२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

चितवनबाट रवि र बालेनले दिएका दुई सन्देश

Nada
जनक नेपाल
२०८३ असार ७ गते २१:००
Shares
चितवनबाट रवि र बालेनले दिएका दुई सन्देश

त्यसै त चर्को गर्मी । त्यसमाथि रास्वपाको पहिलो महाधिवेशनले गर्माएको चितवनबाट आइतबार बिहानैदेखि एउटा भिडियो भाइरल भयो । उर्जामन्त्री विराजभक्त श्रेष्ठ महाधिवेशनस्थल पुग्दैथिए । रास्वपाका समर्थक एक युवाले उनलाई रोकेरै दुई सुझाव दिए । एउटा हर्क साम्पाङलाई ‘तह लगाउने’ उपायसँग सम्बन्धित छ भने अर्को पार्टीमा मौलाएको गुटबन्दीबारे । 
‘हर्कले संसद्मा तहसनहस पारेको छ । उसलाई मुद्दा चलाउनुपर्छ’ यति भनिसकेर उनी पार्टी विवादमा छिर्छन् । ‘पार्टीमा गलत प्रवृत्तिका मान्छे प्रवेश गरेका छन् । उनीहरुले फाइदाका लागि जिल्ला र नगरमा गुट बनाएका छन् । सभापति रवि दाइ नभए एकदम राम्रो हुनेवाला छ’, उनले भनाइ टुंग्याए । 

ncell

झट्ट सुन्दा दुई तिहाइ बहुमतप्राप्त दलको महाधिवेशनका लागि यो निकै सानो घटना हो । तर, रास्वपा समर्थकको त्यो चिन्ता सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहको मन्तव्यमा पनि झल्किनुले पार्टीमा विश्वासको संकट देखाएको छ । त्यो चिर्न दुई नेताले महाधिवेशन उद्घाटन सत्रमै निकै कोसिस गरेका छन् । 

प्रचण्ड गर्मीले प्रतिनिधि एवं कार्यकर्ताहरु मोहीका लागि हारालुछ गरिरहेका थिए । तर, उद्घाटन सत्रको मन्चमा शुभकामना दिन विपक्षी दलका नेताहरु पुगिसकेका थिए । अतिथिलाई झण्डै एक घण्टा मन्चमा कुराइसक्दा पनि सभापति लामिछाने र प्रधानमन्त्री बालेन सभास्थलमा पुगेका थिएनन् । उनीहरु पुग्दा पानी परिरहेको थियो । 

प्रधानमन्त्री बालेनले हाँकेको गाडीबाट सभापति लामिछाने छाता लिएर ओर्लिए । उनले बालेनलाई एउटै छातामा ओत दिन चाहेका थिए । तर, बालेन अर्को छाता लिएर आधा भिज्दै मन्चतिर लागे । बालेन–रविको स्वागतमा सिंगो हल हुटिङ गरिरहेको थियो । दुवैले हात हल्लाउँदै र हात समाएर संयुक्त अभिवादन गरे । मन्चमा बस्दासमेत उनीहरु खासखुस चलिरहेकै थियो । त्यसैतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एकता जोगाउन सचेत गराए । अहिलेको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘आसेपासे, बाहिर–भित्रका शक्तिहरूले रवि ठुलो कि बालेन ठुलो ? भनेर त्यहाँ खेलिदिन सक्छन् । त्यसबाट जोगिनुहोला ।’

ती आशंका चिर्नेगरी नै दुबै नेताले बोलेका छन् । सभापति लामिछानेले विश्वकपको माहोलमा बुझिने भाषामा रास्वपाले चुनावअघि नै बालेनको खुट्टामा बल पु¥याइसकेको बताए । ‘अब फटाफट गोल हान्ने जिम्मा बालेनजीको’ उनले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने फेरि बालेनलाई नै पास गर्ने जिम्मा मेरो ।’

आफू र बालेनबीच सम्बन्ध बिगार्न चुक्ली लगाउनेहरु पनि रहेको उनले बताएका छन् । ‘यहाँ मुख मिठ्याउनेहरु धेरै छन् । चुक्ली लगाइ दिनेहरु पनि धेरै छन् । म तीनलाई जवाफ दिन होइन इतिहासलाई जवाफ दिन खडा भएर बोलिरहेको छु’, सभापति लामिछानेले भने । 

पहिलो महाधिवेशनभन्दा अघि नै दुई तिहाईको जनमत पाएको संसारको कुनै दललाई आफूले नभेटाएको उल्लेख गर्दै लामिछानेले थपे, ‘आजको दिन बितेर जानेछ । भोलि सन्ततिले सोध्नेछन् । इतिहासले तिमीहरुलाई मौका दिएको थियो । यो मौका किन गुमाउन दियौं भन्नेछन् । त्यसैले यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं ।’ 

रविले बोल्नुअघि वरिष्ठ नेता बालेनले आफ्नो समूहमाथि लागेको गुटबन्दीको आरोपको प्रष्टिकरण दिइसकेका थिए । रास्वपामा समूहको नाममा बिउ रोप्न नहुने उल्लेख गर्दै उनले भने, ‘गुटउपगुटमा नलाग्नुहोस् । राम्रो राजनीतिज्ञ बन्न एउटा समूहको मायाले मात्र पुग्दैन्, सबैको माया चाहिन्छ ।’ 

शीर्ष नेताद्वयले आपसी सम्बन्ध हार्दिक रहेको देखाउन कुनै कसुर बाँकी राखेनन् । कार्यक्रममा इन्ट्री हुँदा होस् वा घण्टी बजाएर उद्घाटन र भाषण गर्न जानुअघि उनीहरुले पटकपटक हात मिलाए, अंकमाल गरे । मुस्कान साटे । दुबै नेतालाई बराबर महत्व दिइएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री बालेनले चलाएको गाडीमा सँगै आएका रवि होटल फर्किँदा पनि सँगै गए । हाउभाउ र मन्तव्यबाट उनीहरुले मुख्यतः दुई सन्देश दिएका छन् । पहिलो, सभापति लामिछानले बालेनको कुर्सीमा आँखा लगाएका छैनन् । दोस्रो, वरिष्ठ नेता बालेनले सभापति लामिछानेलाई अप्ठेरो पार्नेगरी गुटबन्दी गर्ने छैनन् । यसबाट उनीहरुले एकअर्कालाई आश्वस्त पार्न चाहेको प्रष्टै देखिन्थ्यो । 

तर, महाधिवेशनस्थलमा दुई समूह भने अलग्गै छुट्टिएको थियो । गृहमन्त्री सुधन गुरुङ आफैले कुर्सी सारेर प्रधानमन्त्री बालेनको फ्रेममा पर्नेगरी ठिक पछाडि आएर बसेका थिए । अनि, उद्घाटनसत्रको संचालन पनि महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भुपदेव शाहले पालैपालाे गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर