
काठमाडौँ : नेपाली कांग्रेसका सांसद भरत खड्काले भारत स्वतन्त्र भएपछि अहिलेसम्म भएका भारतीय प्रधानमन्त्रीहरूले नगरेको नेपालले भारतको भूमि मिचेको दाबी नेपालका प्रधानमन्त्रीले गर्नु नेपालीका लागि लज्जास्पद भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका खड्काले नेपालको इतिहासमा नलेखिएको र छिमेकीसमेतले नगरेको दाबी नेपालका प्रधानमन्त्रीले गर्नु लज्जास्पद भएको बताएका हुन् ।
‘सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि जवाहरलाल नेहरुदेखि नरेन्द्र मोदीसम्म दर्जनौँ प्रधानमन्त्री फेरिए पनि कसैले पनि नेपालले भारतको जमिन मिचेको दाबी गरेका छैनन्,’ खड्काले भने, ‘हाम्रो इतिहासमा नलेखिएको र छिमेकीले समेत नगरेको दाबी हाम्रै प्रधानमन्त्रीले गर्नु लज्जास्पद छ ।’ प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार भनाइले ३ करोड नेपालीको चित्त दुखाएको र राष्ट्रिय स्वाभिमानमा चोट पुर्याएको खड्काले बताए ।
खड्काले २०७२ सालमा चीन र भारतले लिपुलेकका विषयमा सम्झौता गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध गरेको ऐतिहासिक तथ्यसमेत प्रस्तुत गरे ।