२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा महाधिवेशन : प्यानल बनाउन नपाइने, पुरानालाई झड्का

Nada
जीवन शर्मा
२०८३ असार ६ गते ०६:३०
Shares
रास्वपा महाधिवेशन : प्यानल बनाउन नपाइने, पुरानालाई झड्का

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिहीबारको सचिवालय बैठकमा भनेका थिए, ‘अस्ति भर्खर केही साथीहरू समायोजनबाट आउनुभएको छ, उहाँहरूलाई समायोजन भएको केही महिनामै चुनावमा प्रतिस्पर्धा गरेर आऊ भन्नु अन्याय हुन्छ ।’ लामिछानेको यो अभिव्यक्तिले पार्टी स्थापनाकालदेखि सक्रिय नेताहरू भने झस्किएका छन् ।  

ncell

चुनावअघि विभिन्न पार्टी र समूहबाट समाहित भएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारीमा समेट्ने सभापतिको संकेतले पार्टी पुराना नेता तनावमा परेका हुन् । स्थापनाको चार वर्षपछि हुन लागेको पहिलो महाधिवेशनमै फरक दल र समूहबाट आएका नेताहरूलाई स्थान दिँदा पुराना नेताहरू जिम्मेवारीबाट पाखा लाग्ने सम्भावना बढेको छ । छोटो समयमै सबैभन्दा ठुलो दल बनेको रास्वपामा प्रतिनिधिसभा निर्वाचनपूर्व विभिन्न राजनीतिक दल, समूह र व्यक्ति समाहित भएका थिए । 

सबैको प्रयत्नमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको हो । तर, लोकप्रियताको एक्लो जस वरिष्ठ नेता वालेन्द्र शाहलाई दिँदा रास्वपाको यो महाधिवेशन पुराना नेताहरूका लागि प्रतिकूल बन्ने देखिएको छ । सचिवालय बैठकमा सभापति लामिछानेको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘सहमतिकै आधारमा महाधिवेशन सम्पन्न गर्ने प्रयास गरौं । नयाँ साथीहरूलाई पनि अन्याय नगरी समेटेर लगौं भन्ने छ ।’ सभापतिको यस्तो अपेक्षा र समायोजनबाट आएका नेताहरूको पदाधिकारी हुने आकांक्षा बढ्दा पुराना नेता ओझेलमा पर्ने अवस्था आएको उनको भनाइ छ ।  

पार्टी समायोजनमा आएका नेता व्यवस्थापनका नाममा राजनीतिक दल दर्ता गर्नुअघिदेखि नै अभियानमा जोडिएर दुःख गरेका कतिपय नेतामा जिम्मेवारीविहीन हुने त्रास बढेको हो । उपसभापतिका आकांक्षी केन्द्रीय सदस्य गणेश पराजुलीले पार्टीमा सबैको अस्तित्व स्विकार्दै विगतका भूमिकालाई हेरेर जिम्मेवारी पाउने अपेक्षा गरेका छन् ।  ‘हामी प्रथम ऐतिहासिक महाधिवेशनमा छौं । यो महाधिवेशनले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिनेमा विश्वस्त छु,’ उनी भन्छन्, ‘निर्वाचनपूर्व विभिन्न पार्टीबाट आउनुभएका साथीहरूलाई पनि अटाएर जाने र विगतका भूमिकालाई हेरेर नेताहरूले जिम्मेवारी प्राप्त गर्नुपर्छ ।’ 

निर्वाचनकै मुखमा विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, रञ्जु दर्शना, प्रकाश परियारलगायत नेताहरू रास्वपामा समायोजन भएका थिए । त्यसपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह बालेनलाई पार्टी सभापति लामिछानेपछि दोस्रो वरीयताको ‘वरिष्ठ नेता’ बनाएर रास्वपामा भित्र्याए । सोही क्रममा उनलाई ‘भावी प्रधानमन्त्री’ नै घोषणा गरिएको थियो । त्यस्तै, चुनावकै मुखमा खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाली पार्टी समूह र थरुहट आन्दोलनका नेता लक्ष्मण थारूको समूह पनि रास्वपामा मिसिएका थिए । यी विभिन्न समूहबाट आएका नेताहरूलाई समायोजन क्रममा अहिलेको केन्द्रीय समितिमा सहभागी गराइएको छ । 

यी सबै पक्षलाई आगामी केन्द्रीय समितिमा समेटेर लानुपर्ने बाध्यतामा संस्थापन छ । चुनावी प्रतिस्पर्धाबाट नेता छान्नुपर्ने अवस्था आएको खण्डमा अन्य दल र समूहबाट समाहित नेताहरूले जित्ने सम्भावना कम रहेकाले उनीहरूलाई पनि समेटेर जाने उपायका बारेमा पार्टीमा छलफल भएको नेताहरूले बताएका छन् ।

