२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपालाई असफल हुने छुट छैन : सांसद न्यौपाने

Nada
२०८३ जेठ २४ गते १७:३७
Shares
रास्वपालाई असफल हुने छुट छैन : सांसद न्यौपाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख तथा तनहुँ क्षेत्र नं २ का सांसद श्रीराम न्यौपानेले पार्टीलाई असफल हुने कुनै पनि छुट नरहेको बताएका छन् ।

ncell

रास्वपा तनहुँ जिल्ला समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले जनताबाट प्राप्त अपेक्षा र भरोसाका कारण पार्टीमाथि ठूलो जिम्मेवारी रहेको उल्लेख गरे । उनका अनुसार रास्वपा अहिलेको राजनीतिक परिदृश्यमा जनअपेक्षाको केन्द्रमा रहेको शक्ति हो ।

सांसद न्यौपानेले विगतका सरकारहरू आन्तरिक विवादकै कारण कमजोर बनेको उदाहरण दिँदै वर्तमान अवस्थामा पनि प्रमुख राजनीतिक शक्तिहरू आफ्नै आन्तरिक व्यवस्थापनमा चुनौती सामना गरिरहेको टिप्पणी गरे । उनले संगठनात्मक एकता र अनुशासन नै राजनीतिक स्थायित्वको आधार हुने बताए ।

उनले विभिन्न राजनीतिक पृष्ठभूमिबाट पार्टीमा आएका नेताहरूले पुराना अभ्यास र कार्यशैलीभन्दा फरक ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । इतिहासमा व्यवस्था परिवर्तन पनि आन्तरिक कारणबाटै सम्भव भएको उदाहरण दिँदै उनले पार्टीभित्रको समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

उनका अनुसार करिब ५२ लाख मतदाताको विश्वास प्राप्त भएको सन्दर्भमा सो भरोसालाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु पार्टीको प्रमुख दायित्व हो ।

कार्यक्रममा रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तले संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नेतृत्व चयनभन्दा संगठनात्मक मजबुती अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा उपस्थित विभिन्न स्थानीय तहका नेताहरूले पार्टीभित्र एकता, समन्वय र सहकार्यलाई मजबुत बनाउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर