२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

संसद्‍मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्न- पटनामा बन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग

Nada
२०८३ असार ५ गते १२:०५
Shares
संसद्‍मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्न- पटनामा बन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

ncell

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसदको ध्यानाकर्षण गराए । सांसद साम्पाङले प्रधानमन्त्रीको विवादास्पद वक्तव्य सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराए ।

प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखलाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले आपत्ति प्रकट गरे ।

सांसद साम्पाङले बजेट निर्माण र वितरणको प्रक्रियामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय कमजोरीको पनि कडा आलोचना गरे । रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई छलफल सकिएकोमा प्रश्न उठाउँदै उनले अर्थमन्त्रीको जवाफदेहिता माग गरे ।

यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा पनि अंकगणितीय त्रुटि देखिएको उनको दाबी छ । ५ अर्बभन्दा बढीको बजेटमा १ अर्ब ६१ करोडको मात्र स्पष्ट विवरण देखिएको र बाँकी ४ अर्ब ३२ करोडभन्दा बढी रकमको ब्रेकडाउन अपारदर्शी रहेको उनले बताए ।

यस्तो गम्भीर त्रुटि गर्ने छुट सरकारलाई नभएको उनको तर्क थियो । सांसद साम्पाङले भारतको पटनामा ९०० जना नेपाली दाजुभाइ दिदीबहिनीहरू नेटवर्किङ व्यवसायको प्रलोभनमा परी वन्धक बनाइएको सूचना प्राप्त भएको जानकारी गराए । त्यहाँ नेपालीहरूको मोबाइल फोन जफत गरी कुटपिट गर्ने र नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै उनले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

सोही प्रकरणमा संलग्न भएको आरोपमा सोल्टी होटलबाट पक्राउ परेका इटहरी निवासी ईश्वर ढकालमाथि कारबाही अघि बढाउन र पीडितको उद्धारमा सक्रियता देखाउन उनले सम्बन्धित मन्त्रालयसँग माग गरे । 

स्वदेशी श्रम शक्ति विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई ठोस योजना ल्याउन सुझाव दिए । सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर