२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

'बार्गेनिङ'मा संस्थापनइतर

Nada
जीवन शर्मा
२०८३ असार १ गते ०६:२०
Shares
'बार्गेनिङ'मा संस्थापनइतर

काठमाडौं : आइतबार कांग्रेस संस्थापनइतर समूहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय एकता भेला आयोजना गरेर शक्ति प्रदर्शन गर्‍यो । यसअघि यो समूहले काठमाडौंमा पटक–पटक भेला गर्दै आएको थियो भने कर्णाली प्रदेशमा कार्यकर्ता भेला गरिसकेको छ । संस्थापनइतर समूहले गरेको आइतबारको प्रदेशस्तरीय कार्यक्रममा देउवा र कोइराला पक्षका शीर्ष नेताहरू जम्मा भएपछि संस्थापन पक्षलाई पार्टी मिलाउन थप दबाब सिर्जना भएको छ । 

ncell

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व गगन थापामा आएपछि देउवा र कोइराला पक्ष मिलेर समानान्तर राजनीतिक गतिविधि गर्दै आएका छन् । सोही क्रममा कोशीमा भएको कार्यक्रममा शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, विजय गच्छेदार, एनपी साउद, मोहन बस्नेत, डा.मीनेन्द्र रिजाल, मीन विश्वकर्मा, गुरु बराल, कुन्दन काफ्लेलगायत सहभागी भए । 

पूर्वसभापति शेरबहादुर देउवा पक्ष र देउवासँगै १४औं महाधिवेशनमा सभापति लडेका कोइरालानिकट नेताहरूले विशेष महाधिवेशन चाहेका थिएनन् । वर्तमान सभापति गगन थापालाई महामन्त्रीमा राखेर टिम बनाएका शेखरले १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा ४२ प्रतिशत मत प्राप्त गरेका थिए । उनको टिमबाट महामन्त्री गगनसहित केही पदाधिकारी र केन्द्रीय सदस्य जितेर तत्कालीन संस्थापन (देउवा) पक्षलाई काउन्टर दिँदै आएका थिए । तर विगत दुुई वर्षयता कोइराला समूहका गगन थापाले आफ्नै समूह बलियो बनाउँदै लगे । 

गत भदौ २३ र २४मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक कोर्स नै बदलियो । सोहीअनुसार कांग्रेसभित्र पनि नीति र नेतृत्व बदल्ने अभियान चल्यो । अन्ततः गत पुुस २७ देखि माघ १ गतेसम्म भएको विशेष महाधिवेशनबाट सभापति गगन, उपसभापति, विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरेसहित युवा नेताहरूले हस्तक्षप गरे । नेता कोइरालाको सहयोग नपाएका गगन–विश्वले उनलाई छाडेर आफ्नो वर्चस्व कायम राखेका छन् । 

विशेष महाधिवेशनले पार्टीलाई विभाजित गर्ने भन्दै नेता शेखर कोइराला सहभागी भएनन् भने तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले विशेष महाधिवेशनलाई पूर्ण रूपमा अस्वीकार गर्दै आए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय समितिमा बुझाएर थालिएको विशेष महाधिवेशनको अभियानलाई सार्थकता दिएका गगन–विश्वकै नेतृत्वमा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले भाग लियो । थापाकै हस्ताक्षरमा टिकट लिएका शीर्ष नेताहरू चुनावपछि थप सक्रिय हुँदै आएका छन् । पछिल्लो समय शेखर–शशांक र सुजाता कोइरालासहित पूर्वसभापति देउवा पक्षका अधिकांश शीर्ष नेताहरू एक ठाउँ भएका छन् ।  

गगन र विश्वको मिलनले उनीहरू एकठाउँ आउन बाध्य भए । यी नेतासँग केही युवा नेतासमेत जोडिएका छन् । संस्थापनइतर समूहले पछिल्लो समय समानान्तर राजनीतिक गतिविधि गर्दै शक्ति सञ्चय बढाएको छ । सभापति थापाले पुराना नेतालाई पेलेरै लाने र पुराना नेताले थापाको अस्तित्व अस्वीकार गर्दा कांग्रेसमा दुई लाइन संघर्ष थप बलियो बन्दै गएको विश्लेषण भइरहेको छ । शेखरले पार्टीभित्र निरंकुशता हावी भएको दाबी गरेका छन् । 

‘जनअपेक्षाअनुसार परिवर्तित कांग्रेस’को दाबी गर्दै थापाको नेतृत्वमा निर्वाचनमा गएको कांग्रेस ३८ सिटमा झरेपछि वर्तमान नेतृत्वप्रति पनि कार्यकर्ताले प्रश्न बलियो बनाउँदै गएका छन् । तर, संस्थापन पक्षले समय अभाव, आन्तरिक असहयोग र नयाँ दलको लोकप्रियतावादका कारण पार्टीले हार व्यहोर्नुपरेको दाबी गरेको छ । कांग्रेसले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम सकेको छ भने, नयाँ सदस्यता वितरणको समयसीमा असार २० गतेसम्मका लागि राखेको छ । संस्थापनइतर पक्षले गत पुसमै सदस्यता नवीकरण गरिसकिएकाले अध्यावधिक अव्यावहारिक भएको भन्दै भाग लिएका छैनन् । 

