२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नेकपाको सक्रिय जिम्मेवारीबाट अलग भए महरा

Nada
२०८३ असार ४ गते १७:१६
Shares
नेकपाको सक्रिय जिम्मेवारीबाट अलग भए महरा

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट बिदा लिई अब पार्टीको साधारण सदस्यको रूपमा मात्र रहने निर्णय गरेको जानकारी दिएका हुन् ।

ncell

महराले आफू विगत केही समयदेखि 'एट्रोफी' नामक नशा र मांसपेशी सम्बन्धी रोगबाट पीडित रहेको र नियमित उपचार एवं औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएको बताएका छन् । स्वास्थ्य प्रतिकूलताका कारण पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान दिन कठिन हुँदै गएकाले आफूले यो निर्णय लिएको उनको भनाइ छ ।

उनले आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति भएको स्पष्ट पारेका छन्।

विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण र संघर्षहरूमा सहभागी रहँदै आएका महराले आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।

सक्रिय जिम्मेवारीबाट अलग भए पनि पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताका सवालमा सधैं इमानदार र प्रतिबद्ध रहने उनले बताएका छन् । 'मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ,' महराले भनेका छन् ।

उनले नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति आभार समेत व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर