
क्वालालम्पुर : मलेसियाले विदेशी कामदार भर्ना प्रक्रियासम्बन्धी विदेशी कामदार व्यवस्थापन गर्ने वान स्टप सेन्टरलाई मानव संशाधन मन्त्रालयको कार्यक्षेत्रमा सारेको छ । जुलाई १ गते बसेको मलेसिया सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
मानव संशाधनमन्त्री आर. रामाननले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयनमा आउने र जुलाई ६ गतेदेखि रोजगारदाताले विदेशी कामदार केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)को इकोटा मोड्युलमार्फत मात्र आवेदन दिनुपर्ने बताएका छन् । यसअघि विदेशी कामदार व्यवस्थापनका लागि वान स्टप सेन्टर गृह मन्त्रालयअन्तर्गत थियो ।
रामाननका अनुसार एफडब्लूसिएमएसको इकोटा मोड्युलले मलेसियामा विदेशी कामदार व्यवस्थापनमा हुने मानव हस्तक्षेपलाई लगभग हटाउने तथा स्वीकृतिअघि रोजगारदाताले राजधानी पुत्राजया धाउनुपर्ने आवश्यकतालाई कम गर्नेछ ।
उनले विदेशी कामदारको कोटाका लागि अन्य राज्यबाटै आवेदन दिन सकिने भएकाले मन्त्रालय आउनु नपर्ने पनि बताए ।
मलेसियामा विदेशी कामदारको कोटा स्वीकृत गर्ने ओएससी प्रणालीमा ब्याकलग, अचानक सेवा काउन्टर बन्द हुने, कर्मचारी अवरोध तथा विभिन्न नीतिगत असंगतिहरू रहेको गुनासो राष्ट्रियस्तरमा रहँदै आएको छ ।
मानव संशाधनमन्त्री रामाननले सबै विदेशी कामदार कोटा आवेदन एफडब्लुसिएमएसको इकोटा मोड्युलमार्फत पेस गरिने र यो सरकारले नियुक्त गरेको एकमात्र डिजिटल प्लेटफर्म भएको जानकारी दिए ।
मलेसियाले स्वीकृतिका लागि यसअघि नै म्यानुअल रूपमा आवेदन दिएका ५४८ कम्पनीका २२ हजार ४७६ विदेशी कामदार कोटा आवेदनको प्रशोधनबाट यो प्रक्रिया सुरु हुने जनाएको छ ।
मानव संशाधन मन्त्रालयले रोजगारदातालाई एफडब्लुसिएमएसको इकोटा मोड्युलमा दर्ता पूरा गरी विदेशी कामदार कोटा आवेदन अनलाइनमार्फत पेस गर्न आग्रह गरेको छ ।