
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विधि, नीति र संस्थागत प्रणालीमा आधारित सरकार सञ्चालन गर्ने लक्ष्यका साथ आफूहरू राजनीतिमा आएको बताएका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले पुरानो पुस्तासँग लड्न नभई नयाँ राजनीतिक संस्कार स्थापना गर्न आफ्नो पार्टी उदाएको बताए । उनले मुलुकमा जिम्मेवार, पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यासको आवश्यकता रहेको उल्लेख गरे ।
‘हामी पुरानो पुस्तासँग लड्न आएका होइनौं, नयाँ राजनीतिक संस्कार कायम गर्न आएका हौं’, उनले भने, ‘राजनीतिलाई व्यक्तिकेन्द्रित होइन, विधि र नीतिमा आधारित बनाउन चाहन्छौं ।’
वाग्लेले नयाँ पुस्ताले केवल विरोध गर्न मात्र नसक्ने, देशलाई सही दिशा दिन सक्ने क्षमता पनि राख्छ भन्ने प्रमाणित गर्न रास्वपा प्रतिबद्ध रहेको बताए । उनले युवापुस्ताको ऊर्जा, सीप र सोचलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो,’ उनले भने, ‘जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्कन थाल्यो त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो । त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा ।’
अहिले आफूहरू नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएको जिकिर गरे ।