२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा महाधिवेशनमा रवि–बालेनबीच गुटगत प्रतिस्पर्धा

Nada
जीवन शर्मा
२०८३ असार २ गते ०६:२०
Shares
रास्वपा महाधिवेशनमा रवि–बालेनबीच गुटगत प्रतिस्पर्धा

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन नजिकिँदै गर्दा अन्तरपार्टी शक्ति संघर्ष बढ्दै गएको छ । गत निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपामा भित्रभित्रै सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच गुटगत प्रतिस्पर्धाको अभ्यास भइरहेको छ । 

ncell

महाधिवेशनको पूर्वसन्ध्यामा आन्तरिक असन्तुुष्टि बढ्दै गएका छन् । देशभर वडादेखि स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनमा होमिएको रास्वपाले आन्तरिक समस्यालाई आन्तरिकरूपमै मिलाउन खोजे पनि गुटगत सक्रियता बढेको पाइएको छ । रास्वपाले सबै तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणा सार्वजनिक गरेको थियो । महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनप्रतिनिधिहरू पार्टीको संरचनामा नआउन निर्देशन नै जारी गरे पनि जिल्ला र प्रदेशमा जनप्रतिनिधिबीच नै प्रतिस्पर्धा भइरहेका छन् । त्यसरी प्रतिस्पर्धा गर्दा हारेका कतिपय नेताले पार्टी परित्याग गरेका छन् भने केहीले पार्टीभित्र कब्जाको नीतिले ‘स्पेस’ पाएकोभन्दै तीव्र असन्तुुष्टि पोख्न थालेका छन् । 

विवादबीच बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ । बागमतीमा रवि लामिछाने पक्षका नेता डा. अच्युतम लामिछानेलाई हराउँदै प्रधानमन्त्री बालेन पक्षका उत्सव अर्याल सभापतिमा निर्वाचित भएका छन् । अर्यालले यसअघि सभापति रहेका लामिछाने, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठलाई पराजित गरेका हुन् । लामिछाने नुवाकोटबाट निर्वाचित सांसद हुन् । एक व्यक्ति एक पदको नारा लगाएर बालेन समूहले घेराबन्दी गरेर हराएको भन्दै पार्टीमा असन्तुष्टि चुुलिएको छ । 

त्यस्तै, कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन् । उनले सरिन तामाङलाई पराजित गरेपछि तामाङले राजनीतिबाटै बिदा लिएको घोषणा गरेकी छिन् । अधिवेशनमा सांसदहरूले हस्तक्षेप गरेको भन्दै अधिवेशनस्थलबाटै उनले सांसदहरूलाई कोशी प्रदेशमा प्रवेश निषेध गर्ने घोषणा नै गरेकी थिइन् । पराजित भएपछि उनले केन्द्रबाट ह्विप जारी गरेर आफूलाई पराजित गरिएको आरोप लगाएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सायद अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले, यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर । तर यो मेरो सोझो, सिधापन आज दुखाइ भो सबैलाई । हजुरीको राजनीति गर्नै जानिनँ, अब राजीतिबाटै बिदा हुँदै छु ।’ 

त्यस्तै, गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेका हुन् । गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्दै सांसद गौतमले महामन्त्री बुर्लाकोटीको पत्रप्रति आपत्ति जनाएका थिए । उनी नवलपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । सभापतिका ६ जना उम्मेदवार थिए ।

कर्णाली र सुदूर पश्चिममा पनि सहज नेतृत्व चयन हुन सकेको छैन । मंगलबारसम्म सुदूरपश्चिम र कर्णालीमा नेतृत्व चयन हुने नेताहरूले बताएका छन् । कर्णाली सभापतिका लागि वर्तमान सभापति मदन खड्कासहितका नेताहरू सभापतिका उम्मेदवार छन् । त्यस्तै सुदूरपश्चिमका वर्तमान सभापति प्रकाश विष्ट, संस्थापक सभापति नरेन्द्रबहादुर चन्द, जनकराज पन्त, भोजराज जोशीलगायत उम्मेदवार छन् । 

राष्ट्रिय महाधिवेशनभन्दा पहिले वडादेखि प्रदेश सम्मका सबै संरचनाको अधिवेशन गरिसक्नुपर्ने केन्द्रीय समितिले निर्णय गरेर तल्लो तहको पार्टी संरचनालाई सर्कुलर गरेको थियो । तर धेरै वडा, स्थानीय तह, क्षेत्रीय, जिल्लाकै अधिवेशन हुनै बाँकी छ । सयौं वडा र स्थानीय तहमा अधिवेशन भएका छैनन् । २१ जिल्ला अधिवेशन हुन सकेको छैन । त्यस्तै, मधेश प्रदेशमा अधिवेशन हुन सकेको छैन । 

