२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार

Nada
जीवन शर्मा
२०८३ जेठ ३० गते ०६:४०
Shares
विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बिहीबार प्रतिनिधिसभाको रोस्ट्रमबाटै सातवटा करका दर हेरफेर गरेको स्वीकार गरे । तर, उनले बजेट विधेयकमाथि छलफलका क्रममा प्रश्नकर्ता सांसदलाई पुराना काण्डहरू सार्वजनिक गर्ने चेतावनी दिए । 

ncell

वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै भनेका थिए, ‘तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन् ।’ अर्थमन्त्री बनेपछि उनी पटक–पटक धम्की र अहंकारपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । 

‘विगत ३५ वर्षदेखिको मुलुकको असफलता भत्काउने नयाँ पुस्ता’ भन्ने ब्रान्ड बोकेर उदाएका वाग्लेलाई विज्ञ अर्थमन्त्रीका रूपमा हेरिएको छ । तर, उनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । आमनागरिकले अर्थतन्त्र सुधार, सुशासन र पारदर्शिताको अपेक्षा राखेका अर्थमन्त्री नै अहिले सबैभन्दा विवादित बन्दा प्रश्नले घेरिएका हुन् । आफूलाई अर्थतन्त्रका ‘विज्ञ’, ‘सुधारक’, ‘नैतिकवान्’, ‘सुशासनवादी’, ‘पुरानो राजनीतिभन्दा फरक’ भन्ने दाबी गर्ने वाग्लेको पछिल्लो कार्यशैलीमा ‘दम्भ’ र ‘अहंकार’ देखिन थालेको छ । वाग्लेले प्रतिनिधिसभामा पेस गरेको बजेमा करका दर हेरफेर गर्नेदेखि अर्थविधेयक आउनुपूर्ण व्यापारीलाई सूचना चुहाएर बजेटको दुई दिनअघि नै सयौं गाडी भित्र्याउन सहयोग गरेर अर्बौं राजस्व घाटा लगाएको आरोप छ ।  

प्रि–बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावयुक्त टिप्पणीका सन्दर्भमा ‘तपाईंहरूले भनेजस्तै बजेट तथा कार्यक्रम ल्याउन त पाँच वर्ष पर्खनै पर्ला’ भनेर विपक्षी सांसदलाई ओठे जवाफ दिएका थिए । ‘आफूजस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमतसहित जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहंकारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरे । ‘अर्थमन्त्रीजीमा खुब अहंकार देखियो,’ एमालेकी सांसद पद्मा अर्यालले भनिन्, ‘संसद्मा सबै चुनाव जितेरै आउनुभएको हो । अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावलाई बेवास्ता गर्नुभयो । तपाईंहरूले भनेजस्तै कार्यक्रम राख्न पाँच वर्ष पर्खनुस् भन्नु उहाँको अहंकार थियो ।’

आगामी आर्थिक वर्षको बजेट पेस भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ । यस सन्दर्भमा समाचार आएपछि उनले पत्रकार र मिडियामाथि आक्रोश पोखेका थिए । उनले मन्त्रालयमा अर्थसमितिको छलफलमा ‘पत्रकारहरूलाई माइक्रोसफ्ट वर्ड चलाउनै नआउने’ टिप्पणी गरेका थिए । बिहीबारको संसद्मा यही विषयमा थप आक्रोश पोख्दै उनले भने, ‘मैले सार्वजनिक लेखा समितिमा पनि भनेँ, ‘एक–दुईवटा खोस्टाहरूले दुई अर्बको आशंका इत्यादि भनेर लेखे । तर दुई अर्ब होइन, दुई रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु । यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औंलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस् ।’ 

आफूलाई सुशासनका सारथि, अर्थतन्त्रका सुधारक र नैतिकवान् भन्ने वाग्लेमाथि नैतिक प्रश्न उठेपछि उनले छानबिनका लागि खुला आह्वान गर्नुपर्ने अर्थराजनीतिका विज्ञहरू बताउँछन् । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री वाग्लेले करको दर हेरफेर गरेर आर्थिक अपराध गरेको बताए । अर्थमन्त्रीले संसद्को रोस्ट्रमबाट नै करको दर हेरफेर गरेको स्वीकार गरेकाले त्यसमाथि संसदीय छानबिन बन्नुपर्ने उनको माग छ । ‘सार्वजनिक लेखा समिति र संसद्मा आर्थिक विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्रीले जसरी जवाफ दिनुभयो, सार्वजनिक जनप्रतिनिधि संस्था संसद् र समितिको अवमूल्यन भएको छ,’ पुनले भने, ‘धम्काउने कोसिस भएको छ । यसमा गम्भीर आपत्ति छ ।’ 

अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेँ भनेर स्वीकार गरेकाले उनीमाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘यो आर्थिक अपराध हो, हामीले अपराध गर्नुभयो भनेका थिएनौं । जिज्ञासा राखेका थियौं,’ पूर्वमन्त्री पुनले भने, ‘उहाँले धम्की दिँदै मैले गरेकै हो, के गर्छौ भन्नुभयो । यसमा छानबिन गरिनुपर्छ ।’ 

पूर्वअर्थमन्त्रीहरूको समयमा समेत बजेटमा विभिन्न बुँदामा सच्याइएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आफूले पनि सच्याएको बताएका थिए । 

मन्त्रिपरिषद्ले स्वीकृत गरेको दस्तावेज अर्थमन्त्रीले एकल रूपमा हेरफेर गरेकाले नैतिक रूपमा पदमा बसिरहन नमिल्ने विपक्षीहरूको माग छ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीले गम्भीर अपराध गरेकाले उनीमाथि संसदीय छानबिन हुनुपर्ने माग गरेका छन् ।  शाहीले भने, ‘अर्थमन्त्री वाग्लेले संसद्मा पेस गरेको विनियोजक विधेयकभित्र पसेर करका दर हेरफेर गर्नेदेखि व्यापारीलाई कर बढ्दै छ भनेर सूचना दिएर अर्बौं राजस्व घाटा लगाउनुभएको छ । यस्तो गम्भीर विषयमा उहाँमाथि राजद्रोहको मुद्दा लाग्नसक्छ ।’ बजेटमा पारदर्शिता, विश्वसनीयता कायम गर्न संसदीय छानबिन बनाएर उनीमाथि छानबिन हुनुपर्ने उनले माग गरेका छन् । 

पुरानै सत्ताका पात्र हुन् वाग्ले 

अर्थमन्त्रीका लागि न सिंहदरबार नौलो हो, न त अर्थ मन्त्रालय । उनी विगतका तीन सरकारमा देखिनेगरी नै योजना छनोटदेखि बजेट निर्माणसम्म संलग्न भए । विज्ञ अर्थशास्त्रीका रूपमा त्योभन्दा धेरैपटक उनी राज्यसत्ताकै वरपर छन् । उनै डा.वाग्ले चार वर्षअघि रास्वपाबाट प्रत्यक्ष राजनीतिमा आएपछि भने पुराना दल र सत्ताप्रति अस्वाभाविक टिप्पणी गरिरहेका छन् । तर, ट्रयाक रेकर्डले भने उनी नयाँभन्दा पुरानै सत्ताका पात्र देखिन्छन् । 

वाग्ले नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । त्यसअघि पनि उनी दुईपटक आयोगको सदस्य थिए । कांग्रेसको राजनीतिमा सक्रिय उनी जतिजतिबेला कांग्रेस सत्तामा हुन्थ्यो, सिंहदरबार वरपरै सक्रिय हुन्थे । कांग्रेसबाटै टिकट लिएर २०७९को प्रतिनिधिसभा निर्वाचन लड्ने उनको चाहना थियो । तर, उनले टिकट पाएनन् । आफूले टिकट नपाएकोभन्दा अर्का अर्थशास्त्री विश्व पौडेलले चितवनबाट टिकट पाएकोमा उनको चित्तदुखाइ थियो । त्यो चुनावमा उनी कांग्रेसको घोषणापत्र लेख्न सक्रिय थिए । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनी आर्थिक सल्लाहकार बन्न चाहन्थे । तर, तत्कालीन सभापति देउवा र उनकी पत्नी डा.आरजू राणाको अनिच्छाका कारण सल्लाहकार बन्न नपाएपछि उनी रिसाएका थिए । राष्ट्रपति पौडेलले जितेको तनहुँ क्षेत्र नम्बर–१को उपनिर्वाचनमा पनि कांग्रेसले उनलाई नसम्झिएपछि बल्ल उनले वर्षौंदेखि आबद्ध कांग्रेस परित्याग गरेर रास्वपाबाट टिकट लिएर चुनाव लडेका थिए । निर्वाचित भएर आएपछि पार्टीले उनलाई उपसभापतिमा मनोनीत गर्‍यो । 

जेनजी आन्दोलनका कारण भएको अर्ली चुनावमा रास्वपाको पक्षमा करिब दुईतिहाइ बहुमत आएपछि नयाँ पार्टीमा प्रवेश गरेको केही वर्षमै अर्थमन्त्री बने । वाग्लेले कांग्रेसमा हुँदा कैयौं अवसर एक्लै लिएको उनीनिकट अर्थशास्त्रीहरू बताउँछन् ।  रास्वपामा प्रवेश गरेपछि पनि उनले छोटो समयमा ठुलो जिम्मेवारी पाए । तर, उक्त जिम्मेवारीलाई आफैंले हल्का बनाएको उनीनिकट एक अर्थशास्त्रीले टिप्पणी गरे ।  

त्यस्तै, नेकपा एमालेका राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले करका दर हेरफेर काण्डमा मुछिएका अर्थमन्त्रीमाथि कारबाही हुनुपर्ने बताएकी छिन् । ‘सरकारमा नहुँुदा ऋण लिएर खल्तीमा हाल्छन्, भनेर बोल्ने, अनि सरकारमा आइसकेपछि राज्य चलाउन ऋण अनिवार्य सर्त हो भनेर व्यख्या गर्दै हुनुहुन्छ,’ उनले प्रश्न गरिन्, ‘त्यस्तो धुरन्धर अर्थशास्त्रीले दुई वर्षअघि यो कुरा बुझेका थिएनन् ?’ वाग्ले पटक–पटक देशको विभिन्न निकायमा बसेर काम गरेका व्यक्ति भएकाले उनले नयाँ भनेर दाबी गरेर ३५ वर्षमा केही भएन भन्ने भाष्य सिजना गर्नु गलत भएको दाबी गरिन् । ‘कांग्रेसको कोटामा दुईपटक राष्ट्रिय योजना आयोगको सदस्य एकपटक उपाध्यक्ष भएर सिंहदरबारको चलायमान अर्थशास्त्री बन्नुभएका स्वर्णिम वाग्ले कसरी नयाँ हुनुभयो ?’ उनले प्रश्न गरिन् ।

ताजा खबर

सम्बन्धित खबर