
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक मतभेदका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
जलेश्वरमा शनिबारदेखि सुरु भएको अधिवेशनमा दोस्रो दिनसम्म पनि विभिन्न पक्षबीच सहमति जुट्न नसकेपछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिएका छन् ।
उनका अनुसार विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधिहरूसँगको परामर्श तथा शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित गरिएको हो ।
यस निर्णयमा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू र निर्वाचन समितिका पदाधिकारीहरूको सहमति रहेको जनाइएको छ ।
उता, धनुषा जिल्लामा पनि पार्टीभित्रको आन्तरिक विवाद कायम रहेको छ । जिल्ला नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एक समूहले शनिबार रातिदेखि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको बताइएको छ ।
असन्तुष्ट पक्षले जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि एकल निर्णयमार्फत पार्टी सञ्चालन गरेको आरोप लगाएको छ ।
यसअघि धनुषाका विभिन्न स्थानीय तहको अधिवेशनका क्रममा पनि संगठनभित्र विवाद चर्किँदा कार्यकर्ताबीच झडपको अवस्था सिर्जना भएको थियो । पार्टीभित्र देखिएका यी विवाद समाधानका लागि आन्तरिक छलफल जारी रहेको जनाइएको छ ।