
काठमाडौं : पहिलो महाधिवेशनमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधानमै पार्टी सभापतिलाई अझै शक्तिशाली बनाउने परिकल्पना गरेको छ । पार्टी केन्द्रीय सचिवालयको अन्तिम बैठकबाट पारित संशोधित विधानलाई आइतबार हुने पार्टीको महाधिवेशनको पहिलो सत्रबाट पारित गर्ने तयारी छ ।
पार्टीको १५१ सदस्यीय केन्द्रीय समितिमा सभापतिले एकतिहाइ (५० जना) सदस्य मनोनीत गर्न पाउने विधानमै व्यवस्था गरिएको हो । यो व्यवस्थाले पार्टीको मूल नेतृत्व अल्पमतमा पर्ने खतराबाट मुक्त हुने देखिएको छ ।
विधानको चौथो संशोधनका लागि गठित मस्यौदा समितिले १३६ सदस्यीय केन्द्रीय समिति बनाउने गरी मस्यौदा तयार गरेको थियो । सहमहामन्त्री विपीन आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरू गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा. चन्दा कार्की र सुशान्त वैदिक सदस्य छन् । बिहीबार बसेको सचिवालय बैठकले मस्यौदा समितिले प्रस्ताव गरेभन्दा बढ्ने गरी केन्द्रीय समितिको संख्या थप्ने निर्णय गरेको हो । केन्द्रीय समितिमा सभापतिले मनोनीत संख्या ५० पुर्याएर विधान पारित हुँदैछ ।
संशोधन हुनुअघि २२ जना केन्द्रीय सदस्यमा सभापतिलाई मनोनीत गर्ने अधिकार थियो । आचार्य नेतृत्वको विधान मस्यौदा समितिले ३५ जना मनोनीत गर्ने गरी विधानको मस्यौदा तयार गरेको थियो ।
‘केन्द्रीय सदस्यमा १०० जना निर्वाचनबाट चुनिने छन् भने सभापतिले ५० जना मनोनीत गर्ने छन् । केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य हुने व्यवस्था विधानमा गरिएको छ । यसले सभापतिलाई थप पावरफुल बनाउने छ ’, प्रवक्ता मनिष झाले भने ।
बालेनलाई विधानमै वरिष्ठ पद
विधानमा व्यवस्था नभएपनि वालेन्द्र शाह (बालेन) समूहलाई पार्टीमा समायोजन गर्दा वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो ।
महाधिवेशनपूर्व संशोधित विधानमा उक्त पद समेत थपिएको छ । यसले प्रधानमन्त्रीसमेत रहेका वर्तमान वरिष्ठ नेता बालेनलाई अटाउने छ ।
महाधिवेशनमा सभापति र वरिष्ठ नेताका लागि रवि र बालेन बाहेक कसैले उम्मेदवारी नदिने रास्वपाका नेताहरूले बताएका छन् । पार्टी स्थापनाको चार वर्षमै रास्वपा देशको शक्तिशाली दल बनेर सरकारको नेतृत्व गरेको छ । रास्वपामा पदाधिकारी बन्न धेरै नेताहरूले आकांक्षा राखेका छन् भने केन्द्रीय सदस्यमा समेत दोब्बर बढीले इच्छा देखाएका छन् ।
चितवनमा प्रारम्भ भएको प्रथम महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ता, शुभेच्छुकसहित अन्य राजनीतिक दलका नेताहरू समेत सहभागी छन् ।
३ हजार ९९० प्रतिनिधि सहभागी
रास्वपाको पहिलो महाधिवेशनमा ३ हजार ९९० प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक प्रतिभा रावलले यसबारे जानकारी दिएकी हुन् ।
त्यस्तै पर्यवेक्ष तथा शुभेच्छुक, शुभचिन्तकहरूको उपस्थिति रहने छ । महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने रावलको भनाइ छ ।
रास्वपाले यसपटक संस्थापक सभापति रवि लामिछानेलाई नै दोहो¥याउने करिब पक्का भएको छ ।
कठिन अवस्थामा पार्टी स्थापना गरेर अनेकन संघर्षका बाबजुद नागरिकको मनसँगै मत जित्न सफल लामिछानेको विकल्प खोज्ने अवस्था नरहेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
उनले भने, ‘यो महाधिवेशन एकताको महाधिवेन पनि हो । सभापति रवि लामिछानेकै परिकल्पना र उहाँको अथक संघर्षबाट रास्वपा देशकै ठुुलो र बहुुसंख्यक जनताले पत्याउने दल बनेको छ । यो अवस्थामा पहिलो ऐतिहासिक महाधिवेशनले पुनः उहाँलाई नै सर्वसहमतिमा सभापति बनाउँछ ।’
विधानमा पनि दुुई कार्यकाल सभापति हुन सक्ने व्यवस्था राखिएको उनले बताए । सभापतिमा प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेनको पनि समर्थन रविलाई नै हुने भएको छ । रविलाई सभापतिमा दोहोर्याउन बालेनलगायत पार्टीका शक्ति केन्द्रहरू सहमत भएको रास्वपा स्रोतको भनाइ छ । आगामी कार्यकालमा रवि नै शक्तिशाली सभापति बन्ने नेताहरूको दाबी छ ।
पुराना दललाई पनि निम्तो
रास्वपाले पुराना भन्दै आएका दलहरूलाई समेत महाधिवेशनमा शुभकामनाका निम्ति निम्तो गरेको छ ।
