
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेतृत्वमा आकर्षण नभएकोभन्दै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा मागेका छन् ।
प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र लेख्दै खनालले नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसकिने बताएका हुन् । पार्टी एकतापछि संगठनात्मक एकीकरण पुरा नभएको, चुनावमा ‘शर्मनाक पराजय’ भोग्नुपरे पनि बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको उनको आरोप छ ।
पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको, नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बनेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाईं आफैँमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ ।’ संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गरेर महाधिवेशनमा जानुपर्ने तर्क अघि सारेका छन् ।
एमाले–माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा भएको पार्टी एकता नेतृत्वको दम्भकै कारण दर्ता प्रक्रियाको गल्तीले असफल भएको उनले स्मरण गरेका छन् । ‘त्यो कमरेड केपी ओली र कमरेड प्रचण्डको आत्मघाती गल्ती हो । तर त्यसबेला निर्वाचन आयोगले त्यसो नगरौँ भन्दाभन्दै जबरजस्त दर्ता भएको रहेछ । त्यसको दोष कारिन्दा वा कोही कार्यकर्तालाई लगाउन मिल्दैन । तर तपाईं दुई जनालाई नै मुख्य रूपले दोष लाग्छ’, खनालको पत्रमा छ ।