
काठमाडौं : नेकपा (एमाले)भित्र नेतृत्व फेर्ने बहस तीव्र भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने बरु विरोधमा उत्रिने नेतालाई कारबाही गरेर अघि बढ्ने सन्देश दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक धक्का व्यहोरेपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै ओलीले बीचैमा नेतृत्वको झोला फालेर नहिँड्ने बताएका हुन् । अहिलेको अप्ठ्यारो अवस्थाको सामना गर्नकै लागि गत महाधिवेशनमा कार्यकर्ताले आफूलाई अध्यक्ष छानेको उल्लेख गर्दै उनले पार्टीलाई सफलतामा पुर्याएर मात्र विश्राम लिने बताए । पार्टीको दुईदिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढंगले पार्टी चल्न नसक्ने भएकाले पुनर्गठनका लागि कार्यदल बनाइएको टिप्पणी गरेपछि ओलीले जवाफ फर्काएका हुन् ।
‘पार्टीमा अहिले हामीले जसरी काम गर्दै छौं, यही रूपमा यस्तै ढंगले पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेका छौं । पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौं,’ पौडेलले भनेका थिए । पार्टीमा आफूविरुद्ध ध्रुवीकरण भइरहेको संकेत पाएका ओलीले यस विषयलाई महत्वका साथ उठाएका हुन् । ‘गत पुस ३मा अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नू र प्रधानमन्त्री खानू, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नू भनेर होइन तपाईंहरूले अध्यक्ष छानेको होइन । जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नू, पार्टीको नेतृत्व गर्नू भनेको हो,’ अध्यक्ष ओलीले भने, ‘मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम विश्राम लिने स्थिति बन्छ ।’
विरोधीहरूबाट हमला भइरहेको बेला पार्टीका केही नेताहरू आत्मभत्र्सनामा लागेको भन्दै उनले असन्तुष्टि पोखे । पार्टीविरुद्ध भ्रम फिँजाउनेप्रति शून्य सहनशीलता अपनाइने उल्लेख गर्दै उनले कारबाहीको धम्कीसमेत दिए । ‘पार्टीमा कोही यता फर्केर बोल्ने, कोही उता फर्केर बोल्ने, पार्टीविरुद्ध भ्रम फिँजाउने, समीक्षा गर्नुपर्छ भन्ने, तर समीक्षा नै नभई कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक भ्रम फैलाउँदै कुद्ने,’ उनले भने, ‘यस्तो प्रवृत्तिले पार्टी एकताबद्ध हुन सक्दैन । सधैं टोलरेन्स गरिरहन सकिन्न, विधि, विधानअनुसार हुन्छ ।’
ओलीले आफूलाई हटाउने गृहकार्यप्रति कडा कटाक्ष गर्दै पार्टीभित्र शिर काटेर टेबलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् । ‘शिर काटेर टेबलमा राखिदिने हो भने जिउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन,’ अध्यक्ष ओलीले भने । ओलीले पार्टीभित्र अहिले व्यापक एकता चाहिएको बताए ।
बालेनमाथि खनिए
पूर्वप्रधानमन्त्री अोलीले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देशद्रोही कुरा गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको धेरै जग्गा मिचेको अभिव्यक्तिलाई राष्ट्रघाती वचन भन्दै उनले भने, ‘सम्पूर्ण रूपमा असत्य, झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट बोल्नुहुँदैनथ्यो । त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई योभन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन ।’
प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवाद समाधानमा तेस्रो पक्षसँग छलफल भइरहेको भनेकाप्रति पनि ओलीले आपत्ति जनाए । दुई देशबीचको विवादमा तेस्रो पक्ष आवश्यक नभएको उल्लेख गर्दै उनले भने, ‘यस्तो भनाइ अकूटनीतिक, अराजनीतिक एवं अभ्यासविपरीतका छन् । यस्ता देशद्रोही कुरामा पनि कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको छ ।’
राष्ट्रपति ‘रबर स्ट्याम्प’
ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति आपत्ति जनाउँदै सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप पनि लगाए । उनले पौडेलकै शब्द सापटी लिँदै बडो जुक्तिकै साथ एकपछि अर्को कदमबाट लोकतन्त्र सक्ने काम भइरहेको टिप्पणी गरे ।
संविधानविपरीत प्रधानमन्त्री नियुक्ति र संसद् विघटन स्मरण गर्दै उनले भने, ‘सम्मानीत राष्ट्रपतिजी भन्नुहुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ । अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी ‘रबरस्ट्याम्प’ बनेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जेमा पनि हस्ताक्षर गरिरहनुभएको छ ।’
सेना सुकुम्वासीको विपक्षमा हुनुहुँदैन
अध्यक्ष ओलीले नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाए । सुकुम्वासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा असन्तुष्टि पोख्दै उनले भने, ‘बालेनको पक्ष र सुकुम्वासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो ।’