
काठमाडौँ : राजावादी अभियन्ता दुर्गा प्रसाईँ र राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाबीच एकता भएको छ । आज एक कार्यक्रमबीच उनीहरूले एकताको घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रसाईँले धवल शमशेर आफ्नो अभिभावकजस्तो रहेको बताए । अब आफूहरू सहयात्रा जुटेको उनको भनाइ छ । प्रसाईँले आफ्नो समूहका कार्यकर्ताहरूलाई आजदेखि धवलशमशेरलाई पनि नेता मान्न निर्देशन दिए ।
अहिले एकथरिले रास्वपाले राजसंस्था र हिन्दूराष्ट्र ल्याउने हल्ला फैलाइरहेको भन्दै उनले यसमा विश्वास नगर्न प्रसाईँले आग्रह गरे । प्रसाईँको नागरिक बचाउ महाअभियान धवलशम्शेर समूहबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।
शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्ता छन् सहमतिका आधारहरू
१.नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्ध सहितको सनातन हिन्दु अधिराज्य
२.राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन ।
३.राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी सङ्घीयता ।
४. एक पटकको नेपाली सधैँको नेपाली र दोहोरो नागरिकता राख्न पाउनुपर्ने व्यवस्था ।
५. लघुवित्त, सहकारी, बैक र मिटरव्याजीबाट कालो सूचीमा पारिएका भूमिविहीन सुकुमबासी नेपाली नागरिकको दिगो समस्या समाधान ।
६. असंलग्न परराष्ट्र नीति ।
७. सुशासन र भ्रष्टाचारमुक्त समाज ।
८. स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र ।
९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, सङ्गठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा ।
१०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता ।
११.नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन ।