
काठमाडौं : असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्न लागेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति र वरिष्ठ नेताबाहेक अन्य पदाधिकारीमा आकांक्षीको भिड छ ।
सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)लाई नै पुनः जिम्मेवारी दिने तयारी छ । अन्य पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षीको संख्या बढ्दै गएपछि रास्वपामा नेता व्यवस्थापनको चुनौती देखिएको हो ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा हुँदै गर्दा पार्टीको भावी केन्द्रीय समिति कस्तो बन्छ ? भन्ने बहस भइरहेको छ । पार्टीले जिल्ला र प्रदेश तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणालाई करिब कार्यान्वयन गर्दै आएको देखिन्छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रदेश अधिवेशनका क्रममा एक व्यक्ति एक पदको अवधारणलाई ख्याल गर्न निर्देशन दिएका थिए । तर, उनको निर्देशनलाई बेवास्ता गर्दै सांसदहरू नै प्रदेश सभापतिको उम्मेदवार बने पनि मतदाताले उनीहरूलाई हराइदिएका छन् ।
प्रदेश अधिवेशनमा प्रतिनिधिसभाका तीनजना सांसद सभापतिको निर्वाचनमा पराजित भएका छन् । बागमतीमा डा.अच्युत्तम लामिछाने, गण्डकीमा राजन गौतम र सुदूरपश्चिममा जनकसिंह धामीले हार व्यहोरेका हुन् । बागमतीमा उत्सव अर्यालले लामिछानेलाई २ मतले पराजित गर्दै ४१६ मतसहित सभापतिमा विजय भएका थिए भने गण्डकीमा नवीन त्रिपाठी २३४ मतसहित विजयी हुँदा गौतमले १८२ मत पाएका थिए । त्यस्तै, सुदूरपश्चिममा प्रकाश विष्टले ३५८ मत ल्याएर धामीलाई १५४ मतमा सीमित पारे । मधेश प्रदेशमा अधिवेशन हुन सकेको छैन । बाँकी सबै प्रदेशमा अधिवेशन सम्पन्न हुँदा जनप्रतिनिधि नेतृत्वमा आउन सकेका छैनन् । जिल्ला र प्रदेशजस्तै एक व्यक्ति एक पदको अवधारणले केन्द्रीय महाधिवेशनमा काम नलाग्ने नेताहरूले बताएका छन् ।
केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि बहालवाला मन्त्री, सांसद र वर्तमान केन्द्रीय नेताहरू नै प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् । रास्वपाका प्रवक्ता मनीष झा आफू महामन्त्रीको प्रत्याशी भएको बताउँछन् । पार्टी स्थापनाकालबाटै केन्द्रीय समितिमा बसेर काम गरेका नेता झा २०७९को निर्वाचनमा समानुपातिक र अहिले प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टीभित्र प्रभावशाली वैचारिक नेता झा बालेन नेतृत्वको सरकारमा नअटेकाले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा जान चाहन्छन् । झाले आफूलाई महामन्त्रीको दाबी गर्दै आएका छन् । उनी भन्छन्, ‘म आगामी महाधिवेशनमा महामन्त्रीको दाबेदार हुँ । पार्टीका सर्वसम्मतिको अवस्था बन्दा छाड्न पनि सकिन्छ । तर मतदान हुने अवस्था आउँदा म महामन्त्री लड्छु ।’
झासहित महामन्त्रीका लागि वर्तमान महामन्त्रीहरू कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, नेता गणेश पराजुलीलगायत आकांक्षी छन् । पदाधिकारीमा आकांक्षीहरू बढी देखिएपछि केन्द्रीय समितिमा सर्वसम्मत नेतृत्व चयनको प्रयास रास्वपाका लागि चुनौतीपूर्ण बन्ने देखिएको छ ।
सभापति र वरिष्ठ नेताबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्तालगायत पदाधिकारीमा आकांक्षीको संख्या थपिँदै गएको नेताहरूले बताएका छन् । १२९ सदस्यीय केन्द्रीय समितिका प्रत्येक पदमा औसत पाँचजनासम्म आकांक्षी देखिएको रास्वपाका एक नेताले बताए । सभापति र वरिष्ठ नेताबाहेक अन्य पदमा अत्यधिक आकांक्षी खुल्न थालेको उनले बताए ।
गत संसदीय चुनावपूर्व रास्वपामा अरू पार्टी र समूह समाहित भएका थिए । जसमा विवेकशील साझा पार्टी, वालेन्द्र शाह (बालेन) समूह, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थरुहट–थारुवान आन्दोलनका अगुवा र ‘जेनजी’ अभियन्ता छन् । रास्वपामा नयाँ दल र समूहलाई समेत समाहित गरिएकाले सबैलाई मिलाएर लानुपर्ने नेता गणेश पराजुलीले बताए । उनले भने, ‘बिहीबार सचिवालयको बैठकमा संशोधित विधानलगायत विषयमा छलफल गर्छौं । त्यसपछि मात्रै आकांक्षी साथीहरूले उम्मेदवारी घोषणा गर्नुहोला ।’ आफू संस्थापकमध्येकै एक जिम्मेवार नेता भएकाले पार्टीको जिम्मेवार पदमा रहन खोज्नु स्वाभाविक भएको उनको तर्क छ । ‘म संस्थापकमध्येकै एक जिम्मेवार नेता भएका कारण कतिपय साथी र अन्य दलबाट समाहित हुनेलाई मिलाउने जिम्मेवारी पनि छ,’ उनले भने, ‘तर आगामी महाधिवेशनमा उपसभापति, महामन्त्रीमध्येका कुनै पदमा रहने इच्छा राख्नु स्वभाविक हो ।’ संशोधित विधानअनुसार पदाधिकारीमा सभापतिसहित १३ सदस्यीय हुने व्यवस्था छ । चुनावअघि बालेनसँग भएको एकतापछि वरिष्ठ नेताको पद खडा भएको थियो । विधान संशोधन गरेरै वरिष्ठ नेता पद राखिनेछ ।
सरकारको नेतृत्व गरिरहेका मन्त्रीहरू र सांसदलाई पार्टीको पदाधिकारीमा दाबी नगर्न पार्टीले अनुरोध गर्नुपर्छ भन्ने एउटा पक्ष छ भने अर्कातिर मन्त्रीदेखि सांसद र केन्द्रीय सदस्यहरूले नै पदाधिकारीको आकांक्षा राख्दै आएका छन् । पार्टीको पद र जनप्रतिनिधि नितान्त फरक विषय भएकाले सांसदहरू पार्टी नेतृत्वमा जाँदा दोहोरो पदको व्याख्या गर्न नहुँने आकांक्षीको दाबी छ ।
अहिले रास्वपाको उपसभापतिमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले मात्रै छन् । अर्का उपसभापति डोलप्रसाद अर्याल (डिपी) सभामुख बनेका छन् । सभामुख भएको हुँदा अर्याल प्रतिस्पर्धामा नआउने निश्चित भएको छ । नयाँ विधानअनुसार, अनिवार्य एक महिलासहित तीन उपसभापति रहने व्यवस्था छ ।
उपसभापति पदका लागि अर्थमन्त्री वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, संसदीय दलका उपनेता गणेश पराजुली र भूमिनन्द बराल, कानुनमन्त्री सोविता गौतम, लिमा अधिकारी, विवेकशील साझाबाट रास्वपामा समाहित समीक्षा बाँस्कोटालगायतको चर्चा छ । बालेन समूहबाट भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको नामसमेत आइरहेको नेताहरूले बताएका छन् ।
एक अनिवार्य महिलासहित तीन सहमहामन्त्री रहने व्यवस्थाअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सहमहामन्त्रीको आकांक्षी देखिएकी छन् । कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता एक–एक तथा सहप्रवक्ता दुईजना रहने व्यवस्था छ । सहप्रवक्तामा फरक–फरक लिंग अनिवार्य गरिएको छ । २५ सदस्यीय सचिवालय पनि सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने व्यवस्था छ ।
शिक्षा तथा खेलकुदमन्त्री रहेका सस्मित पोखरेल, हरि ढकाल, प्रकाशचन्द्र परियार, डा.अमरेशकुमार सिंह, निशा डाँगी, गणेश कार्की, रञ्जु दर्शना, अरनिको पाण्डे, बसुमाया तामाङ, डा.चन्दा कार्की, सरिता ज्ञवालीलगायत पदाधिकारीदेखि सचिवालय सदस्य बन्ने दौडमा देखिएका छन् । १२९ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा एकतिहाइ महिला सहभागिता सुनिश्चित गरिएको रास्वपाले जनाएको छ ।