नयाँ र पुरा सबै नेतालाई उचित व्यवस्थापनका लागि पार्टीले विधान संशोधन गरेर पद संख्या बढाएको छ । सचिवालय बैठकले केन्द्रीय समितिको आकार १२१ बाट बढाएर १५१ सदस्य बनाउने निर्णय गरेको हो । जसमा पदाधिकारी संख्या १९ बनाइएको छ । संशोधित विधानअनुसार सभापति एक, वरिष्ठ नेता एक, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सह–महामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सह–प्रवक्ता तीन, कोषाध्यक्ष एक, एक महिलासहित सह–कोषाध्यक्ष दुईजना रहनेछन् । 

बहुपदीय पदाधिकारी कमिटी भए पनि आकांक्षीको संख्या पनि ठुलो हुँदा नेता व्यवस्थापन मुख्य चुनौती बनेको छ । ‘हामीलाई जनताले अभूतपूर्व मत क्रान्ति गरेर झन्डै दुई दिएका छन्,’ केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले भने, ‘यो अवस्थामा आन्तरिक झगडा र गुटगत राजनीतिमा रुमल्लिने छुट छैन । रास्वपालाई सम्हालिएर एकताका साथ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व छ ।’ 

प्यानल प्रतिस्पर्धामा बन्देज  

रास्वपा महाधिवेशनमा सभापति र वरिष्ठ नेतामा प्रतिस्पर्धा नहुने करिब पक्का भएसँगै पार्टीका अन्य पदमा समेत समूहगत प्रतिस्पर्धाको ढोका बन्द भएको छ । बिहीबार सभापति लामिछानेको नेतृत्वमा बसेको सचिवालय बैठकले वरिष्ठ नेताको पद रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय वरिष्ठ नेताको जिम्मेवारीसहित प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’कै लागि गरेको देखिन्छ । 

रविलाई सर्वसम्मतिमा सभापति र बालेनलाई वरिष्ठ नेता बनाएपछि अन्य पदमा पनि देखिनेगरी समूह नबन्ने नेताहरूले बताएका छन् । ‘विधानमा व्यवस्था नभएकै अवस्थामा बालेनलाई रास्वपामा समाहित गराउँदा वरिष्ठ नेताको जिम्मेवारी दिएर ल्याइएको थियो,’ एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीसमेत रहनुभएका वालेन्द्रजीकै लागि विधानमै वरिष्ठ नेताको पद थपेर ल्याइएको छ ।’  रवि लामिछाने र बालेन शाहनिकटका नेताहरू आन्तरिक रूपमा आफ्नो पक्षलाई बलियो बनाउन लागे पनि देखिनेगरी समूह नबनाउने उनले बताए । 

‘ठुलो जनमत पाए पनि पार्टीको सांगठनिक अवस्था अझै बलियो भइसकेको छैन, पार्टी अझै बलियो भइसकेको छैन,’ उनले मध्यान्हसँग भने, ‘संगठन संक्रमणकालीन अवस्थाजस्तै रहेकाले अहिले नेताहरूबीच कित्ताकाट गरेर समूहगत प्रतिस्पर्धामा जानुहुन्न ।’ बालेनबाहेक कम्तीमा तीनजना पदाधिकारी सो समूहबाट ल्याउने आन्तरिक छलफल भएको छ । वरिष्ठ नेता बालेनसँगै एकजना उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री उनीनिकटका नेतालाई दिने सहमति बनेको नेताहरूले अनौपचारिक रूपमा बताएका छन् । सोही कोटामा बालेननिकटका नेताहरू मिलेर आउनुपर्ने बताइएको छ । त्यस्तै, विवेकशील साझातर्फबाट पनि तीनजना पदाधिकारी ल्याउने सहमति भएको छ । बाँकी पदाधिकारीमा रास्वपाका पुराना नेता भिड्ने हुँदा प्यानल भिडन्तको परिस्थिति नबन्ने नेताहरूले बताएका छन् ।  

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले पहिलो महाधिवेशन एकताको महाधिवेशन पनि भएकाले सभापति र वरिष्ठ नेतामा रवि र बालेको विकल्प नखोजिएको बताए ।  उनले भने, ‘हामीले अन्य दल र विभिन्न राजनीतिक समूहलाई पार्टीमा समाहित गरेर देशकै शक्तिशाली पार्टी बनेका छौं । यो महाधिवेशन एकताको महाधिवेशन पनि भएकाले मूल पद सभापति र वरिष्ठ नेतामा रवि र बालेनको विकल्प खोज्ने अवस्था छैन ।’ 

