
काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले गरेको सर्वदलीय छलफलपछि विपक्षी दलका नेताहरू सिंहदरबारमा छुट्टै बैठकमा जुटेका छन् । संसद् सञ्चालन तथा जारी अवरोधका विषयमा साझा रणनीति तय गर्ने उद्देश्यले उनीहरूबीच आन्तरिक छलफल भइरहेको हो ।
रास्वपाले अघि सारेको प्रस्तावमाथि गहिरो समीक्षा गर्दै आगामी संसदीय रणनीतिबारे एकीकृत धारणा निर्माण गर्ने प्रयास भइरहेको बताइएको छ । विपक्षी दलका नेताहरूले परराष्ट्रमन्त्रीमार्फत सदनमा जवाफ दिने विकल्प स्वीकार गर्ने वा नगर्ने तथा संसद् सञ्चालनमा सहयोग गर्ने वा अवरोध कायम राख्ने विषयमा छलफल केन्द्रित गरेका छन् ।
एक सहभागी नेताका अनुसार, संसद् सञ्चालन, परराष्ट्र मन्त्रीको सम्भावित भूमिका र समग्र राजनीतिक प्रक्रियाबारे साझा निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ ।
उक्त छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिहरू सहभागी भएका छन् । विपक्षी दलहरूबीच सहमति बनेपछि मात्र संसद् अवरोध सम्बन्धी अन्तिम निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ ।