
काठमाडौं : नेपाली चिया निर्यातमा भारतले बारम्बार अवरोध गरेपछि सरकार विकल्पको खोजीका लागेको छ । तर ठोस परिणाम हात लागिनसकेको सरकारी अधिकारीहरू बताउँछन् ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार चिया निर्यातका सम्बन्धमा कूटनीतिक पहल भइराखेको छ । ‘चिया निर्यातमा भएको अवरोधबारे सरकारले कूटनीतिक पहल भइरहेको छ,’ मन्त्री चौधरीले बुधबार प्रतिनिधिसभाको बैठकमा भनिन् ।
भारतीय चिया बोर्डले १ मे २०२६ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’अन्तर्गत प्रत्येक खेप (गाडी)को चिया अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआएसम्म बिक्री गर्न नपाइने प्रावधान छ । फेल भएमा नष्ट वा फिर्ता गर्नुपर्ने प्रावधान छ । यस्तो कार्यले नेपाली चिया निर्यातमा अवरोध भएको हो ।
उद्योगीहरूका अनुसार भारततर्फ तीन लाख किलोभन्दा बढी चिया अलपत्र छ भने उद्योगहरूको भण्डारणमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ।
चिया निर्यात ठप्प हुँदा राष्ट्रिय अर्थतन्त्र, किसान, श्रमिक र व्यवसायी सबै प्रभावित भएका छन् । ६० हजारभन्दा बढीको प्रत्यक्ष रोजगारी प्रभावित भएको छ भने सरकारले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व गुमाउने खतरा बढेको छ ।
यो विषय संसद्मा पनि निरन्तर उठिरहेको छ । तर समस्या समाधान हुन सकेको छैन । यही बेला भारतबाहेक तेस्रो मुलुकमा नेपाली चियाको बजारबारे सरकार अध्ययनमा लागेको हो ।
भारतले विगतमा पनि पटक–पटक अवरोध गरेको स्मरण गर्दै यस क्षेत्रका सरोकारवालाहरू पनि चिया निर्यातमा भारतीय बजारको विकल्प खोजेर तेस्रो मुलुकको बजारको सम्भवनाबारे अध्ययन हुनुपर्ने पक्षमा छन् ।
स्पेसियालिटी टी एसोसिएसन नेपालका अध्यक्ष राजु शेर्मा लिम्बूका नजरमा नेपाली चिया निर्यातमा देखिएको समस्या नयाँ होइन, यो नभई वर्षौंदेखि दोहोरिँदै आएको समस्या हो ।
यसआधारमा उनी नेपालले भारतलाई मात्रै माध्यम बनाउने रणनीतिबाट बाहिर निस्केर प्रत्यक्ष रूपमा तेस्रो देशका बजारमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँछन् ।
उनी भन्छन्, ‘नेपाल सरकारले नयाँ बजार खोज्न, अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रवर्धन गर्न र निर्यात सहजीकरणमा लगानी गर्नुपर्छ ।’
दबाब बढाउँदै व्यवसायी
नेपाली कांग्रेसका सचेतक निश्कल राईका अनुसार चिया निर्यातमा भारतले अवरोध गरेसँगै इलामको सूर्योदय नगरपालिकाभित्रका मात्रै ५३ बढी र जिल्लाभरका ८३ बढी चियाउद्योग बन्द भएका छन् । झापाका चिया उद्योगीले समेत बन्दको घोषणा गरेका छन् ।
चिया उद्योग धमाधम बन्द हुन थालेपछि नेपाल उद्योग वाणिज्य महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्रेस विज्ञप्ति नै निकालेर नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउने गरी कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।
भारतीय चिया बोर्डले गत मे १ देखि लागू गरेको नयाँ मापदण्ड र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने व्यावहारिक नरहेको महासंघको ठहर छ । यसले समग्र चिया उद्योग क्षेत्रमा परेको समस्या समाधानको पहल फेरि पनि नेपाल सरकारले गर्नुपर्ने महासंघको आग्रह छ ।
महासंघका अनुसार नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापितछ ।
साथै, चिया निर्यात हुन नसक्दा उद्योगहरूको नगद प्रवाह रोकिएको छ, जसका कारण उद्योगहरूले किसानलाई हरियो पत्तीको भुक्तानी गर्न, मजदुरको पारिश्रमिक दिन र राज्यलाई कर तथा विद्युत् महसुल बुझाउनसमेत सकेका छैनन् ।