२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा महाधिवेशन : स्थिरताको सन्देश

Nada
जीवन शर्मा
२०८३ असार ८ गते ०६:४०
Shares
रास्वपा महाधिवेशन : स्थिरताको सन्देश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारबाट चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा जारी छ । पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) महाधिवेशनमा जाने–नजाने संशयकै बीच सभापति रवि लामिछानेसँगै चितवन पुग्दा कार्यकर्ताले भव्य स्वागत गरे । 

ncell

सभापति लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनले घण्टी बजाएर प्रथम महाधिवेशनको संयुक्त उद्घाटन गरे । उद्घाटन समारोहमा रवि बालेनबीचको सौहार्दताले दुई नेताबीचको सम्बन्धका बारेमा सार्वजनिक रूपमा सुरु भएका टीकाटिप्पणीलाई निस्तेज पारिदिएको छ । 

उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै दुवै नेताले आगामी पाँच वर्ष आ–आफ्नो जिम्मेवारी सम्हाल्ने पूर्ववत् सहमति कार्यान्वयन गर्ने सन्देश दिएका हुन् । प्रधानमन्त्री बालेनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर दुई नेताबीच दूरी बढेको आकलन थियो । तर, सभापति लामिछानेले प्रधानमन्त्री पदमा दाबी नगर्ने संकेत गर्दै भने, ‘झुक्किएर खुट्टामा बल आए पनि त्यो बल पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्नेछु ।’

विपक्षी दलहरूले रवि र बालेनबीचको सम्बन्धमा असमझदारी आएको संकेत गरेका थिए । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाले स्थिरताका निम्ति सही ढंगले अघि बढ्नुपर्ने बताए । 

‘नेपालको राजनीतिमा रास्वपाले प्राप्त गरेको यो जनमत असाधारण छ । इतिहासमा तीन–चारपटक यस्तै खालको जनमत दलहरूले प्राप्त गरे, तर हरेकपटक त्यो जनमत दुर्घटनामा पर्‍यो, आफूलाई सम्हाल्न सकेनन् ।’ थापाले रास्वपामा पनि दुर्घटना हुन सक्ने संकेत गरेका हुन् । उनले रास्वपामा विगतमा विभिन्न दलमा देखिएजस्तो आन्तरिक विवाद उत्पन्न नहोस् भन्ने आग्रह गरेका थिए । 

महाधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना दिनेक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि रास्वपाभित्र बाहिरबाट खेल्न खोज्नेहरू भएकाले सतर्क रहन आग्रह गरे । उनले भने, ‘हामी मान्छे हौं, हामीभित्र स्वार्थी–लोभीपना अलिअलि हुन्छ पनि । अनि अरू आसेपासे, बाह्य र विभिन्न भित्रका शक्तिले पनि खेलेर कोभन्दा को ठुलो ? रवि ठुलो कि बालेन ठुलो ? भनेर त्यहाँ खेलिदिन सक्छन् । त्यो खतरा म देख्छु ।’ भट्टराईले आगामी १०–१५ वर्षसम्म राजनीतिक स्थिरता पाओस् भन्ने आफ्नो चाहना रहेको भन्दै दुई नेताबीचको सम्बन्धमा दरार आउन नहुने बताए । 

रास्वपाभित्रको आन्तरिक असमझदारी देखिएको विषयलाई उनले संकेत गर्दै सुझाव दिएका हुन् । नेताहरूको अभिव्यक्ति सुनिसकेपछि रास्वपा सभापति लामिछानेले आन्तरिक असमझदारीको सन्दर्भलाई कार्यकर्तामाझ प्रस्ट्याएका छन् । लामिछानेले सरकार सञ्चालनबारे चुनावअघि नै सहमति भएको उल्लेख गरे । ‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनावअघि नै वालेन्द्र शाहको खुट्टामा बल पु¥याएको छ । अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हो,’ लामिछानेले भने । 

