
काठमाडौं : पार्टी परित्याग गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आफू पक्षीय नेता कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन् । उनले पार्टीलाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भएपनि पार्टी नेतृत्व नै बाधक भएर उभिएको आरोप पनि लगाए ।
उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको आरोप पनि लगाए । उनले पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेन्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने निष्कर्षमा पुगेको बताए ।
उनले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको बताए ।
राणाको नेतृत्वमा एक सय ८३ जना नेताहरूले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरेका छन् ।