२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक

Nada
२०८३ भदौ ४ गते १८:५८
Shares
नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक

काठमाडौँ : नन्दप्रसाद–जानुका फाउन्डेशनले आफ्नो तेस्रो ऐतिहासिक पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।

ncell

शिक्षासेवी तथा राणाशासनविरुद्ध संघर्ष गरेका योद्धा नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीका अवसरमा फाउन्डेशनले पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा दोलखाको भूमिमा जन्मिएर निरङ्कुशताविरुद्ध संघर्ष गर्दै देशमा प्रजातन्त्र, बहुदलीय व्यवस्था तथा गणतन्त्र स्थापनाका लागि योगदान गरेका २३ जना व्यक्तित्वलाई समेटिएको छ ।

फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार दोलखाको समग्र विकास तथा लोकतन्त्र प्राप्तिका लागि योगदान गरेका व्यक्तित्वहरूको संक्षिप्त जीवनी र योगदानमा आधारित भएर पुस्तक तयार पारिएको हो ।

फाउन्डेशनले हरेक वर्ष एउटा पुस्तक प्रकाशन गर्दै आएको जानकारी दिँदै शिवाकोटीले भावी पुस्ताले पुर्खाहरूको त्याग र बलिदानलाई नबिर्सिऊन् तथा उनीहरूको जीवनबाट प्रेरणा लिन सकून् भन्ने उद्देश्यले ‘दोलखाका लोकनायकहरू’ प्रकाशन गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि गगनकुमार थापाले फाउन्डेशन स्थापना भएदेखि नै प्रकाशन, सम्मान तथा अनुसन्धानका क्षेत्रमा निरन्तर क्रियाशील रहेको भन्दै प्रशंसा गरे । नन्दप्रसाद र जानुकाको योगदानलाई सार्वजनिक गर्ने प्रयासले समाज निर्माणमा योगदान गरेका अन्य व्यक्तित्वको वास्तविकता पनि उजागर गर्न प्रेरणा मिल्ने उनले बताए ।

थापाले समाजका अग्रजहरूले खोलेको शैक्षिक तथा सामाजिक बाटोकै कारण आजको पुस्ताले लोकतन्त्रको अनुभव गर्न पाएको उल्लेख गरे ।

सो अवसरमा फाउन्डेशनले नन्दप्रसाद–जानुका स्मृति सम्मानबाट दोलखाका पहिलो जलविद्युत् इन्जिनियर, शिक्षाविद् तथा समाजसेवी ८८ वर्षीय आत्माकृष्ण श्रेष्ठलाई सम्मान गरेको थियो ।

कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै लेखक तथा साहित्यकार भोजराज न्यौपानेले पुस्तकमा समेटिएका व्यक्तित्वहरू समाजका लागि अनुकरणीय रहेको बताए । उनले आगामी प्रकाशनमा योगदानरत महिलाहरूलाई समेत समेट्न सुझाव दिए। साथै, राजनीतिक क्षेत्रबाहेक शिक्षा, सामाजिक सेवा, साहित्य, संस्कृति तथा अन्य क्षेत्रमा योगदान गरेका व्यक्तित्वलाई पनि ‘लोकनायक’का रूपमा समेट्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष दिनेश प्रसाईं, नेकपाका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जिपछिरिङ लामा, प्रतिमा गौतम र नानु बास्तोलालगायत नेता तथा जिल्लाका अगुवाहरूले सम्बोधन गरेका थिए ।

शैक्षिक तथा सामाजिक क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील फाउन्डेशनले यसअघि प्रकाशित तथा हालै विमोचित पुस्तकहरू शान्ति शिक्षा अभियानअन्तर्गत सञ्चालित सामुदायिक पुस्तकालयका अध्यक्ष रविन्द्र महर्जनलाई हस्तान्तरण गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर