२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

क्यालिफोर्नियामा आदिकवि भानुभक्त आचार्यको २१३औँ भानुजयन्ती भव्य रूपमा मनाइने

Nada
२०८३ असार २७ गते १४:१५
Shares
क्यालिफोर्नियामा आदिकवि भानुभक्त आचार्यको २१३औँ भानुजयन्ती भव्य रूपमा मनाइने

क्यालिफोर्निया : आदिकवि भानुभक्त आचार्यको २१३औँ भानुजयन्ती विशेष कार्यक्रमका साथ स्यान फ्रान्सिस्कोस्थित नेपाली कम्युनिटी सेन्टरमा भव्य रूपमा मनाइने भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज उत्तर क्यालिफोर्निया च्याप्टरको आयोजनामा आगामी आइतबार, जुलाई १२ मा २१३औँ भानुजयन्ती तथा साहित्यिक अनावरण समारोह हुन लागेको हो ।

ncell

च्याप्टरका अध्यक्ष एवं युवा कवि बाबु आचार्यका अनुसार उक्त कार्यक्रममा चर्चित साहित्यकार एवं मदन पुरस्कार विजेता कवि नवराज लम्सालको प्रमुख आतिथ्यमा आदिकवि भानुभक्तको साहित्यिक अनावरण (शालिक स्थापना) गरिनेछ । कार्यक्रममा प्रख्यात कार्यक्रम प्रस्तोता अच्चुत घिमिरे ‘बुलबुल’, साहित्यकारहरू ऋषवदेव घिमिरे र नवराज कार्की लगायतको साहित्यिक प्रस्तुति रहनेछ । आदिकविको प्रतिमा यसअघि नै आइपुगेको छ ।

‘भाषा, साहित्य र संस्कृतिको संरक्षण हाम्रो पहिचान, पुस्तान्तरण हाम्रो अभियान’ अन्तर्गत कविता प्रतियोगिता र सगरमाथा आरोहीहरूलाई सम्मान गरिने कार्यक्रम पनि राखिएको छ ।

उक्त कविता प्रतियोगितामा प्रथम हुनेलाई ३०१ डलर, द्वितीय हुनेलाई २०१ डलर, तृतीय हुनेलाई १०१ डलर तथा सान्त्वना प्राप्त गर्ने कवितालाई पनि ५० डलर पुरस्कार प्रदान गरिने जानकारी अध्यक्ष आचार्यले दिएका छन् ।

नेपालका आदिकविको शालिक एवं साहित्यिक अनावरण कार्यक्रमका प्रमुख अतिथि रहेका साहित्यकार नवराज लम्सालले कार्यक्रमप्रति आफू व्यग्र प्रतीक्षामा रहेको बताए । ‘कार्यक्रमको तालिका हेरेर एकदमै उत्सुक छु । सबै साहित्यिक एवं सृजनशील मनहरूसँग आइतबार भेट हुने नै छ’ ,लम्सालले भने ।

नेपाल र भारतबाहेक आदिकविको साहित्यिक प्रतिमा अनावरण अमेरिकामा पहिलो पटक हुन लागेको हो ।

ताजा खबर

सम्बन्धित खबर