
काठमाडौँ : नेपाली कांग्रेसले पार्टी संरचनामा रहेका पदाधिकारी, सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय आज मध्यरातसम्म तोकेको छ । पार्टीको सदस्यता व्यवस्थापन समितिको निर्णयअनुसार तोकिएको समय सीमाभित्र अद्यावधिक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको हो ।
निर्णयअनुसार केन्द्रीय तहदेखि वडा स्तरसम्मका सबै जिम्मेवारीमा रहेका पदाधिकारी, विभिन्न तहका समिति सदस्य तथा जनप्रतिनिधिहरूले आजभित्र आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रका अन्य सदस्यहरूको अद्यावधिक प्रक्रियामा सहजीकरण गर्ने दायित्वसमेत उनीहरूलाई दिइएको छ ।
समितिले जारी गरेको निर्देशनमा संघीय संरचनाका केन्द्रीय पदाधिकारी, प्रदेश तहका जिम्मेवार पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय, पालिका र वडा समितिका प्रतिनिधिहरूलाई समेटिएको छ । यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका पदाधिकारी, संघीय र प्रदेश संसद्का सदस्य, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिहरू पनि यही दायित्वभित्र पर्ने उल्लेख छ ।
पार्टीले तोकेको व्यवस्था अनुसार, यी सबै पदमा रहेका व्यक्तिहरूले २७ जेठभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्नेछ । बाँकी सदस्यहरूको हकमा भने २८ जेठ मध्यरातसम्मको समय सीमा निर्धारण गरिएको छ ।
पार्टी स्रोतका अनुसार, तोकिएको समयभित्र अद्यावधिक प्रक्रिया पूरा नगर्ने पदाधिकारी तथा जनप्रतिनिधिहरूलाई आगामी महाधिवेशनमा सहभागिता लिनबाट वञ्चित गर्न सकिने व्यवस्था लागू हुने सम्भावना छ ।