
अहिले हाम्रो देशले भोगिरहेको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार हो । भ्रष्ट र आचार मिलेर भ्रष्टाचार शब्दको निर्माण भएको हो । भ्रष्ट आचारबाट भ्रष्टाचार जन्मन्छ । भ्रष्टाचार सदाचारको उल्टो चरित्र हो । निजी फाइदाका लागि पद र शक्तिको दुरुपयोग गरी नाजायज रूपमा कमाइने धनसम्पत्ति भ्रष्टाचारअन्तर्गत पर्दछ । त्यसो त जसरी एउटा हातले ताली बज्दैन, त्यसैगरी एक्लो पहलबाट मात्र भ्रष्टाचार हुन सक्दैन । खराब राजनीतिक नेतृत्व र उस्तै प्रवृत्तिका कर्मचारी वा जनता भएमा मात्र भ्रष्टाचार हुने गर्दछ । आफ्नो दुनो सोझ्याउनका लागि जनताले कर्मचारी वा नेतालाई दिने कमिसन वा कोसेलीको चलनले नै भ्रष्टाचार बढेको हो । जसले जे जसरी लिने वा दिने गरे पनि घुस लिने र दिने दुवै बदमास हुन् । दुवै भ्रष्ट हुन् । पृथ्वीनारायण शाहका शब्दमा, ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन् ।’
युनानी दार्शनिक प्लेटोले, ‘सार्वजनिक मामिलाप्रति उदासीन हुनेहरूको मूल्य दुष्ट मानिसहरूको शासन स्विकार्नु हो’ भनेका थिए । उनको यो विचार नेपाली समाजमा सान्दर्भिक देखिन्छ । जबसम्म गलत कार्य गर्ने र गराउनेलाई सामाजिक वा नैतिक दबाब पर्दैन, तबसम्म भ्रष्टाचार निर्मूल हुन सक्दैन । यस्तै भइरहेको छ ।
भ्रष्टाचारको जालो राजनीति र प्रशासन क्षेत्रमा मात्र खोजेर पुग्दैन । यसको बीउ समाज, सोच, व्यवहार र संस्कृतिमा लुकेको छ । सेवाग्राहीले कुनै काम छिटो गराउन, अनुचित सुविधा प्राप्त गर्न वा आफ्नो स्वार्थ पूरा गर्न पैसा दिएर काम गराउने अभ्यासका कारण भ्रष्टाचार नियन्त्रण गर्न कठिन भएको हो । यस अनैतिक कार्यमा कुनै न कुनै रूपमा भ्रष्टाचार गराउने, प्रोत्साहन गर्ने वा मौन समर्थन गर्ने पक्षहरू हुन्छन् । जब समाजले व्यक्तिगत स्वार्थका लागि नियम, कानुन र नैतिक मूल्यलाई बेवास्ता गर्दछ, तब भ्रष्टाचारले संस्थागत रूप लिन्छ । यस अर्थमा भ्रष्टाचार नियन्त्रण गर्न घुस लिनेलाई मात्र होइन, दिनेलाई पनि दण्ड–सजायको व्यवस्था हुनु आवश्यक देखिन्छ ।
यो मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नियम, कानुन तथा नियन्त्रण र नियमन गर्ने निकायको अभाव छैन । राज्यले भ्रष्टाचार नियन्त्रण, अनुसन्धान, अनुगमन र सुशासन प्रवर्धन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दर्जनौं कार्यालय सञ्चालन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत, केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा परीक्षकको कार्यालयलगायत संस्थाहरू साइनबोर्ड राखेर बसेका छन् । तर यी संस्थाभन्दा भ्रष्टाचारीहरू बढी सक्रिय देखिन्छन् । यसरी हेर्दा नीति–नियमले मात्र भ्रष्टाचार नियन्त्रण हुँदो रहेनछ । भ्रष्टाचार नियन्त्रण गर्न नागरिक चेतना, नैतिकता र सामाजिक उत्तरदायित्वजस्ता नागरिक मूल्य र मान्यतामा जोड दिनुपर्दछ ।
समाजको आचरण नै भ्रष्ट भएपछि भ्रष्टाचार नियन्त्रण गर्न स्थापना भएका निकायले अपेक्षित परिणाम दिन सक्दैनन् । देशका हरेक क्षेत्रमा भ्रष्टको बिगबिगी छ । भ्रष्टाचार विकास र सुशासनका लागि ठुलो चुनौती बनेको छ । जब देशमा योग्यताभन्दा पैसा र पहुँचले काम गर्छ, तब राज्यका संयन्त्र कमजोर बन्दै जान्छन् । यिनीहरूमाथि जनताको विश्वास पनि कमजोर हुँदै जान्छ । सार्वजनिक सेवाबाट जनताले दुःख पाउँछन् । समाजमा असन्तोष बढ्दै जान्छ । यस कोणबाट हेर्दा भ्रष्टाचार केवल दुई पक्षबीचको लेनदेनको विषय मात्र नभई यसले सिंगो समाजलाई नैतिक पतनतर्फ उन्मुख गराउँछ । राष्ट्रको अन्तर्राष्ट्रिय छवि गिराउँछ । देशको नैतिक धरातल नष्ट गर्छ । लोकतान्त्रिक मूल्य र मान्यता आवरणमा मात्र सीमित हुन्छन् । व्यवहारमा लागू हुन सक्दैनन् ।
