
काठमाडौँ : सरकारले परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणको तयारी भइरहेको जनाएको छ ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्री खनाल निकट भविष्यमा चीन जाने तयारीमा रहेको जानकारी दिएका छन् । उनका अनुसार हाल भ्रमणसम्बन्धी आवश्यक तयारी अघि बढाइएको छ ।
उनले मन्त्री खनाल हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएको उल्लेख गर्दै अन्य मित्रराष्ट्रहरूको भ्रमण तालिका पनि क्रमशः तय हुने बताए । चीन भ्रमण छिट्टै हुने संकेत दिँदै उनले त्यसका लागि आवश्यक तयारी भइरहेको स्पष्ट पारेका छन् ।
पोखरेलका अनुसार उक्त भ्रमणको एजेन्डा कुनै एक विषयमा सीमित नभई नेपाल–चीन सम्बन्धका समसामयिक तथा पारस्परिक हितसँग जोडिएका विविध पक्षमा केन्द्रित रहने छ ।
नेपाल र चीनबीच सहकार्यका सम्भावित क्षेत्र, द्विपक्षीय सम्बन्ध विस्तार तथा भविष्यमा सहकार्यका योजनाबारे छलफल हुने अपेक्षा गरिएको उनको भनाइ छ ।