२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लघुकथा : चरित्रको प्रमाणपत्र

ADV
२०८१ साउन २६ गते ०६:३०
लघुकथा : चरित्रको प्रमाणपत्र

–यादव दुङ्गेल

“बिहे गरेको एक वर्षमै पोइ छोडी । अहिले अर्कैसँग बिहे गरेर हिँडेकी छे । छ्या । लाजसरम केही नभकी । आफ्नो गन्तव्यमा बेफिक्री हाफ पाइन्ट, टिसर्ट लगाएर हिँडिरहेकी छे !” उनीमाथी एकाएक टिप्पणी आयो मलाई पटक्कै चित्त बुझेन ।

एक वर्षभित्र आफ्नो श्रीमानसँग छुट्टिन पर्दा केही कारण होलान्, जस्ले सम्बन्धको बाटो अलग बनायो । तर, बाहिर हेर्दा ती महिला गतिछाडा भइन् । कसरी ?

टिप्पणी गर्ने, ती महिलालाई सायद निकै फुर्सद थियो, उनीमाथि टिप्पणी गरेर इन्टरनेट गरिराख्न । म भने हतारमा थिए । तर, किन–किन मन मानेन । मनको रिमोट दबाए र केही शालिन तरिकाले सोधेँ, “किन त्यसरी बिहे गरेकी होलान्, थाहा छ हजुरलाई ?”

“खै...! बानी गतिलो नभएर होला नि ! उ छोटा कट्टु लाएर हिँड्न पर्ने, जोसँग नि बोल्नपर्ने । यसलाई लोग्नेले मन पराएन ।”

निकै अड्कलको भरमा यसो र उसो भएर होला भन्दै ती महिलाको निजि जिवनमाथीको टिप्पणी सार्है घटिया लाग्यो । अरुको व्यक्तिगत जिवनमाथि अनुमानका भरमा यतिविधि नकारात्मक टिप्पणी गर्न कतिसम्म मन मानेको होला ? आफ्नै मनसँग प्रश्न गरेँ । 

फेरि किन उनले एक वर्षपछि अर्कोसँग बिहे गरिन त ? पहिलोसँग मन मिलेन अर्को बिहे गरिन ! के अपराध गरिन ? के आधारमा चरित्रहिन भएर हिँडेको आरोप लागिरा’छ उनलाई ?

म उनको व्यक्तिगत जीवन स्वतन्त्रताबाट व्याख्या गर्छु ! तर, उनी “लोग्नेले मन नपराएकी एक गतिछाडा आईमाई” भनेर चित्रण गरिरहेकी छिन् । विवाह नितान्तः निजी जीवनको मामला हो । यो जोडिले सँगै बसेर रमाउन सकेन र छुट्टिएर स्वतन्त्र जीवनको बाटो रोज्यो । यी विषयमा हाम्रो यति धेरै चासो किन ? प्रश्न फेरि मनमा उठ्यो !

ति पुरुषमाथि कोही कसैले चरित्रहीनको ट्याग लगाउँदैन ? उ निकै सम्मानित छ यो समाजमा किनकी उ मर्द पुरुष हुन हाम्रो समाजका, अफ्सोच ! यहाँ त चरित्रको पगरी महिलाले मात्र भिर्नुुपर्छ ।

तर, पहिलो लोग्नेसँग एक वर्षमै सम्बन्ध बिच्छेद भयो भन्दैमा अहिलेसम्म ‘लाजसरम’ नभएकी भन्दै चित्रण गर्नु कति न्यायोचित होला ? उनका पूर्व श्रीमान् दुधले नुहाएका जस्तै चोखा ? मानौ सम्बन्ध तोडिनुको मुख्य अभियुक्त तिनै महिला ? 

उफ्, यो समाज, पात्र सोच र प्रवृत्ति । चरित्रको प्रमाणपत्र पुरुषको लागि चाहिँदैन ? महिलाका लागि अनिवार्य ? 

आजकल सामाजिक सञ्जालदेखि धेरै कुरामा अरुलाई खिल्ली उडाउँदै परपीडक बनेर आत्मरतिमा रमाउने बानीले प्रायः धेरैलाई गालिसकेको छ । हामी आफ्नो धरातल बिर्सन्छौ र हरेक मानिसको वैयक्तिक जीवनको चरित्रको प्रमाणपत्र बोकेर बाटोमा हिडिँरहेको बटुवाको वर्गीकरण गर्छौं । बुझ्दै नबुझी विभिन्न ट्याग लगाइदिन्छौ । आवरण हेर्छौ र दृष्टिकोण बनाउँछौ । निर्दोषलाई दोषी आखाँले हेर्छौ र अपराधी सम्झन्छौ अनि दोषीलाई निर्दोष आखाँले हेर्छौ र सज्जन बनाइदिन्छौ । 

हरेक मानिसको आफ्नो व्यक्तिगत जीवन हुन्छ । व्यक्तिगत जीवनभित्रको त्यो पानामा धेरै कहानी लेखिएका हुन्छन् । तीमध्ये केही मात्र समाजले देख्ने गरी बाहिर आएका हुन्छन्, त्योभन्दा धेरै नदेखिएका । आवरणमा देखिएका तथाकथित केही पक्षलाई लिएर बनाइएका दृष्टिकोण हिजोआज सबैभन्दा बढी खतरनाक बनिरहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise