२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा माओवादी

ADV
मध्यान्ह
२०८१ साउन २७ गते ०६:५०
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा माओवादी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव अगाडि सारेको छ । संविधान संशोधनका लागि सरकारले गृहकार्य अगाडि बढाउन खोजिरहेका बेला माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव अगाडि सारेको हो । 

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमै यो प्रस्तावमाथि छलफल भएको छ । स्थायी कमिटीको छलफलपछि कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि सार्ने नीति तय भएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको माओवादीको संस्थागत धारणा भएको उनले बताए ।

‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौं । संविधान निर्माणका बेला यही प्रस्ताव राखेका थियौं । अन्य दलहरू तयार नहुँदा नोट अफ डिसेन्ट पनि लेखेका थियौं’ सापकोटाले भने ।

नेपालको संविधान २०७२ जारी हुँदा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा थियो । अहिले पनि माओवादी केन्द्र प्रमुख प्रतिपक्षमै छ । संविधान जारी हुँदा सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले नै अहिले सरकार बनाएका छन् । प्रतिनिधि सभामा दुई ठूला दलले सरकार बनाउँदा संविधान संशोधन गर्ने सहितका विषयमा समझदारी गरेका छन् ।

कांग्रेस र एमाले नेतृत्वको सरकारले संविधान संशोधनका लागि आवश्यक गृहकार्य अगाडि बढाउन खोजिरहेका बेला माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव अगाडि सारेको हो । 

‘अस्थिरताको कुरा गरिँदैछ । कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको कुरा त हुन्छ, अन्यथा राष्ट्रपति फेरिँदैन । यसकारण प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले स्थायित्व दिन सक्छ’ सापकोटाले भने । 

प्रवक्ता सापकोटाका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही विषय स्थायी कमिटीको बैठकमा राखेका थिए । त्यसपछि यो धारणालाई संस्थागत रुपमै अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए । 

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको छ । हाम्रो प्रस्ताव अनुसार प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष कार्यकारी हुनेछन् ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise