मुलुक एकसाथ दुई उत्सवमा होमिदैछ । वर्षेनि आउने ठूला चाडहरुकै बीचमा आमचुनाव हुँदैछ । दशैं, तिहार, नेपाल सम्वत, उभौली, क्रिसमस लगायत चाँडहरुकै बीचमा आमनिर्वाचन हुनेछ । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्दैछ । यो चुनावको तयारीमा सरकार, राजनीतिक दल र निर्वाचन आयोग केन्द्रीत छ । दलहरुले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ । मंसिर १६ गतेसम्म बन्दसूचीले अन्तिम रुप लिनेछ । यसपछि प्रत्यक्षतर्फको उम्मेद्वार चयन प्रक्रिया शुरु हुनेछ । उम्मेदवार चयनसँगै सरकार र निर्वाचन आयोगले मतदानको प्रक्रियालाई तीव्र पार्नेछ । त्यो तीव्रतामा दल र मतदाताहरु पनि सँगै होमिनेछ । अर्कातिर यसपटकको चाडबाड चुनावमय हुनेछ ।
चाडबाड वर्षेनि आउने भएपनि आमचुनाव पाँच वर्षमा एकपटक हुन्छ । त्यसैले चाडहरु भन्दा चुनावतिर धेरैको चासो हुनसक्छ । लोकतन्त्रका लागि चुनाव र सांस्कृतिक–सामाजिक एकताका लागि चाडहरु नियमित प्रक्रिया हुन् । त्यसैले दुवैका निम्ति आमसमाज तयार हुँदैछ । यसको प्रत्यक्ष असर भने उपभोग्य वस्तुहरुमा देखिने लगभग पक्का छ । चुनावी गतिविधि र चाडहरुको तयारीमा धेरै उपभोग्य वस्तु खरीद–विक्री हुँदा मूल्य बृद्धि हुनु बजारशास्त्रको स्वभाविक नियम हुन् । त्यसैले मूल्यबृद्धिको मार नागरिकमा पर्नेछ । यसर्थ सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ । त्यसैपनि मूल्यबृद्धिको मार नागरिकले खेप्दै आएको छ । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असरका कारण आयातित वस्तुहरुको मूल्य आकाशिएको छ ।
दक्षिण एसियाली मुलुक श्रीलंकाको खतरा नेपालमा पनि रहेको कतिपयको आंकलन छ । अर्को मुलुक पाकिस्तानको अर्थतन्त्र पनि नराम्रोसँग खल्बलिएको छ । विश्वबजारसँग प्रत्यक्ष जोडिन पुगेको नेपालमा पनि विश्वब्यापी संकटको खतरा तत्काल आउनपुग्न सक्छ । अझ कोरोना महामारीको विश्वब्यापी प्रकोपले अर्थतन्त्र सामान्य अवस्थामा फर्कन सकेको छैन । लामो समय भएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित बनेको थियो । जसको असर खेपिरहेको मुलुकले विश्वब्यापी आर्थिक संकटको जोखिमबाट जोगिनुपर्नेछ । त्यस्तो बेला हुन लागेको चुनाव र सामुन्नेको चाडहरुमा बजार मूल्यांकन सरकारको प्रमुख दायित्व हो । कम्तिमा कृतिम मूल्यबृद्धि र अभाव सिर्जना हुन नदिदा थोरै भएपनि राहत नागरिकलाई मिल्नेछ । राज्यको अनुभूति नागरिकलाई दिलाउने भनेको पनि अप्ठ्यारो समयमा हो । सहज परिस्थितिमा त नागरिकले नै राज्यलाई सहयोग पुर्याइरहेको हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies