२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

झस्किए ओली, देखाए फुटको त्रास

Nada
२०८३ असार १ गते ०६:३०
Shares
झस्किए ओली, देखाए फुटको त्रास

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको सवा दुई महिनापछि चुनावी समीक्षा थालेको नेकपा एमालेमा अन्तरसंघर्ष गहिरिएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भित्रभित्रै नेतृत्व हेरफेरलाई एजेन्डा बनाएपछि अध्यक्ष केपी ओली झस्किएका छन् । 

ncell

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाइएको छ । सो कार्यदलले प्रदेशगत रूपमा सुझाव संकलन गर्दै छ । सोही क्रममा शनिबार बागमती प्रदेशका अधिकांश अगुवा नेताले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने सुझाव दिएपछि अध्यक्ष ओली बिच्किएका हुन् । प्रदेशस्तरीय भेलामा आफूविरुद्ध आवाज उठेपछि उनले निकट नेताहरूलाई राति गुन्डु बोलाएर रिपोर्टिङ लिए । 

पौडेल र पोखरेल आफूविरुद्ध सक्रिय भएको बुझेपछि अध्यक्ष ओली उनीहरूमाथि खनिएका थिए । महासचिव पोखरेल अध्यक्ष हुने लोभमा परेको उनको टिप्पणी थियो । ‘उनीहरू के गर्दै छन्, के गर्न चाहन्छन् मैले बुझेकै छु,’ ओलीको भनाइ उद्धृत गर्दै बागमती एमालेका एक नेताले मध्यान्हसँग भने, ‘पार्टीभित्रैबाट एमालेलाई कमजोर बनाउने खेल हुँदै छ । त्यो नरोकिए निर्मम भएर सामना गरिनेछ ।’ 

पार्टी पुनर्गठन भन्दै हिँड्ने नेताका कारण पार्टी फुट्ने जोखिम रहेको पनि उनले औंल्याए । अध्यक्ष ओलीले भेट्न चाहेको भन्दै प्रदेश इन्चार्ज महेश बस्नेतले नेताहरूलाई गुन्डु बोलाएका थिए । ओलीको मुख्य चिन्ता र चासो पार्टी पुनर्गठनको बहसमा थियो । उनले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति असन्तुष्टि व्यक्त गर्दै पुनर्गठनको नाममा पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको पनि बताए । 

ओलीले केही नेता विपक्षीको योजनाअनुसार अघि बढिरहेको आशंका व्यक्त गरेका थिए । ‘केही मानिस फुटेर जान सक्छन्,’ ओलीलाई उद्धृत गर्दै अर्का नेताले भने, ‘एमालेलाई फेरि संकटमा पार्ने प्रयास भइरहेको छ । त्यसको सामना एकताबद्ध भएर गर्नुपर्छ ।’ 

बागमतीको छलफलका अधिकांश नेताहरूका पुनर्गठनको पक्षमा देखिएका थिए । धेरैको सुझाव चुनावमा जनमत घट्नुका कारण खोज्नुपर्ने, संगठनलाई नयाँ ढंगले चलाउनुपर्ने र जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने थियो । उपाध्यक्ष पौडेलले पार्टीलाई नयाँ ऊर्जा दिन पुनर्गठन आवश्यक रहेको बताएपछि त्यो माहोल बनेको ओलीको बुझाइ थियो । ‘एमालेलाई जोगाउने हो भने अब पार्टी पुनर्गठन गर्नुपर्छ, वस्तुनिष्ठ समीक्षा गरेर सुधारको बाटो नसमाते हामी सकिन्छौं,’ पौडेलको भनाइ थियो । त्यसलाई ओलीले पुनर्गठनको नाममा पार्टीको मूल लाइनबाट अलग हुने मनस्थिति बनाइएको अर्थमा व्याख्या गरेका थिए । 

कुनैबेला आफ्ना सबैभन्दा विश्वासिला पात्र रहेका उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँग अहिले ओलीको दूरी निकै बढेको देखिन्छ । आफू पक्राउ परेका बेला बसेको सचिवालय बैठकले प्रधानमन्त्री नियुक्त भएकोमा वालेन्द्र शाहलाई बधाइ दिएको, तर आफ्नो गिरफ्तारीबारे प्रस्ट नबोलेकामा समेत ओली असन्तुष्ट थिए । त्यतिबेला पौडेलले सार्वजनिक रूपमा विरोध जनाउनसमेत नचाहेको ओलीको टिप्पणी थियो । ‘सके विज्ञप्ति निकालेर, नभए फेसबुक स्टाटस लेखेर भए पनि विरोध गर्नुस् भन्दासमेत उनले सुनेनन्,’ गुन्डु छलफलमा ओलीले भनेका थिए, ‘यी त्यस्ता पापी हुन् । शंकरलाई अध्यक्षको लोभ देखाएका छन् ।’ 

प्रदेश भेलामा पार्टी एवं पुनर्गठनको पक्ष हाबी देखियो । सो पक्षको दाबी छ– पुरानै शैलीमा अघि बढ्दा एमालेले गुमाएको जनविश्वास फर्काउन सक्दैन । त्यसैले संगठन, नेतृत्व र कार्यशैली सबै फेरिनुपर्छ । 

दोलखा, धादिङ, मकवानपुरलगायत जिल्लाका नेताहरू भने अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने पक्षमा उभिए । संकटका बेला नेतृत्व विवाद गर्दा पार्टी थप कमजोर हुने भएकाले १२औं महाधिवेशन पर्खिनुपर्ने उनीहरूको तर्क थियो । चितवनका केही नेताले भने मध्यमार्गी सुझाव दिएका थिए । उनीहरूको भनाइ थियो, ‘पार्टी एकता जोगाउँदै सुधार गर्नुपर्छ ।’ 

एमाले नेता विशाल भट्टराई पार्टी अध्यक्षका भनेर आएका सबै भनाइ सही नभएको दाबी गर्छन् । पार्टी चुनावी समीक्षा र पुनर्गठनको बहसमा भए पनि नेताहरूले छिट्टै उपयुक्त उपाय निकाल्ने उनी बताउँछन् । ‘मिडियामा जे आइरहेका छन्, नेताहरूबीच त्यतिधेरै समस्या आइसकेको होइन,’ भट्टराईले मध्यान्हसँग भने, ‘पार्टीलाई नयाँ दिशा र गति दिन नेताहरू मिल्नुको विकल्प छैन ।’ 

बागमतीको सुझाव सुनेपछि उपाध्यक्ष पौडेल र महासचिव पोखरेल भने उत्साहित देखिए । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत पुनर्गठन अभियानप्रति आशावादी सन्देश दिएका थिए । निर्वाचनको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने र गुमेको जनमत तथा प्रतिष्ठा पुनःस्थापित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो । 

शनिबार राति गुन्डुमा आफूहरूविरुद्ध ओली खनिएको थाहा पाएपछि महासचिव पोखरेलले पनि जनभावनाविपरीत अभिव्यक्तिले पार्टी जोगिन नसक्ने टिप्पणी गरेका छन् । ‘जनभावनाको सम्मान गर्दै जनसम्बन्ध बलियो बनाऔं । किनकि जनता नै इतिहासका निर्माता हुन्,’ उनले भनेका छन् ।

ताजा खबर

सम्बन्धित खबर