२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

नागरिक शिक्षा : अधिकार र कर्तव्य

Nada
डा. देवीप्रसाद आचार्य
२०८३ असार २५ गते ०६:०५
Shares
नागरिक शिक्षा : अधिकार र कर्तव्य

नागरिक शिक्षाले समाजका विभिन्न तह, वर्ग र क्षमताका जनतालाई आ–आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा ज्ञान दिलाउँछ । नागरिक शिक्षालाई प्रजातान्त्रिक शिक्षा पनि भनिन्छ । शिक्षाशास्त्री गुटम्यानले प्रजातान्त्रिक देशका जनताले राजनीतिक ज्ञानबाट प्रशिक्षित हुनका लागि नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ भनेका छन् । नागरिक शिक्षाले अधिकार र कर्तव्यको बारेमा समाजलाई सचेत बनाउँछ । देशभक्तिको भावना अंकुरण गराउँछ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’को चेतनाको विकास गराउँछ । समाजमा व्यक्ति तथा समाजलाई अधिकारको बारेमा सुसूचित मात्र नभई कर्तव्यबोध गर्न सक्ने समाज निर्माणमा नागरिक शिक्षाको विषयवस्तुको अध्ययनले सहयोग गर्दछ ।

ncell

अहिले नेपाली समाज रूपान्तरणको सँघारमा छ । सामाजिक रूपान्तरणका लागि व्यक्ति, समाज र यससँग सम्बन्धित निकाय तथा संयन्त्रहरूको सोचाइ तथा चिन्तनमा परिवर्तन हुन आवश्यक हुन्छ । नागरिक शिक्षा व्यक्ति, समुदाय, समाज र संघसंस्थाहरूको सोचान्तरणको संवाहक हो । यसले मानिसलाई समाजमा सँगै बस्न, सँगै काम गर्न, एकले अर्काको सम्मान गर्न, हरेक जात, जाति, भाषा, भाषी, धर्म, लिंग र सम्प्रदायका बीचमा सबैका सामाजिक मूल्य, मान्यता, संस्कृति र चालचलनलाई स्वीकार गर्न सक्ने क्षमता र उदार व्यवहार निर्माण गर्न भूमिका खेल्दछ । लोकतान्त्रिक मुलुकका हरेक व्यक्तिमा प्रजातान्त्रिक आचरण, अनुशासित व्यवहार, देशप्रति प्रेमभाव र मानवतावादी चिन्तनको विकास हुन आवश्यक हुन्छ, जो नागरिक शिक्षाका आधारभूत सिकाइ हुन् ।

नागरिक शिक्षा प्रजातान्त्रिक आचरण निर्माण, लोककल्याणकारी भावनाको विकास एवं आफ्नो र अरूको हक, अधिकार र कर्तव्यको अध्ययनको क्षेत्र हो । यसले व्यक्ति एवं समाजमा सामूहिक निर्णय र नीतिअनुसार काम गर्ने क्षमता र आचरणको विकास गर्न मद्दत गर्दछ । व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने उदार भावनाको विकास गराउँछ । नागरिक शिक्षाले केवल अधिकारको चेतना मात्र जगाउँदैन, कर्तव्यपालना गर्न आत्मबोध हुने आत्मानुभूतिको विकास गर्ने दियोरूपी काम गर्दछ ।

अहिले नेपाली समाजमा अधिकारप्रतिको चेतना बढ्दै गएको देखिन्छ । अधिकार र कर्तव्य एउटा सिक्काका दुई पाटा हुन् भन्ने विषयबाट समाज प्रशिक्षित भएको अवस्था छैन । शिक्षाविद् स्मिथले नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो भनेका छन् । कुनै पनि व्यक्ति सामाजिक हुनका लागि उसमा एकआपसमा मिलेर काम गर्न, आफ्ना विचार अरूलाई सिकाउन र अरूका असल कुरा धैर्यपूर्वक सुन्न तथा आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको हेक्का राख्न सक्ने मानवीय गुणको विकास गर्न सहयोग गर्दछ ।

हरेक देशले अनुशासित, सिर्जनशील तथा कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न नागरिक शिक्षालाई आधार बनाएको पाइन्छ । दृष्टान्तका लागि इन्डोनेसियामा विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई नागरिक शिक्षाअन्तर्गत महिनाको एक दिन आफ्ना बुवा, आमा वा अभिभावकलाई विद्यालयमा लिएर आउनुपर्ने र छोराछोरीले अभिभावकका नङ काटिदिने, आपसमा अन्तरक्रिया गर्ने तथा बुवा–आमाको महत्वको बारेमा प्रशिक्षण दिने काम गरिन्छ । विद्यालयले विद्यार्थी र अभिभावकलाई सँगै राखेर उनीहरूलाई छोराछोरीले गर्नुपर्ने काम र कर्तव्यका बारेमा अभिमुखीकरण गर्नेजस्ता अभ्यासले पारिवारिक सम्बन्ध सुमधुर गराउन र बुवा–आमाको महत्व बुझाउने काम गरिन्छ । इन्डोनेसियामा हालसम्म कुनै पनि वृद्धाश्रम बनाइएको छैन । यस कोणबाट हेर्दा, नागरिक शिक्षाले व्यक्ति तथा समाजलाई कर्तव्यनिष्ठ बनाउँछ भन्ने कुरा प्रस्ट हुन्छ ।

नेपालको संविधान, २०७२ले विभिन्न जातजाति, समुदाय, दलित, महिला तथा फरक क्षमता भएका नागरिकका अधिकार सुनिश्चित गरेको छ । संविधानले व्यवस्था गरेका प्रदेश व्यवस्थापिका, स्थानीय व्यवस्थापिका, नगरपालिका, गाउँपालिका तथा यी स्थानीय तहहरूले प्रदान गर्ने जनताका सेवा तथा सुविधाका बारेमा जनता प्रशिक्षित हुन जरुरी हुन्छ । संविधानले राष्ट्रिय महिला आयोग, समावेशी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तथा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरेको छ । परन्तु, जुन वर्गलाई संविधानले हक, अधिकार र संरक्षणको व्यवस्था गरेको छ, त्यो समुदाय नै नागरिक शिक्षाको विषयवस्तुको जानकारीबाट अनभिज्ञ छ । यस सन्दर्भमा देशको मूल कानुन, नीति, नियम, विनियमलगायत संविधानप्रदत्त अधिकारको उपयोग गर्न नागरिक शिक्षाको विषयवस्तुको ज्ञान आवश्यक ठानिन्छ ।

संघीय गणतन्त्र हाम्रो देशको सन्दर्भमा नयाँ राजनीतिक अभ्यास हो । संघीय राज्य व्यवस्था भएको देशका आमजनताले केन्द्रीय, प्रान्तीय र स्थानीय राज्य प्रणालीको संरचना, ढाँचा र यसको ज्ञान बुझ्न जरुरी हुन्छ । प्रदेशहरूमा व्यवस्था गरिएको संघीय व्यवस्थापिका, कार्यपालिका र प्रादेशिक न्याय व्यवस्थाको ज्ञान तथा यी निकायको काम, कर्तव्य र जवाफदेहिताका बारेमा नागरिक सचेत हुन सकेमा लोकतन्त्रको अभ्यास गाउँसम्म पुग्न सक्छ । समाज सचेत नभएमा जनता भोट बैंक मात्र भएर रहन्छन् । जनता नेतृत्वको शब्दजालमा आकर्षित हुन पुग्दछन् । अहिले नेपाली समाजको राजनीतिक सुझबुझको स्तर देख्दा यस्तै भइरहेको देखिन्छ ।

नागरिक शिक्षाले व्यक्तिलाई आफ्नो घर, परिवार, समुदाय र जन्मभूमिप्रति गर्नुपर्ने कर्तव्यको बोध गराउँछ । मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा उसले गर्ने व्यवहार हो । व्यवहारअन्तर्गत आफूभन्दा सानोलाई माया, ठुलालाई सम्मान, समाजप्रतिको सामाजिक दायित्व तथा तदनुरूपको कार्य, जन्मभूमिप्रति गर्नुपर्ने कर्तव्यजस्ता कुरा पर्दछन् । हरेक मानिस नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित भएमा समाज कर्तव्यनिष्ठ हुन सक्छ । समाज सभ्य, शान्त तथा अनुशासित हुन्छ ।

अन्त्यमा, नागरिक शिक्षाले व्यक्तिलाई कर्तव्यनिष्ठ बनाउन प्रशिक्षित गर्दछ । कोही पनि मानिस जन्मँदै प्रजातान्त्रिक भएर आउँदैन । समाजमा सामाजिकीकरणका मूल्य र मान्यता ग्रहण गर्दै व्यक्तिमा तदनुरूपको चरित्र निर्माण हुँदै जान्छ । समाजका विभिन्न तह, वर्ग र क्षमताका नागरिकलाई आफ्नो काम तथा कर्तव्यबोध गराई देश विकासमा योगदान गर्ने कर्मशील शिक्षित नागरिक उत्पादन गर्न नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ । नागरिक शिक्षाले देशप्रेमको भावनात्मक सोचको विकास गराउँछ । त्यसैले राज्यले एकातिर औपचारिक रूपमा विद्यालयदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नागरिक शिक्षालाई समावेश गर्नुपर्छ भने अर्कोतिर विद्यालयबाहिर रहेकाहरूका लागि हरेक स्थानीय तहमा देशव्यापी रूपमा नागरिक शिक्षाका तालिम अभियानका रूपमा सञ्चालन गर्न आवश्यक ठानिन्छ ।

सम्बन्धित खबर