
चितवन : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन खोजे पनि प्रस्ट जवाफ दिएनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनस्थल चितवनबाट उनले भने, ‘मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन ।’
तर, उनले गत जेठ १७ गते प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई प्रस्ट्याउन खोजेनन् । प्रधानमन्त्री शाहले सदनमा भनेका थिए, ‘भारतले मात्रै होइन, म प्रधानमन्त्री भएपछि मात्रै थाहा भयो, नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ ।’ उनको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरिरहेकै छन् । संसद्बाटै यसबारे प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।
चितवनबाट शाहले आफ्नो राष्ट्रवादमा कुनै पनि शंका नराख्न आग्रह गर्दै सीमा सम्बन्धमा आफ्नो अभिव्यक्तिलाई लिएर चिन्ता नगर्न भनेका हुन् । ‘हामी हाम्रो छिमेकीसँग आफै कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ । हामी ल्याउँछौं । त्यो कुरा ल्याउँछौं । यसमा आशंका मान्नुपर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन । कसैले मान्नुपर्दैन,’ उनले भने । भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता नखोजेको पनि उनले बताए ।
‘ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं,’ उनले भने । प्रधानमन्त्री बालेनले जेठ १७ गते प्रतिनिधि सभाको रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति विपक्षी दल र नागरिकस्तरमा समेत प्रधानमन्त्री बालेनको चर्को आलोचना भइरहेको छ । त्यस बेलाको अभिव्यक्तिबारे प्रधानमन्त्री बालेनले पार्टीको महाधिवेशनमा प्रस्ट पार्न खोजे पनि नेपालले भारतको जमिन मिचेको भन्ने प्रसंगलाई भने खुलाउन चाहेनन् । भारतले नेपालको भूभाग मिचेको विषय लामो समय अघिदेखि नै एजेन्डा भए पनि प्रधानमन्त्री शाहले सदनबाट नेपालले भारतीय जमिन मिचेको भन्ने प्रसंग अहिले राजनीतिमा सबैभन्दा बढी बहसको विषय बनेको छ । यस सन्दर्भमा न रास्वपाले आफ्नो धारण सार्वजनिक गरेको नत प्रधानमन्त्रीले नै प्रस्ट पारेका छन् । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई कांग्रेस सभापति गगन थापाले रास्वपा महाधिवेशनमा शुभ–कामना दिनेक्रममा कोट्याएका थिए ।