
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन् ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठिरहेको उनको जिकिर थियो । आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूहरुले नयाँ पार्टी खोल्न लागेको दाबीसमेत गरे ।
नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनले बताए । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताए ।
नेता राणाले नयाँ पार्टीले आगामी स्थानीय तहमा भाग लिने घोषणा पनि गरे ।