अन्य पदाधिकारीमा समेत सकभर सर्वसम्मतिको प्रयास गर्ने उनले बताए । त्यसरी मतदानमा जाँदा पनि कुनै समूहगत प्रतिस्पर्धा नहुने उनको भनाइ छ । ‘सबै उम्मेदवार इन्डिभिजुअल मतदानमा जानुहुन्छ । उम्मेदवारबीच समूहगत प्रतिस्पर्धा देखिँदैन र देखिन दिइँदैन ।’

यी हुन् पदाधिकारी आकांक्षी 

प्रथम महाधिवेशनमा रास्वपाका लागि नेता व्यवस्थापन सबैभन्दा ठुलो चुनौती बनेको छ । पार्टीमा मुख्यतः तीन पक्ष छन् । पहिलो, रास्वपा संस्थापक । दोस्रो, वरिष्ठ नेता बालेन पक्ष । र, तेस्रो पूर्वविवेकशील समूह । खगेन्द्र सुनारदेखि थरुहट आन्दोलनबाट आएका अरू समूह पनि छन् । तर, मुख्यतः पार्टीको कोर अफ लिडरसिपमा यी तीन समूहले आफ्नो सम्मानजनक उपस्थिति चाहेका छन् । 

महाधिवेशनमा पूर्वविवेकशील समूहका समीक्षा बास्कोटा, पुकार बम, रञ्जु दर्शना, प्रकाशचन्द्र परियारलगायत नेताले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । बास्कोटा विवेकशील साझा पार्टीमा अध्यक्ष थिइन् । उनी रास्वपामा महिला उपसभापति लागि आकांक्षी हुन् । त्यस्तै, विवेकशीलकी महामन्त्री रञ्जु दर्शना पदाधिकारीमा आकांक्षी देखिएकी छन् भने सांसद पुकार बम सहमहामन्त्रीमा उठ्ने तयारीमा छन् । रञ्जु र पुकार अहिले केन्द्रीय सदस्य हुन् । संस्थापन पक्षबाट महिला उपसभापतिका लागि लिमा अधिकारी, वसुमाया तामाङ, सोबिता गौतम, इन्दिरा राना मगरले तयारी गरेका छन् ।    

त्यस्तै, खुलातर्फ प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको समूहबाट सुनिल लम्सालले उपसभापति दाबी गरेका छन् । पूर्वाधार विकासमन्त्री लम्साल प्रधानमन्त्री बालेनका  विश्वासपात्र हुन् । पार्टीमा समाहित हुँदा लम्साललाई महामन्त्री बनाउने प्रस्ताव गरिए पनि त्यसले पूर्णता पाउन सकेको थिएन । बालेन समूहबाट भूपदेव शाह अहिले महामन्त्री छन् । उनी पुनः महामन्त्रीमै बस्न चाहेकाले बालेन टिमबाट शाह नै महामन्त्री बन्नेछन् । उपसभापतिका लागि संस्थापन पक्षबाट डा.स्वार्णिम वाग्ले, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, गणेश पराजुलीलगायत आकांक्षी छन् । 

महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी दोहोरिन चाहेका छन् भने विपिन आचार्य, दीपक बोहरा, मनीष झा, प्रमोद न्यौपानेले पनि आकांक्षा राखेका छन् । आचार्यले पार्टीको नीति निर्माणमा भूमिका खेल्दै आएका छन् । विभिन्न दस्तावेज तयार पार्नमा उनको योगदान रहँदै आएको छ । दीपक बोहरा पार्टीभित्र सभापति लामिछानेका विश्वासपात्र हुन् । हालका प्रवक्ता मनीष झा संसदीय समितिको सभापति प्रस्ताव गरिए पनि छाडेर बसेका छन् । पार्टी स्थापनादेखि नै लागेका उनी पार्टीका वैचारिक र क्षमतावान् नेता हुन् । 

सह–महामन्त्रीमा एकजना महिला अनिवार्य रहने प्रबन्ध छ । त्यसमा प्रतिभा रावल, क्रान्तिशिखा धिताल, डा.तोसिमा कार्की, निशा डाँगी, टीका संग्रौला (ज्वाला), कुसुम महर्जनलगायतको नाम चर्चामा छ । खुलातर्फ रमेश प्रसाईं, असिम शाह, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार, सागर ढकाललगायत आकांक्षी छन् । यीमध्ये अधिकांश नयाँ भए पनि रास्वपा संस्थापन (रवि) पक्षका नेताहरू हुन् । 

ताजा खबर

सम्बन्धित खबर