
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । विराटनगरमा बुधबार बिहानदेखि सुरु भएको पहिलो प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बनेको हो ।
निर्वाचन समितिका अनुसार सभापति पदमा सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् ।
यसैगरी, प्रदेश समिति सदस्य पदका लागि कुल ७१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
पार्टी विधानअनुसार कोशी प्रदेश समितिको संरचना ६१ सदस्यीय रहने व्यवस्था छ । अधिवेशनमार्फत प्रदेश नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेको बताइएको छ ।