लामिछानले बल पास गर्ने बताएपछि प्रधानमन्त्री वालेन्द्र शाह खुलेर हाँसेका थिए । त्यस्तै, रास्वपाका कार्यकर्ताले उठेर सम्मान प्रकट गरेका थिए । लामिछानले थपे, ‘म इतिहासलाई जवाफ दिन खडा भएको छु । आज जन्मेकाहरूले मात्र होइन, भोलि जन्मनेहरूले पनि मलाई र बालेनलाई प्रश्न गर्नेछन् । यो मौका किन गुमाउन दियौं । हामी त्यो प्रश्न भाँच्न चाहन्छौं । यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं ।’ 

प्रधानमन्त्री शाहले पनि पार्टीमा एकता कायम गर्ने सन्दर्भमा तीन दिनसम्म चितवनमा बसेर छलफल गर्ने र बाँकी समय देश बनाउन लाग्ने बताए । महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेता बालेनले राम्रो नेता बन्न समूह बनाउने नभई आमजनताको मन जित्नेगरी काम गर्न आग्रह गरे । उनले भने, ‘एउटा योग्य नेता बन्नलाई जनताको माया जित्नुपर्छ कुनै समूहको मायाले हुँदैन । त्यही भएर समूह बनाउनतिर नलाग्नुुहोला । त्यस्तो बीउ अहिले नै नरोप्नु कि त्यो बीउ भोलि रुख बनेर बीचबाट फाँड्नु नपरोस् ।’

सभापति लामिछाने र प्रधानमन्त्री शाहका भनाइप्रति महाधिवेशनमा सहभागी कार्यकर्ता उत्साहित देखिएका छन् । दुुवै नेताले आफ्ना प्रतिबद्धतासहित विगतका सहमति र आगामी यात्राबारे स्पष्ट पारेका हुन् । एकताको सन्देशसहित आगामी पाँच पार्टी र सत्ता मिलेर चलाउने नेताद्वयको प्रतिबद्धताले आमकार्यकर्तामा थप उत्साह ल्याएको देखिन्छ । महाधिवेशन उद्घाटन सत्रमा उपसभापति डा.स्वर्णिम वाग्लेले स्वागत मन्तव्य राखे भने रास्वपाका दुुई नेताबाहेक कसैले बोल्न पाएनन् । महाधिवेशनको औपचारिक कार्यक्रममा अन्य राजनीतिक दलबाट सहभागी अतिथिहरूले शुभ–कामनासहित आन्तरिक एकताका कायम राख्न सुझाव दिए । रास्वपाको महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) र भारतीय जनता पार्टी (बिजेपी)ले शुभकामना सन्देश पठाएका थिए ।  

राजनीतिक संवादको थलो बन्यो महाधिवेशन  

दलहरूबीच संवादहीनताको अवस्थालाई रास्वपाको यो महाधिवेशनले तोडेको छ । प्रतिनिधिसभा निर्वाचनपछि रास्वपा र अन्य दलका नेताहरूबीच सार्वजनिक रूपमा एउटै मञ्च प्रयोग गर्ने अवसर महाधिवेशनले जुराएको हो । सरकारको नेतृत्व गरेको रास्वपाले संसद् सूचारु गराउने विषयमा एकपटक अन्तरपार्टी संवाद गरेको थियो । विपक्षी दलहरूले सरकारको कार्यशैलीलाई लिएर लामो समयदेखि गरेको सदन अवरोधलाई हटाउन सभापति रवि लामिछानेले सबै दलका शीर्ष नेतासँग संवाद गर्न चाहे पनि दलहरूका शीर्ष नेता नगएर प्रतिनिधि पठाएका थिए । 

रास्वपाको पहिलो महाधिवेशनमा दोस्रो ठुलो दल नेपाली कांग्रेसका सभापति गगन थापा, एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतले सम्बोधन गरेका थिए । सबै दलका शीर्ष नेताहरूबीच एउटै मञ्चबाट शुभकामना आदानप्रदानसँगै आगामी राजनीतिक संवादका लागि ढोका खुलेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाले चार वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरे । थापाले रास्वपाको जनसमर्थनको प्रशंसा गर्दै भने, ‘पार्टी गठन भएको चार वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु ।’ 

इतिहासमा करिब तीन–चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्रायः सबै दुर्घटनामा परेको स्मरण गराए । ‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ, तपाईंहरू सबै बधाईको पात्र हुनुहुन्छ,’ सभापति थापाले भने । उनको भनाइलाई रास्वपाका समर्थकले तालीले स्वागत गरे । थापाको यो अभिव्यक्तिले आगामी दिनमा रास्वपासँग विगतमा बिग्रिएको सम्बन्धलाई सुधार गर्न राजनीतिक संवादको ढोका खुलेको रूपमा हेरिएको छ ।  

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर बताए । ‘तपाईंहरू सेन्टरमा उभिनुस् वा राइट वा लेफ्टमा ढल्किनुस्, त्यो ठुलो कुरा होइन । मुख्य कुरा गरिखाने जनताका लागि केही गर्ने पार्टी बन्नुस्,’ उनले भने । ज्ञवालीले सरकार निर्माण भएको थोरै समयमै केही प्रश्न उठेको टिप्पणी गरे । राष्ट्रपतिलगायत राज्यका संस्थाहरू कमजोर बनाउन नहुने भन्दै उनले भने, ‘यदि संस्थाहरू कमजोर भए भने प्राप्त जनमत सधैंभरि नरहन सक्छ । लोकतन्त्रमा सबै संस्थाहरू बलियो हुनुपर्छ ।’ नेता ज्ञवालीले रवि लामिछाने सभापति र बालेन्द्र शाह वरिष्ठ नेता चयन हुन लागेकोमा बधाई ज्ञापन गर्दै महाधिवेशनले नेतृत्व मात्र नभई पार्टीको स्पष्ट नीति र कार्यदिशा तय गर्नुपर्ने बताए । रास्वपाप्रति अलि गरम देखिएका एमाले नेताको उपस्थितिले आगामी दिनमा रास्वपासँगको थप राजनीतिक संवादका भने केही सहजता हुने बताइएको छ । 

महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले रास्वपालाई विशाल जनमतसहितको सत्तारुढ दलको यो महाधिवेशनलाई सिंगो देशले हेरिरहेको बताए । ‘तपाईंहरूको महाधिवेशनमाथि धेरैको आँखा छ कि महाधिवेशनबाट तपाईंहरूले कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई नै प्रभाव पार्दछ ।’ उनले रास्वपा र आफ्नो दल सुशासन, समृद्धि र विकासका लागि सबैभन्दा बढी सहकार्य गरेको विगतको विषयलाई समेत कोट्याए । ‘हामीलाई तपाईंहरूको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरूबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस् भन्ने चाहन्छौं । यो पहिलो महाधिवेशनले तपाईंहरूलाई वैचारिक तथा संगठनात्मक दिशानिर्देश एवं स्पष्टता प्रदान गर्ने गर्नेछ भन्ने शुभेच्छा प्रकट गर्दछु,’ उनले भने । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको भोट पनि रास्वपाले पाएको भन्दै बालेनले राजा ल्याउँछ भन्ने आशा जनतामा रहेको बताए । लिङ्देनले भने, ‘राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालोनले राजा ल्याउँछ भनेर तपाईंहरूलाई भोट दिएका छन् । जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ ।’ तपाईंहरूसित ऐतिहासिक अवसर छ । हामी पनि राजासहितको हिन्दु राज्यको विषयमा छलफल गर्न चाहन्छौं ।’

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानमा संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण पक्ष परिमार्जन र संशोधन गर्न रास्वपासँग सहकार्य गर्ने बताए । ‘संविधान संशोधन र परिमार्जन गरी यसलाई पूर्ण बनाउने जिम्मेवारी अब यहाँहरूको काँधमा छ । त्यसमा हामी सहकार्य गर्न तयार छौं,’ उनले भने । मुलुकको समग्र परिवर्तनका लागि पुराना खराब आचरणको अन्त्य गर्दै नयाँ सुरुवात गर्न र देशलाई सही दिशामा डोर्‍याउन रास्वपालाई सफलताको शुभ–कामना व्यक्त गरे । 

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउतले इतिहासमा नदेखिएको समर्थन र आमजनताको अगाध माया रास्वपाले पाएको भन्दै जनतालाई हृदयमा राखेर काम गर्न आग्रह गरे । रास्वपाको ऐतिहासिक सफलताको उनले खुलेर प्रशंसा गरे ।

ताजा खबर

सम्बन्धित खबर