
काठमाडौं : नेपाली राजनीतिमा आज एउटा रोचक दृश्य देखिँदैछ । प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा — एकै मञ्चमा देखिँदै छन् ।
चितवनमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा तीन नेता एकै मञ्चमा देखिन लागेका हुन् । भरतपुरको गेस्ट हाउस चउरमा महाधिवेशनको उद्घाटन हुनेछ । महाधिवेशनका लागि रास्वपा सभापति रवि लामिछाने लगायत पदाधिकारी र प्रतिनिधिहरू केही दिन देखि नै चितवनमा छन् ।
पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह आइतबार नै भरतपुर पुगेका छन् । पहिलो महाधिवेशनको उद्घाटन समारोहमा रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई निम्ता गरेको थियो । सहभागी हुने नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् । नेकपा एमालेले पदाधिकारी तहका नेता पनि नपठाउने भएको छ ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट पनि शीर्ष तहका नेताको सहभागिता नहुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् । श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधि समेत सहभागी नहुने भएको छ।