
काठमाडौं : नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको वर्षौं भइसक्यो । २०६३ जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले औपचारिक रूपमा नेपाललाई ‘जातीय छुवाछुतमुक्त राष्ट्र’ घोषणा मात्रै गरेन । जातीय भेदभाव र छुवाछुत गर्नेलाई कानुन नै बनाएर दण्डनीय बनाइयो । तर नेपाली समाजमा जातीय भेदभाव र छुवाछुत अझै अन्त्य भइसकेको छैन भन्ने उदाहरण हुन् – दीपा नेपाली । दलित भएकै कारण कोठा नपाएको र कोठाबाट निकालिएको अनुभव राज्यलाई सुनाउन उनी ५६ दिनदेखि माइतीघर मण्डलामा सत्याग्रहमा छिन् ।
‘सरकार कोठा खाली छ’ भन्ने ब्यानरसहित दुई महिनादेखि रहँदा पनि सरकारले यो विषयको सम्बोधन हुन सकेको छैन । काठमाडौं अझ विशेषगरी शहरी क्षेत्रमा भाडामा बस्दा जात सोधेरमात्र कोठा दिने प्रवित्तिको अन्त्यको माग गर्दै उनी सत्याग्रहमा बसेकी हुन् ।
‘दलित भनेर थाहा पाउनेबित्तिकै कोठा नदिने, दिइहालेको छ भने पनि जात थाहा पाएपछि घरबाट निकालिदिने अमानवीय अभ्यास नेपालमा भइरहेको छ त्यो मानव हितको पक्षमा छैन’ अभियन्ता नेपाली भन्छिन्, ‘मानव हितमा नभएका जुनसुकै कुराको पनि विरोध गर्नुपर्छ, यस्ता कुरा सरकारलाई सुनाउने नै हो, सरकारलाई प्रश्न गर्न नै हामी माइतीघरमा उभिरहेका छौं ।’ पुस्ता नयाँ भन्ने अनि सोच किन पुरानो बोक्नुपरेको भन्दै उनले प्रश्न गरिन् ।
उनी आफैं पनि घरबेटीले कोठाबाट निकालिएकी पात्र हुन् । जात थाहा पाएपछि घरबेटीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले मुद्दा दायर गरिन् । अन्यायका विरूद्धमा अदालत धाएको पनि वर्षौं भइसक्यो । अहिले उनको मुद्दा सर्वोच्च अदालत पुगेको छ ।
‘दलितले विभेद भोग्नेमात्र हैन, ममाथि विभेद गरियो भनेर अदालत धाउँदा पनि न्याय पाउँदैनन्’ उनले भनिन्, ‘यो मुद्दा व्यक्तिको हैन, समाजको मुद्दा हो । कानुनले भेदभाव गर्नु हुँदैन भनेर किटान गरेको विषय समाजले सुनेको छैन । हामी राज्यलाई देखाउन, सुनाउन यहाँ आएका हौँ । जबसम्म सरकारले यसको सुनुवाइ गर्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’ कोठा भाडामा लगाउँदा जात सोध्नु हुँदैन भन्ने चेतनाको विकास नभएसम्म आफ्नो लडाई चलिरहने उनले बताइन् ।
उनले उठाएका मुद्दामा विभिन्न क्षेत्रका व्यक्तिहरूले ऐक्यवद्धता पनि जनाएका छन् । संसदमा पनि यो विषयमा कुरा उठेको छ ।
नेकपा एमालेकी सचेतक निता घतानीले संसद्मै भनेकी छन्, ‘झट्ट सुन्दा यो सामान्य कोठाको विषय जस्तो लाग्न सक्छ । तर यो केवल कोठाको विषय होइन । यो १४ प्रतिशत दलितमाथि बर्षौंदेखि थुपारिँदै आएको विभेद, बहिष्कार र निषेध हो ।’
उज्वल भविष्यको सपना बोकेर काठमाडौं लगायत देशभरका शहररूमा पुग्दा घरबेटीहरूले जात सोधेर कोठा दिने वा नदिने निर्णय लिँदा समस्या हुने गरेको उनले बताइन् ।
दलित जातले आफ्नो जात खुलाएर कोठा नपाउने अवस्था अन्त्य हुनुपर्ने र जातीय विभेद विरुद्धको कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
यो विषयमा चासो लिएर गृहमन्त्री सुधन गुरुङ आफैँ पनि माइतीघर पुगेका छन् । गृहमन्त्रीमा पुनः नियुक्ति भएलगत्तै माइतीघरघर पुगेर सुधन गुरुङले धर्ना नबस्न आग्रह गरे । तर मुद्दा सम्बोधनको कुरा नभएको नेपालीले बताइन् । गृहमन्त्री गुरुङले भने माइतीघरमा धर्नामा बस्ने सबैलाई घर फर्कन आग्रह गरेका थिए ।
तर, दीपा नेपालीले सरकारसँग कोठा मागेकी होइनन् । उनले समानता खोजेकी हुन्, व्यक्तिगत विशेष अधिकार मागेकी होइनन्, संविधानले ग्यारेन्टी गरेको अधिकारको कार्यान्वयन खोजेकी हुन् ।
राजावादी पनि सडकमै
माइतीघरमा दीपा नेपालीमात्र हैन अन्य थुप्रै अन्यायमा परेका पनि आन्दोलनमा छन् ।
माइतीघरको सडकमा राजा चाहियो भन्ने आवाज पनि सुनिन्छ । केही मानिसहरू ‘राजाबिना हामी टुहुरा भयौं’, ‘राजा आउ देश बचाउ’ भनेर प्रदर्शन गरिरहेका छन् ।
गणत्रन्त्र भएको देशमा राजा चाहियो भनेर आन्दोलन गर्न मिल्छ ? भनेर गरेको प्रश्नमा एक प्रदर्शनकारी भन्छन्, ‘राजा बिना त देश नै हुँदैन, राजाले बनाएको देशमा राजा चाहियो भन्न पाइन्छ ।’
गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डका बारेमा छानबिन गर्ने घोषणा गरेपछि उत्साहित उनीहरू राजाले न्याय पाउनेमा विस्वस्त जस्तै थिए ।
माइतीघरमा भुइँमान्छेका पीडामात्र हैन राजालाई समेत न्याय चाहियो भनेर प्रदर्शन भइरहेका छन् । उनीहरूले आफ्नो आवाज सरकारलाई सुनाउन ठूला–ठूला ब्यानरसहित प्रदर्शन गरिरहेका छन् । पिडितलाई न्यायालयले समेत न्याय दिन नसकेको उनीहरूको आरोप छ ।
आफ्नो आवाज कहिँ कतै राख्न ठाउँ नभएपछि, सुन्ने व्यक्ति नभएपछि पीडितहरू माइतीघरमा आवाज बोकेर आउने गरेको अधिकारकर्मीहरू बताउँछन् ।
गृहमन्त्रीले घटनाको उचित छानविन गरी न्याय दिने प्रतिबद्धता गरेपछि सुत्केरी अवस्थामै अस्पलातमा ज्यान गुमाएकी अस्मिता तामाङको परिवारले भने शुक्रबार माइतीघर छोडेको छ । गृहमन्त्री गुरुङले स्वयं आएर न्याय दिने वचन दिएपछि उनीहरूले माइतीघर छोडेको बताए ।
सरकार खोज्दै पशुअधिकारकर्मी
सडकमा बस्ने जनावर विशेषगरी कुकुरमाथिको व्यवहार क्रुर देखिएको भन्दै पशुअधिकारकर्मीले पनि आफ्नो आन्दोलन गरिरहेका छन् । सवारी चालकहरूले सवारी चलाउँदा कुकुरलाई जानीजानी मारिदिने गरेको उनीहरूको आरोप छ ।
सडकमा बसेका कुकुरहरूलाई निर्मम व्यवहार भएको विरुद्धमा गरिएको आन्दोलनमा पछिल्लो समय बाँदरको पनि चर्चा थपिएको छ । संसदमा श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले किसानलाई दुख दिने बाँदर मार्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति पशु अधिकारको विरुद्धमा भएको पशुअधिकारकर्मीको छ ।
अर्थात् सबैको पीडा सुनाउने थलो माइतीघर बनेको छ । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलात्कृत भएको र अदालतले पीडकलाई उन्मुक्ति दिएको भन्दै माइतीघरमा न्यायका लागि धर्नामा छिन् । उनले बारा जिल्ला कोह्ल्बी नगरपालिका हनुमानगञ्ज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनाली जबरजस्तीकरणीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको पीडा व्यक्त गरिन् ।
‘म सिधै माइतीघरमा आएको हैन, कतैबाट न्याय नपाएपछि अन्तिम विकल्पका रूपमा यो ठाउँ रोजेको हुँ’ उनले भनिन्, ‘आफ्नो घर, परिवार, जागिर सबैथोक छोडेर सडकमा आउन कसलाई मन लाग्छ र ?’ प्रमाण बुझाउँदा पनि पीडितले न्याय पाउने अवस्था नभएपछि सडकमा आउन बाध्य भएको उनले बताइन् ।
मैनालीले काठमाडौँस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यरत हुँदा २०८१ माघमा आफूलाई बलात्कार गरेको उनले बताइन् । बलात्कारपछि पनि विभिन्न दबाब आएको बताउँदै उनले भनिन्, ‘पीडकबाट थप यौन हिंसाको दबाब र धम्कीले कानुनी उपचार खोज्न बाध्य भएँ ।’ सुरुमा परिवार र समाजको लागि चुप बसे पनि सहनै नसक्ने भएपछी कानुनी उपचारमा गएको उनको भनाइ छ ।
त्यस्तै गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनामा संलग्न भएको आरोपमा सरकारले आफ्ना छोरा, भाइलगायत परिवारका सदस्यलाई पक्राउ गरी थुनामा राखेको आरोपमा जेनजी परिवारहरू पनि धर्नामा छन् । भदौ २३ को घटनाले भदौ २४ गते देश जलेको हो भन्दै उनीहरूले सरकारले पहिला गोली चलाएको विषयमा छानविन गर्नुपर्ने र आफ्ना सन्तानलाई रिहा गर्नुपर्ने माग गरेका छन् ।
गृहमन्त्री सुधन गुरुङले बिहीबार धर्नामा बसेका सबैलाई भेटेर सरकारले माग पूरा गर्ने आश्वासन दिएका छन् । तर लिखित प्रतिबद्धता नआएसम्म आफूले विस्वास नगर्ने उनीहरूको अडान छ । माइतीघरमा टेन्टभित्र बस्ने प्रत्येकका आफ्नै समस्या छ ।
‘गृहमन्त्रीले एकमुष्टमा म तपाईंहरूको माग पूरा गर्छु भन्नुभएको छ, समस्या नसुनी माग कसरी पूरा हुन्छ र ?, यहाँ बस्दा त न्याय पाउन गाह्रो छ उठेर हिंडे कसरी न्याय पाइएला र ?’, माइतीघरमा प्रदर्शन गरिरहेकी प्रतिमाले भनिन् । उनी आफ्नै बुबा आमा र भाउजुले पैतृक सम्पत्तिमा गरेको विभेद, श्रीमानले गरेको हेला र जागिरबाट निकालिएको भन्दै आफ्नो छोरासहित धर्नामा छिन् ।