प्रदेश अधिवेशनमा शक्ति सन्तुलनका नाममा सांसदहरू नै सक्रिय भएका कारण महाधिवेशन हुन कठिन भएको प्रदेशका नेताहरूले बताएका छन् । राष्ट्रिय महाधिवेशन अगाडि मधेश प्रदेशको अधिवेशन हुने सम्भावना नरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेश अधिवेशनको सम्पूर्ण गतिविधि स्थगित गरिएको जेठ २६ नै सूचना जारी गरेको थियो । निर्वाचन आयोगका प्रमुख भुवन केसीले भने, ‘महाधिवेशन अगाडि मधेश प्रदेशको अधिवेशन गर्न सम्भव छैन । हामीसँग समय पनि छैन ।’

विधि, प्रक्रिया, पद्धतिअनुसार मधेशमा काम गर्न सजिलो नभएको उनको भनाइ छ । शान्तिपूर्ण र सुरक्षित रूपमा अधिवेशन गराउन अप्ठ्यारो भएको भन्दै उनले राष्ट्रिय महाधिवेशनपछि विशेष समिति बनाएर अधिवेशन गर्दा उपयुक्त हुने सुझाव पार्टी केन्द्रलाई दिएको छ । मधेश प्रदेशमा विवाद तथा दुई पक्षीय झडपका कारण पर्साबाहेक अन्य सात जिल्लाको अधिवेशन पनि स्थगित भएको थियो । केन्द्रीय महाधिवेशनअघि प्रदेश अधिवेशन हुने सम्भावना टरेको  प्रदेशका महामन्त्री मनीषकुमार साहले बताए । साहले भने, ‘सदस्यता नवीकरण, नेतृत्वको विवादलगायत विषयमा देखिएका त्रुटि सच्याएर जान सकिन्थ्यो । तर पछिल्लोपटक अन्य राजनीतिक दलका मान्छे प्रवेश गरेर रास्वपाको महाधिवेशन नै बिथोलियो । अहिले मधेश प्रदेशमा सबै रास्वपा भएका छन् । त्यस कारणले पनि लफडा भएको हो ।’ 

पार्टी स्थापनाकालदेखि नै संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सांसदहरूको हस्तक्षेप  स्वाभाविक देखिएको साहले बताए । जिल्लास्तरीय नेताहरूले पार्टीका केन्द्रीय प्रवक्ता मनीष झा, प्रदेश सभापति तपेश्वर यादव, समानुपातिक सांसद पुरुषोत्तम यादवलगायत नेताको स्वार्थका कारण अधिवेशन स्थगित भएको आरोप छ । 

त्यस्तै, कैलाली जिल्ला अधिवेशनलाई केन्द्रीय निर्वाचन आयोगले नै मान्यता नदिएपछि जिल्लाका नेता आक्रोशित छन् । आइतबार निर्वाचन आयोगले अधिवेशनको प्रक्रियामा त्रुटि रहेको भन्दै नयाँ समितिलाई मान्यता नदिने र पुनः अधिवेशन गर्ने सूचना निकालेको थियो । निर्वाचन समितिले सो अधिवेशनमा प्रक्रियागत त्रुटि, कार्यविधि उल्लंघन, सर्वस्वीकार्यताको अभाव, समावेशी प्रतिनिधित्वमा अवरोध गरेको जनाएको छ । त्यस्तै, कैलाली जिल्लाबाट निर्वाचित सांसदहरूको असहमति र सल्लाहविपरित अवैधानिक ढंगले निर्वाचन गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमार्फत कवीन्द्र ठगुन्न्नालाई सभापति घोषणा गरिएको थियो । 

जिल्ला तथा प्रदेश अधिवेशनका क्रममा प्राविधिक त्रुटि र नेतृत्व चयनमा विवाद देखिएपछि निर्वाचन प्रक्रियालाई अस्थायी रूपमा रोकिएको रास्वपाका प्रवक्ता मनीष झाले बताए । मधेश प्रदेश र  मधेशका अधिकांश जिल्लाहरू महोत्तरी, रौतहट, सिरहा, धनुषा, सर्लाही, सप्तरी र बारा रहेका छन् । त्यस्तै, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, कैलालीलगायत जिल्ला अधिवेशन हुन सकेका छैनन् ।  

पार्टी स्थापनाको चार वर्षपछि रास्वपाले अर्को साता असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्दै छ । महाधिवेशनमा देशभरबाट २५ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुने बताइएको छ भने निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउन ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ प्रयोग गर्ने तयारी छ ।

ताजा खबर

सम्बन्धित खबर