आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । जसका लागि दलहरूले सूची बुझाउँदा यसपटक अधिकांश नयाँ अनुहार समेटेका छन् । नयाँ अनुहार समानुपातिक तर्फको सूचीमा पर्नुको कारण हो– दलहरूले हाल समानुपातिकमा रहेकालाई पुनः उम्मेदवार नबनाउने भनी निर्णय लिनु । विगतमा समानुपातिक प्रदेश वा संघबाट समानुपातिक भइसकेका, राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका, पहिलो र दोस्रो संविधानसभामा मनोनयनतर्फको प्रतिनिधित्व गरिसकेका र स्थानीय तहमा निर्वाचित एवं निर्वाचनमा हारेकाहरूलाई पनि दलहरूले बन्दसूचीमा राखेनन् । परिणाममा समानुपातिकमा नयाँ अनुहार मात्रै आएका छैनन्, युवाहरूले पनि अवसर पाएका छन् ।
नेपालको संविधान २०७२ ले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्नुको एउटै करण हो– सबै वर्ग, क्षेत्र, लिंग र उमेर समुहको प्रतिनिधित्व होस् । प्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट सबैको समानुपातिक प्रतिनिधित्व हुन गाह्रो हुने भएकाले समानुपातिक निर्वाचन प्रणाली पनि अवलम्बन गरेको हो । तर, विगतमा समानुपातिक निर्वाचन प्रणालीको फाइदा उठाउँदै विगत लामो समय देखि संसदमा रहेका पात्रहरु प्राथमिकतामा परेका थिए । समानुपातिकमा समेत पुरानै अनुहार परेको भनी भएको विगतको टिप्पणीलाई यसपटक राजनीतिक दलहरु चिरिदिएका छन् । खासगरी एकै व्यक्तिले बढी अवसर लिएको भनी समाजमा चलेको बहस, स्वमं राजनीतिक दलहरुका बीचमा समेत चुलिएको असन्तुष्टिलाई चिर्न सबै दलले पुरानालाई दोहो¥याएनन् । अझ स्थानीय तहमा चुनाव उठेर पराजित भएकाहरुले समानुपातिकमा अवसर लिएर संघीय मन्त्री समेत भएका तिता अनुभव छन् । यस्तो कार्यको समाजमा चर्को विरोध भएपछि यसपटक राजनीतिक दलहरुले मापदण्ड नै बनाएर विगतका कमजोरी सच्याएका हुन् ।
कमजोरी व्यक्ति वा संस्थाबाटै हुन्छ । कमजोरी भएको महसुस गरेर सच्याउनु ठूलो महानता हो । हुनतः समाजमा दलहरूप्रति बढेको वितृष्णा, स्वतन्त्र उमेदवारहरूप्रति जनतामा परेको प्रभाव लगायतका कारणले पनि राजनीतिक दलहरु विगतको कमजोरी सच्याउन बाध्य भएका हुन् सक्छन् । जे जस्तो कारणले भएपनि सुरु भएको सकारात्मक अभ्यासलाई नजिरका रुपमा अगाडि बढाउन सक्दा राजनीतिक दलहरुप्रति विगतदेखि रहँदै आएको जनताको आशा, विश्वास र भरोसा दीर्घकालसम्म रहिरहन सक्छ । कतिपय चीज लेखेर समाजमा कार्यान्वयन हुन्छन् भने कतिपय अभ्यासमै स्थापित हुन्छन् । संसदीय व्यवस्था आफैँमा अभ्यासमा बस्नै जाने नजिरहरुको व्यवस्था हो भन्ने वेलायती शासन व्यवस्थाको मान्यता छ । अलिखित संविधान भएको मुलुकले अपनाएको संसदीय व्यवस्थाकै रुप आवश्यक परिमार्जनसहित नेपालले पनि अवलम्बन गरेको हो । दलहरुले यसपटक गरेको समानुपातिकको नयाँ अनुहारलाई पनि दलहरुले नजिरका रुपमा स्थापित गर्नुपर्ने हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies