
काठमाडौं : शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससिएसएमएफ) ले नेपाली खेलकुदमा विशिष्ट योगदान पुर्याउने दुई चर्चित व्यक्तित्वहरूलाई 'एससिएसएमएफ स्पोर्ट्स अवार्ड २०२६'बाट सम्मान गरेको छ । मंगलबार काठमाडौंको होटल रोयल सिंगीमा आयोजित एक विशेष समारोहका बीच वरिष्ठ बक्सिङ खेलाडी तथा ओलम्पियन उमेश मास्के र नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेलाई यो सम्मान प्रदान गरिएको हो ।
पुरस्कार स्वरूप दुवै खेल व्यक्तित्वहरूलाई जनही २ लाख ५० हजार नगद र कदरपत्र प्रदान गरिएको थियो । फाउन्डेसनले खेलकुद क्षेत्रका पुराना र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।
यस वर्ष सम्मानित भएका उमेश मास्केले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेको थियो । उनले नेपाल बक्सिङ संघको अध्यक्ष र कोषाध्यक्षको रूपमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालमा बक्सिङ खेलको विकास र प्रवर्द्धनमा आजीवन योगदान दिएका छन् ।
त्यसैगरी, क्रिकेटतर्फ सम्मानित भएका सन्दीप लामिछाने विश्वप्रसिद्ध इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले हालै मात्र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा विश्वकै सबैभन्दा छिटो २०० विकेट लिने ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन् । व्यस्त खेल तालिकाका कारण देश बाहिर रहेका सन्दीपको तर्फबाट काठमाडौं जिल्ला क्रिकेट संघका सचिव किरण श.ज.ब. राणाले सम्मान ग्रहण गरेका थिए । सन्दीपले भिडियो सन्देशमार्फत सम्मानका लागि खुसी व्यक्त गर्दै स्वर्गीय शरद चन्द्र शाहाको योगदानको स्मरण गरेका थिए ।
नेपाली खेलकुदका दूरदर्शी व्यक्तित्व एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव स्वर्गीय शरद चन्द्र शाहाको स्मृतिमा यो फाउन्डेसनको स्थापना सन् २०२० मा भएको हो । उनी नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात गर्ने र 'ओलम्पिक मुभमेन्ट' ल्याउने प्रमुख व्यक्ति हुन् ।
यसअघि फाउन्डेसनले पहिलो संस्करणमा बैकुण्ठ मानन्धर र एरिका गुरुङलाई तथा दोस्रो संस्करणमा राजुकाजी शाक्य र अरुणा शाहीलाई सम्मानित गरिसकेको छ । खेलकुद क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहन र सम्मान गर्नु नै यस फाउन्डेसनको मुख्य उद्देश्य रहेको छ ।