२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कांग्रेस बारा सभापति यादव निलम्बित, कार्यसमितिका उपसभापतिलाई सफाइ

Nada
२०८३ जेठ २१ गते १८:११
Shares
कांग्रेस बारा सभापति यादव निलम्बित, कार्यसमितिका उपसभापतिलाई सफाइ

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

ncell

समितिको बिहीबार बसेको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि छानबिन गरेपछि उक्त निर्णय गरेको हो । समितिका सचिव दिनेश थापामगरका अनुसार अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा यादवमाथि अनुशासनात्मक कारबाही गरिएको हो ।

यसैबीच, पार्टी उम्मेदवारलाई सहयोग नगरेको आरोपमा स्पष्टीकरण सोधिएका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै पार्टीविरोधी गतिविधिमा संलग्न नरहेको जवाफ पेश गरेका थिए ।

उनीहरूको स्पष्टीकरण र उपलब्ध विवरणको समीक्षा गर्दै अनुशासन समितिले भविष्यमा यस्ता कुनै गुनासा नआउने गरी पार्टीको विधान, नियमावली र जिम्मेवारीप्रति पूर्ण निष्ठाका साथ काम गर्न निर्देशन दिएको जनाएको छ ।

त्यसैगरी, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीबारे समितिले थप अध्ययन गरेको थियो । समितिका अनुसार राउतले पेश गरेको स्पष्टीकरण सन्तोषजनक देखिएको र उपलब्ध प्रमाणबाट आरोप पुष्टि हुन नसकेपछि उनलाई सफाइ दिने निर्णय गरिएको छ ।

अनुशासन समितिले पार्टीभित्र अनुशासन र संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी बनाउन आवश्यक कारबाही तथा निर्देशनलाई निरन्तरता दिने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर