२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपाको वैचारिक धार : ‘पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन’

तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, सहप्रवक्ता केन्द्रीय समितिको निर्णयअनुसार दुईजना राख्ने विधानमा व्यवस्था गर्न लागेको रास्वपाले जनाएको छ । अन्य पदाधिकारी साबिककै अवस्थामा रहने प्रस्ताव छ ।

Nada
जीवन शर्मा
२०८३ जेठ २९ गते ०६:१५
Shares
रास्वपाको वैचारिक धार : ‘पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन’

काठमाडौं : प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो वैचारिक धारलाई विधानमार्फत स्पष्ट पर्ने नीति लिएको छ । वैचारिक र सांगठनिक संरचनाबिनै गत निर्वाचनबाट एकल सरकारको नेतृत्व गर्नसक्ने जनमत पाएको रास्वपाको पहिलो महाधिवेशन आगामी असारको पहिलो हप्ता हुँदै छ ।  

ncell

महाधिवेशनमा पर्टीको वैचारिक दृष्टिकोणलाई स्पष्ट रूपमा टुंगो लगाएर जाने रास्वपाका नेताहरूले बताएका छन् । त्यसका लागि सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएको छ । महाधिवेशनको पूर्वतयारीअन्तर्गत सबै तहका संगठनलाई चुस्त बनाउने अभियानलाई रास्वपाले तीव्रता दिँदै सांगठनिक संरचना निर्माण, अधिवेशनमार्फत पुनर्गठनको काम धमाधम भइरहेको रास्वपाका प्रवक्ता मनीष झाले बताए । उनले भने, ‘हामी अहिले पार्टी महाधिवेशनको तयारीअन्तर्गत संस्थागत, सांगठनिक र वैचारिक रूपमा पार्टीलाई सुदृढ गर्ने अभियानमा छौं ।’

लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनका सिद्धान्तहरू पार्टी सञ्चालनका प्रस्थान विन्दु हुनेगरी आन्तरिक छलफललाई व्यापक गरेको उनले बताए । पार्टीका सम्पूर्ण संरचना, कार्यविधि र नीति अनिवार्य रूपमा विधानको अधीनमा निर्देशित हुनेगरी तयारी गरेको उनको दाबी छ । पार्टीको संरचनागत अवस्थालाई समेत समयअनुकूल परिमार्जन र परिष्कृत गरेर लैजाने रास्वपाको तयारी छ ।   

सहमहामन्त्री आचार्यको संयोजकत्वमा रहेको विधान संशोधन समितिले विधानको काम गरिरहेको जनाएको छ । आफूमाथि उठ्दै आएको वैचारिक अस्पष्टतालाई चिरेर पार्टीको वैचारिक दृष्टिकोण प्रस्ट बनाएर जाने गरी आन्तरिक छलफललाई व्यापकता दिएको नेताहरूले दाबी गरेका छन् । पहिलो महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदामा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोणको आधार तयार पार्ने काम भइरहेको विधान संशोधन समितिका संयोजक समेत रहेका सहमहामन्त्री आचार्यले बताए । ‘समितिले विधानमा संशोधन गर्नुपर्ने विषय पहिचान गरेर सुझावका लागि केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा पेस गरेको छ,’ संयोजक आचार्यले भने, ‘केन्द्रीय समितिको सुझावपछि मस्यौदालाई अन्तिम रूप दिएर पारित गर्छौं ।’

पार्टी संगठनलाई आगामी दिनमा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रक्रिया व्यावहारिक बनाउने हिसाबले विधान संशोधन हुने उनको भनाइ छ । पार्टीको वैचारिक दृष्किोणका सन्दर्भमा विशेष गरी सातवटा आधार तय गरिएको बताइएको छ । विचारको पहिलो आधारका रूपमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनलाई अघि सारेको छ । समितिले विधानमा संशोधन गर्नुपर्ने विषय पहिचान गरेर सुझावका लागि केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा पेस गरेको छ । विधानमा  पदाधिकारी संख्या हेरफेरदेखि आवश्यक नीतिगत व्यवस्थामा सुधारको प्रस्ताव गरिएको छ ।  