विशेष महाधिवेशन स्वीकार नगर्ने शीर्ष नेताहरूसहित करिब एक लाख क्रियाशील सदस्यता घटेका छन् । अध्यावधिक गर्न योग्य कुल क्रियाशील सात लाख ८२ हजार २०९ सदस्य अध्यावधिक गर्न योग्य रहे पनि विविध कारणले घटेर ६ लाख ८७ हजार ९३१ सदस्य मात्रै अध्यावधिक भएको कांग्रेसले जनाएको छ । बाँकी राजनीतिक रूपमा छुटेका शीर्ष नेतासमेत ९४ हजार २७८ जना कार्यकर्ता रहेका छन् ।

सदस्यता अध्यावधिकका सन्दर्भमा कतिपय वडा सभापतिहरूलाई पार्टीले जिम्मेवारीबाट अलग गरेर सदस्यता अध्यावधिकको जिम्मा नयाँ व्यक्तिलाई दिएको थियो । उक्त विषयमा पनि संस्थापनइतर आक्रोशित छ । कांग्रेभित्रको आन्तरिक लोकतन्त्र झन् कमजोर भएको नेता शेखर कोइरालाले बताए । ‘कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभाव र निरंकुशतावादी चरित्र बढ्दै छ,’ उनले भने, ‘विनाकारण र स्पष्ट स्पष्टीकरणबिना नै विभिन्न जिल्लाका वडा सभापतिलाई पदबाट हटाइएको छ ।’ 

उनले सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा कारबाही गरिनु निरंकुशताको प्रस्थानविन्दु भएको उनको आरोप लगाए । पार्टीभित्र र प्रदेश तहको राजनीतिमा अहिले त्रासको वातावरण सिर्जना गरिएको छ । यस्तो डर, धम्की र त्रासका बाबजुद मनको भय हटाएर कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका नेता तथा कार्यकर्तालाई कसैको धम्कीका कारण कांग्रेसीहरू डराउन नहुने भन्दै ढाडस दिए । 

उनले पार्टीभित्र तीव्र विवाद र मतभेद भए पनि कुनै पनि हालतमा कांग्रेस फुट्न र फुटाउन नदिने उनले दाबी गरे । लोकप्रियता (पपुलिजम)मा रमाउने पार्टी नभएको उनको भनाइ छ । 

कोइराला एकताको सन्देश

नेपाली कांग्रेसमा पछिल्लो दशकयता राजनीतिक बेमेलका कारण पार्टीको मूल नेतृत्वमा आउन नसकेका कोइराला परिवारबीच एकता देखिएको छ । पार्टीमा शक्तिहीन हुँदै गएपछि संस्थापक नेता बिपीपुत्र डा.शशांक कोइराला र सोही परिवारबाट  मूलधारको राजनीतिमा उदाएका नेता डा.शेखर कोइरालाबीच एकता देखिएको हो ।  

पूर्वमहामन्त्री एवं बिपीपुत्र डा.शशांक कोइरालाले कांग्रेस अत्यन्त कमजोर भएको बताउँदै एकता कायम गर्नुपर्ने बताए । लामो समयपछि विराटनगरस्थित कोइरालानिवास पुगेर शेखर–शशांकले फोटो खिचाउँदै एकताको सन्देश दिए । बिपीले जनताका लागि राजनीति गरेको सम्झँदै उनले भने, ‘बिपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो । आज हामीले सोच्नुपर्ने बेला आएको छ—हामी कसका लागि राजनीति गर्दै छौं ?’ उनले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको ठुलो फड्को मारेको चर्चा गर्दै अहिले नेतृत्वले बाटो बिराएको बताए ।

१४औं महाधिवेशनमा मिल्न नसकेका दुई कोइरालाको मिलनलाई कार्यकर्ताले खासै महत्व दिएका छैनन् । यद्यपि कोइराला परिवार र शेरबहादुर देउवा पक्षका नेताहरू मिल्दा वर्तमान कांग्रेस नेतृत्वको कार्यशैली बदल्न दबाब बढ्ने विश्वास रहेको नेपाली कांग्रेसका नेता बलबहादुर केसीले बताए । कांग्रेसको विषेश महाधिवेशनबाट पार्टी नेतृत्वमा गगन थापा–विश्वप्रकाश आएपछि कोइरालासहित एक दशक पार्टी नेतृत्वमा रहेका शेरबहादुर देउवा समूहका शीर्ष नेताहरू एकै ठाउँ भएका हुन् । 

ताजा खबर

सम्बन्धित खबर