
काठमाडौँ : नेपाली कांग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएका समस्याप्रति सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाएका छन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक पहल कमजोर हुँदा किसान र व्यवसायी प्रभावित भएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले विशेषगरी इलामलगायत पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने चियाको गुणस्तर उच्च भए पनि भारततर्फ निर्यातका क्रममा विभिन्न अवरोधहरू सिर्जना भइरहेको बताए ।
उनका अनुसार भारतीय बजार प्रवेशपछि नेपाली चियालाई पुनः परीक्षण गर्ने प्रक्रिया अपनाइँदा निर्यातकर्ताहरूले लामो समयसम्म सामान रोक्नुपर्ने बाध्यता छ, जसले आर्थिक रूपमा ठूलो क्षति पुर्याइरहेको छ ।
राईले निरन्तर हुने परीक्षण र त्यसबाट आउने परिणामका कारण नेपाली चियाको बजार विस्तारमा नकारात्मक असर परेको उल्लेख गर्दै समस्या समाधानका लागि नेपाल–भारतबीच उच्चस्तरीय कूटनीतिक संवाद आवश्यक रहेको बताए ।
उनले चिया परीक्षणका लागि नेपालमै भरपर्दो प्रयोगशाला तथा संरचना विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्वदेशमै गुणस्तर परीक्षण प्रणाली बलियो बनाउनुपर्ने सुझाव दिए ।
चिया किसान र व्यवसायीहरू आन्दोलनमा जाने तयारीमा रहेको सन्दर्भ उल्लेख गर्दै राईले सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए ।
चिया खेतीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताउँदै उनले किसानका समस्या प्रत्यक्ष रूपमा बुझेको उल्लेख गरे । उनले चिया क्षेत्रको समस्या समाधानका लागि सरकार र प्रतिपक्षबीच सहकार्य अपरिहार्य रहेको धारणा पनि राखेका छन् ।