संयोजक आचार्यले केन्द्रीय समितिको सुझावपछि मस्यौदालाई अन्तिम रूप दिएर पारित गरिने बताए । ‘पार्टी संगठनलाई आगामी दिनमा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रक्रियाहरू व्यावहारिक बनाउने हिसाबले विधान संशोधन हुनेछ,’ उनले भने, ‘पदाधिकारी संख्या हेरफेरदेखि आवश्यक नीतिगत व्यवस्था परिमार्जन गरिएको छ ।’ उनका अनुसार महामन्त्री एकजना भएकोमा दुईजना राखिएको छ । यसैगरी, उपसभापति दुई थियो, एकजना थपेर तीन पु¥याइयो । सहमहामन्त्री तीनजना थियो, एक थपेर चारजना रहने व्यवस्था गरिएको छ । सहप्रवक्ता केन्द्रीय समितिको निर्णयअनुसार एकजना थप्ने विधानमा व्यवस्था गर्न लागेको रास्वपाले जनाएको छ । अन्य पदाधिकारीका हकमा साबिककै व्यवस्था रहने बताइएको छ ।  

त्यस्तै, पार्टीको वैचारिक धारअन्र्तगत वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूतिसहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनको अभ्यास गर्ने रास्वपाले आफ्नो विधानमै व्यवस्था गर्न लागेको हो । दस्तावेजमै सामाजिक न्याय र उदार अर्थतन्त्रलाई समावेश गर्न लागेको नेता आचार्यले बताए । जसअनुसार समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्था अवलम्बन गर्ने बताइएको छ ।

संवैधानिक समाजवादलाई वकालत गर्दै आएको रास्वपाको विधानमा यसबारे थप व्याख्या गर्दै शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्य हासिल गर्ने र राष्ट्रिय नीति तथा कार्यक्रममा आधारित राज्य सञ्चालन गर्ने उल्लेख गरेको  छ । पार्टीको चौथो वैचारिक आधारमा समन्यायिक समावेशितालाई समेटेको छ । अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमार्फत सबै प्रकारका संरचनात्मक विभेदहरू (लंैगिक, जातीय, वर्गीय, क्षेत्रीय आदि)को अन्त्य गर्दै समन्यायिक समावेशी समाजको निर्माण गर्ने उल्लेख गरेको नेताहरूले बताएका छन् । त्यस्तै, योग्यता, सुशासन र सदाचारलाई विधानमै जोड दिने रास्वपाले नीति अघि सारेको हो । 

जसअन्तर्गत राज्य संयन्त्रमा योग्यता, दक्षता र कर्मशीलतालाई प्रश्रय दिँदै भ्रष्टाचार र अनियमितताप्रति पूर्ण रूपमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने यस नीतिमा उल्लेख गरिएको छ । सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्व : नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानको प्रवर्धन गर्ने उल्लेख छ । 

पार्टीले उन्नत लोकतन्त्र र सुशासन  पार्टी सञ्चालनको आधारस्तम्भ मान्ने गरी अघि बढेको रास्वपाले जनाएको छ । पार्टीको महाधिवेशन आगामी असार ७–९ मा चितवनमा हुँदै छ । जेठ ३० गतेसम्म सातवटै प्रदेशको अधिवेशन सक्ने तयारीअन्र्तगत कोशी प्रदेशको अधिवेशन बिहीबार सकिएको छ । बागमती, मधेशलगायत प्रदेश महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको छ । रास्वपाको ७७ जिल्लामध्ये ५६ जिल्ला अधिवेशन मात्रै सकेर प्रदेश अधिवेशनमा लागेको छ । असार ३ गते सम्ममा प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयार गरिसक्ने कार्यतालिका रहेको नेताहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर