
काठमाडौं : नेपाल कृषिप्रधान मुलुक भनेर चिनिँदै आएको छ । यस अर्थमा देशको मुख्य पेसा कृषि हो । तर, अझै पनि बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिब १६ हजार हेक्टर खेतमा सिँचाइको अभाव छ । त्यहाँका करिब पाँच हजार किसानले धान रोप्नका लागि श्रमदान गरेर कर्णाली नदीको पानी बाँध बाँधेर खेतमा लगेका छन् ।
बर्दिया नगरपालिका वडा नं. २ की गीता चौधरीलाई असार सुरु भएपछि मुख्य चिन्ता हुन्छ– खेतमा कसरी पानी पुर्याएर धानको बीउ राख्ने ? उनको मुख्य पेसा कृषि हो । मुख्य अन्न बाली धान हो । ‘पानी छैन, कसरी धानको बीउ राख्ने ? सधैं यही चिन्ता हुन्छ, खेतसम्म पानी आए सहज हुने थियो,’ उनले भनिन्, ‘ज्यान नै जोखिममा राखेर खोलामा बाँध बाँध्न जानुपर्ने अवस्था छ ।’
उनी मात्रै होइन, उनीजस्तै हजारौं किसान श्रमदान गरेर खोलाको पानी खेतमा लैजान बाध्य छन् । जथाभावी नदीजन्य पदार्थ उत्खननले त्यसमा पनि अवरोध पुग्दै आएको छ । खोलाहरू गहिरिँदै जाँदा खेतसम्म पानी पु¥याउन समस्या भएको छ ।
‘खोलाबाट पानी सिधै खेतमा आउँदैन, पानी ल्याउन हरेक वर्ष श्रमदान गर्नुपर्छ,’ बर्दियाका रमेश थारू भन्छन्, ‘खोला गहिरिँदै गएको छ, पानीको मुहान सुक्दै छन् ।’ जसकारण किसानहरूलाई खेतसम्म पानी पु¥याउन समस्या भएको उनी बताउँछन् । कर्णाली नदीको पानी खेतबारीसम्म ल्याउन प्रत्येक वर्ष स्थानीयले घर–घरबाट झालापाता प्रयोग गरेर नदीको बहाव परिवर्तन गरेर कुलोमा पानी ल्याउने गरेको उनले बताए ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई सरकारले धानको लागि सुपर जोन घोषणासमेत गरेको छ । तर, सिँचाइको चरम अभाव छ । धान खेतीलाई चाहिने मुख्य पानीको अभावमा पनि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानमा लगानीसमेत गरेको छ ।
बर्दियाका किसान त प्रतिनिधि पात्र मात्र हुन् । देशभरका किसानको अवस्था यस्तै छ । अझै पनि अधिकांश किसानको खेतमा सिँचाइ पुगेको छैन । वर्षाको समयमा खोलामा पानीको बहाव बढ्दा बाँध बाँध्नेक्रममा ज्यानै जाने गरेका दुःखलाग्दा घटना पनि ताजै छन् ।
राजापुर नगरपालिकाका प्रमुख दीपेश थारू पुस्तौंदेखि खोलामा श्रमदान गरेर खोलाको पानी खेतसम्म ल्याउने गरेको बताउँछन् । उनी भन्छन्, ‘बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका गरेर करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ गर्नका लागि पाँच हजारभन्दा बढी किसानले श्रमदान गर्छन्, श्रमदान नगरे त खेतमा पानी नै पुग्दैन । कसरी धान लगाउने ?’ खोलाको पानी खेतसम्म ल्याउनका लागि दीर्घकालीन योजना बनाउन पटक–पटक पहल गरेको उनी बताउँछन् । ‘किसानहरूले कहिलेसम्म ज्यान जोखिममा राखेर खेतमा पानी ल्याउने हो ?’ उनले भने, ‘हामीले धेरैपटक केन्द्रीय सरकारसँग छलफल गरिरहेका छौं ।’
१३ लाख ३२ हजार हेक्टरमा धान खेती गर्ने लक्ष्य
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित यस वर्ष २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ मनाइँदै छ । यस वर्ष कृषि विभागले १३ लाख ३२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य लिएको छ । विभागका उपमहानिर्देशक एवं प्रवक्ता राजेन्द्र कोइरालाका अनुसार एक लाख ६८ हजार हेक्टरमा धान खेती सम्पन्न भएको छ । ‘पहाडी क्षेत्रमा धान रोपेर लगभग सकिएको छ,’ उनले भने, तराईमा सुरु हुँदै छ । साउन १५बाट बल्ल धानको आधा बीउ रोपेर सकिन्छ ।’ विभागका अनुसार, नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत तथा कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत रहेको तथ्यांक छ ।
पछिल्ला वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० मेट्रिकटनबाट बढेर ४.१९ मेट्रिकटन पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरी ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धान उत्पादन भएको विभागले जनाएको छ ।
क्षेत्रफल घट्दै, उत्पादन बढ्दै
आ.व. २०७६/७७मा १४ लाख ५८ हजार ९१५ हेक्टरमा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिकन धान उत्पादन भएको थियो । पछिल्लो पाँच वर्षसम्म आइपुग्दा आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो । धानबालीको उत्पादकत्व ३.८० मेट्रिक टनप्रति हेक्टरबाट वृद्धि भएर ४.१९ मेट्रिक टन प्रति हेक्टर भएको विभागका प्रवक्ता कोइरालाले बताए । ‘पछिल्लो वर्षहरूमा धानबालीको क्षेत्रफल क्रमश घट्दै गए तापनि उन्नत बीउ विजन तथा मलखाद प्रयोगमा वृद्धि भएका कारण उत्पादकत्वमा पनि धानबालीको कूल उत्पादन वृद्धि भएको छ,’ उनले भने ।
नेपालमा करिब ७० लाख मेट्रिक टन धान आवश्यक रहेकोमा उत्पादनका आधारमा करिब १० लाख मेट्रिक टन अपुग भएको उनले बताए । ‘विगत केही वर्षमा उपभोक्ताको खाने बानीमा आएको परिवर्तनका कारण मसिना तथा बासनादार चामलको माग वृद्धि हुँदा धान चामलको आयात समेत उल्लेख्य भएको छ,’ उनले भने ।