई बुझ्न नसकेको प्रस्ट हुन्छ ।

अहिले समाज हरेक राजनीतिक दलमा ध्रुवीकृत भएकाले राष्ट्रिय सरोकारका विषयमा साझा धारणा निर्माण हुन सकेको छैन । शिक्षा, स्वास्थ्य, बेरोजगारी, सुशासन, सीमा अतिक्रमण, भ्रष्टाचार तथा विकासलगायत साझा सवालहरूमा नेपाली समाज एक ठाउँमा हुनुपर्ने हो । जेनजी आन्दोलनअघिका सरकार हुन् कि तत्पश्चात् भारी जनमत प्राप्त गरी सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र दलका पक्षमा होस्, कार्यकर्ता वा समर्थक निष्पक्ष विवेकका आधारमा होइन कि पक्ष र विपक्षको विभाजनमा आपसी लडाइँ, वैमनस्य तथा अशिष्ट भाषिक प्रयोगमा उत्रिएको देखिन्छ । जनताले राजनीतिक रूपमा निकट दलका नेतागणलाई अन्धसमर्थन तथा देवत्वकरण गर्ने र विपक्षी दलका नेतागणलाई दानवीकरण गर्ने संस्कृति बढ्दो छ । यो लोकतान्त्रिक संस्कार होइन, अतिवाद हो ।

त्यसो त लोकतन्त्रको सुन्दरता विचारको विविधतामा हुन्छ । विचारमा विविधता हुनु अस्वाभाविक होइन । तर एक दलले अर्को दललाई शत्रुवत् व्यवहार गर्नु सुखद पक्ष होइन । समाजले राजनीतिक चेतनासँगै सहिष्णुता, विवेक र राष्ट्रियहितलाई बिर्सनुहुँदैन । सचेत नागरिकले दलभन्दा देश र स्वार्थभन्दा समाजलाई माथि राख्न सक्नुपर्दछ ।

नेपाल हामी सबैको साझा घर हो । यो देशको सुरक्षा, संरक्षण, प्रगति र विकास गर्ने काम हामी सबैको साझा दायित्व हो । राजनीतिक आस्थाकै आधारमा आपसी असमझदारी, द्वन्द्व तथा झैझगडा गरेर सामाजिक सद्भाव खलबल्याउने काम गर्नु भनेको राष्ट्रियता कमजोर पार्नु ठहर्छ । अहिले समाज डिजिटल युगमा प्रवेश मात्र गरेको छैन, अभ्यस्त हुँदै गएको छ । राजनीतिक स्टन्टबाजी, पक्ष वा विपक्षका अपरिष्कृत विचार सामाजिक सञ्जालमा फैलाएर समाजलाई ध्रुवीकृत गर्ने काम भइरहेको छ ।

नेपाली समाजलाई विभाजन गर्न सामाजिक सञ्जालको व्यापक रूपमा दुरुपयोग भएको देखिन्छ । फेसबुक, टिकटक वा युट्युबजस्ता सामाजिक सञ्जालमा निष्पक्ष तथा स्वस्थ विचारभन्दा बढी आरोप, प्रत्यारोप, घृणा तथा कटाक्ष गरेको पाइन्छ । फरक विचार राख्ने मानिसलाई शत्रुवत् व्यवहार गर्ने प्रवृत्तिले समाजमा असहिष्णुता मात्र होइन, अश्लीलता समेत बढेको छ । जसले गर्दा सदियौंदेखि झाँगिँदै आएको सामाजिक सद्भाव, मित्रवत् व्यवहार, भाइचारा, सहअस्तित्व तथा आफ्नोपन जस्ता मानवीय गुणहरू छायामा पर्दै गइरहेका छन् ।

लोकतन्त्रमा विभिन्न राजनीतिक दल हुनु स्वाभाविक हो । समाजले राजनीतिक सिद्धान्त, निष्ठाका साथै गुण र दोषका आधारमा आलोचना र समर्थन गर्नु स्वाभाविक हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन नागरिकहरू निष्पक्ष हुन आवश्यक ठानिन्छ । पक्ष र विपक्षमा भद्दा मजाक गरिरहनु अप्रजातान्त्रिक चरित्र हो । अपरिपक्व अभ्यास हो । निष्पक्ष हुनु भनेको मौन बस्नु वा विचारविहीन हुनु भन्ने होइन, विचारमा सत्य, तथ्य र परिपक्वता हुनु पर्दछ भन्ने हो । परिपक्वताको अभाव नहुनु हो । समाजमा सत्यतथ्यको आधारमा विचार निर्माण गरी तत्अनुरूपको निष्पक्ष व्यवहार गर्ने चेतनाको विकास गर्न आवश्यक छ मात्र होइन, अनिवार्य भएको छ ।

अहिले नेपाली समाजले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरिरहेको छ । बेलायती लेखक जर्ज अर्वेलका शब्दमा, ‘स्वतन्त्रता भनेको सत्यलाई सत्य भन्न सक्ने साहस हो ।’ अर्वेलले भनेझैं समाजले सत्यलाई सत्य र गलतलाई गलत भन्न सक्ने विवेक र साहस गुमाउनुहुँदैन । जब समाजमा निष्पक्ष चेतनाको अभाव हुन्छ, तब समाजमा कटुता र ध्रुवीकरण बढेर जान्छ । पक्ष र विपक्षमा उत्पन्न हुने विचार र अभिव्यक्ति तथ्यहीन भएमा परिवार, समुदाय, समाज, मित्रता, पेसागत सम्बन्ध तथा सामाजिक सद्भावलाई कमजोर बनाउँछ भन्ने कुराको हेक्का राखौं ।

लोकतन्त्र केवल राजनीतिक दल र चुनावी प्रक्रिया मात्र होइन । मानवीय व्यवहार पनि हो । मानवीय व्यवहारका लागि सत्यको बाटो नै दीर्घकालीक हुन्छ । महात्मा गान्धीका शब्दमा, ‘धेरैले दोहो¥याउँदैमा गलत कुरा सत्य हुँदैन’ भन्ने छ । यसको अर्थ ढिलै भए पनि सत्यको जित हुन्छ । त्यसैले असत्यको आवेगमा जीवनको ऊर्जा खेर नफालौं ।

अन्त्यमा, कुनै पनि दल, नेता वा विचारभन्दा देश, वर्तमान समाज र भावी पुस्ताको हित धेरै माथि हुन्छ । जसरी खहरेको आयु लामो हुँदैन त्यसरी नै असत्यमा टेकेर उत्तेजनामा रमाउनेहरू छिट्टै विलय हुन्छन् । यसर्थ समाजलाई सही दिशामा हिँडाउन पक्ष–विपक्षको कठोर आलोचना होइन, निष्पक्ष विवेक र जिम्मेवार समाज आवश्यक हुन्छ । दलको दलदलबाट समाजलाई बाहिर निकालौं । जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं ।

ताजा खबर

सम्बन्धित खबर