२०७९ असार ७ गते स्थापना भएको रास्वपाले चार वर्षमा आफ्नो पहिलो महाधिवेशन गर्दैछ ।
महाधिवेशनलाई भव्य बनाउन रास्वपाले राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको हो । तर महाधिवेशनलाई शुभकामना दिन नेपाली कांग्रेस बाहेक पुराना दलका शीर्ष नेताहरू नजाने भएका छन् ।
यद्यपि उनिहरूले पार्टीको प्रतिनिधि भने पठाउने तयारी गरेका छन् ।
दोस्रो ठुलो दल नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशनमा हुने छैनन् ।
रास्वपाले नेकपा संयोजक प्रचण्डलाई निम्ता दिएको भएपनि उनले नेता वर्षमान पुनलाई प्रतिनिधि पठाउने भएका हुन् ।
प्रचण्ड स्वास्थ्यउपचार गराइरहेकाले सहभागी हुन नसक्दा नेता पुनलाई पठाउने तय भएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
‘हिजोसम्म उहाँ जाने नै भन्ने थियो । हिजो बाहिर जानुभएको थियो । अलि गाह्रो भएको जस्तो भयो । उहाँ नियमित स्वास्थ्य जाँचमै हुनुहुन्छ । चिकित्सकले पनि दुई दिन रेस्ट गर्न भन्नुभएको छ । चितवन काठमाडौं भन्दा गर्मी पनि भएकाले उहाँको सहभागिता नहुने भयो,’ आचार्यले भने ।
प्रचण्ड जेठ १६ गते अस्पताल भर्ना भई केही दिन उपचारपश्चात डिस्चार्ज भएका थिए । उनी पूर्णरूपमा अझै ठिक भइनसकेका कारण रास्वपा महाधिवेशनमा सहभागी नहुने भएका हुन् । महाधिवेशनमा एमालेले भने केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई पठाउने भएको छ ।
त्यस्तै राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन नै सहभागी हुने तय छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सहभागी नहुने बताएका छन् । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।
विद्युतीय मतदान
रास्वपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेदवारहरूको नाम र फोटोमा छोएर मतदान गर्न सक्ने छन् । पहिलो चरणको मतदान गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ । केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ । केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ ।
उनले तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताए । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाइँदै छ । विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरूले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए ।
प्यानलगत प्रतिस्पर्धामा प्रतिबन्ध
पार्टीले आचारसंहिता नै बनाएर प्यानलगत प्रतिस्पर्धालाई रोक लगाएको छ । केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ । सकभर सर्वसहमतिमै कार्यसमिति चयन गर्नुपर्ने रास्वपाका सभापति रवि लामिछानेले केन्द्रीय समितिको अन्तिम बैठकमा बताएका छन् । चितवनस्थित महाधिवेशनस्थलमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा उनले स्वच्छ प्रतिस्पर्धा गर्न मातहतका नेताहरूलाई आग्रह गरे ।
महाधिवेशनस्थल तथा त्यसको आसपासका क्षेत्रहरूमा कुनै प्रकारका प्लेकार्ड, ब्यानर, फ्लेक्स, पर्चा वा पम्प्लेट प्रदर्शन र वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
‘निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुनेछ । निर्वाचनको क्रममा कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार–प्रसार गर्न वा गराउन पाइने छैन,’ आचारसंहितामा भनिएको छ । प्रचारप्रसार पनि निर्वाचन आयोगले उम्मेदवारी प्रमाणित गरेपछि मात्रै सुरू गर्न सकिने आचारसंहितामा उल्लेख छ । त्यस्तै प्रचारप्रसारमा अधिकतम २×२ फिट साइजको एउटा मात्रै पोस्टर प्रयोग गर्न पाइने आयोगले जनाएको छ ।
पहिलो महाधिवेशनअघि केन्द्रीय समितिको अन्तिम बैठकमा सभापति लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र कुण्ठित नगरिने बताए । ‘पार्टीका साथीहरूको अधिकार कुण्ठित गरियो भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउँछ’, उनले भने, ‘एउटा घरमा हुने दुर्घटना वा समाजमा हुने दुर्घटनाभन्दा राजनीतिक पार्टीमा हुने दुर्घटनाको मूल्य देशले निकै ठुलो चुकाउनुपर्छ, त्यसैले आन्तरिक लोकतन्त्र कुण्ठित गरिने छैन ।’