भ्रष्टाचाररहित सभ्य, शिष्ट, नैतिकवान तथा कर्तव्यनिष्ठ समाज निर्माणका लागि सिंगो समाज नैतिकवान् हुनु आवश्यक हुन्छ । समाजलाई सचेत, सभ्य, शिष्ट तथा कर्तव्यनिष्ठ बनाउन नागरिक शिक्षाका विषयवस्तुको ज्ञान आवश्यक पर्दछ । नागरिक शिक्षाले समाजलाई अनुशासित, नैतिकवान तथा कर्तव्यनिष्ठ बनाउन सचेत गराउँछ । पढ्दा र सुन्दा तितो लाग्ने, तर समाजको कटु सत्य के छ भने भ्रष्टाचार गर्ने र गर्न सहयोग गर्नेहरू अशिक्षितभन्दा शिक्षित नै धेरै छन् । प्रकृतिवादी दार्शनिक रुसोले शिक्षालाई आचरण निर्माणको माध्यम भनेका छन् । हाम्रो शिक्षाले चरित्रवान, इमानदार तथा कर्मशील जनशक्ति उत्पादन गर्न नसकेको अवस्था छ । रुसोले भनेझैं शिक्षाले शिक्षितहरूमा किन असल आचरण निर्माण गर्न सकेन भन्ने कोणबाट सोच्ने बेला आएको छ । असल आचरण भएका व्यक्तिहरू शासक, प्रशासक तथा नागरिक भएको भए घुस खाने र खुवाउने काम हुने थिएन । समाज सदाचारी हुने थियो । व्यभिचार बढ्ने थिएन ।
भ्रष्टाचारमुक्त राजनीति, प्रशासन र समाज निर्माण गर्न नागरिक शिक्षाअन्तर्गतको एउटा महत्वपूर्ण पाटो नैतिक शिक्षा आवश्यक ठानिन्छ । नैतिक शिक्षाविना व्यक्ति, समाज, शिक्षालयलगायत देशका कुनै पनि निकाय अनुशासित, मर्यादित, जवाफदेही तथा कर्तव्यनिष्ठ बन्न सक्दैनन् । आजको आवश्यकता भनेको सामाजिक सोचको विकास गर्नु हो । समाजमा रहेको भ्रष्ट आचारलाई सदाचारमा बदल्नु हो । समाजले भ्रष्ट आचरणबाट लाभ उठाउने र समाजमा रवाफ प्रदर्शन गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा सम्मान गर्ने संस्कृति बढ्दो छ । राष्ट्रको समृद्धि, सुशासन र नागरिकको सम्मानजनक जीवनको आधार इमानदारी, पारदर्शिता र जवाफदेहिता हुनुपर्नेमा यसको उल्टो अभ्यास भइरहेको छ । यस्तो सामाजिक अभ्यासले भ्रष्टहरूलाई प्रोत्साहन गर्दछ ।
भ्रष्टाचारमुक्त समाज निर्माणका लागि राज्यका भ्रष्टाचारसम्बन्धी अनुसन्धान तथा नियन्त्रण गर्ने निकायहरूलाई मात्र सक्रिय बनाएर पुग्दैन । जबसम्म समाजमा अरूको भ्रष्टाचारको आलोचना गर्दै आफ्नै फाइदाका लागि ‘सेटिङ’ र ‘मिलेमतो’ गर्ने संस्कृतिको अन्त्य गर्दैन, तबसम्म भ्रष्टाचारविरुद्ध काम गर्ने निकाय वा कुनै दलका नेता विशेषको एकल प्रयास सफल हुन सक्दैन । समाजमा जसको समृद्ध जीवनशैली, आलिसान भवन, गाडी, बैंक ब्यालेन्स तथा महँगा शैक्षिक संस्थामा छोराछोरीलाई शिक्षा दिने हैसियत छ, उनीहरू नै सम्मानित भएको देखिन्छ । समाजमा रहेको यस्तो संस्कृति र संस्कारले भ्रष्टहरूलाई प्रोत्साहित गरिरहेको छ । सचेत तथा नैतिकवान समाजले भ्रष्टहरूको देखावटीपनलाई निरुत्साहित गर्नुपर्दछ । यसो हुन सकेको छैन ।
प्रजातान्त्रिक आचरण र सामाजिक दायित्वको बोध भएका नागरिक नै लोकतन्त्रका आधार हुन् । लोकतन्त्रमा सामाजिक दायित्वको महत्व ठुलो हुन्छ । सामाजिक दायित्वले समाजलाई कर्तव्यनिष्ठ बनाउँछ । समाजले घुस लिने मात्र दोषी होइन, घुस दिने पनि त्यत्तिकै दोषी र बदमास हो भन्ने कुरा बुझ्नुपर्दछ । यस सन्दर्भमा भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कानुनको कार्यान्वयनभन्दा बढी नागरिकको विवेक, नैतिकता र आत्मअनुशासन निर्माणमा जोड दिनुपर्दछ । शिक्षाविद् थोमसनले शिक्षा व्यक्तिको बानी, व्यवहार, विचार र धारणालाई स्थायी रूपमा परिवर्तन गर्ने साधन हो भनेका छन् । उनले भनेझैं मानिसको नैतिक आचरण, असल बानी र व्यवहार निर्माण गर्न शिक्षा प्रणालीमा नैतिक शिक्षाका विषयवस्तु समावेश गर्नु आजको आवश्यकता हो । यो आवश्यकतालाई राज्यले बुझ्नुपर्दछ, बुझ्न सकोस् ।