२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

Nada
२०८३ असोज ३० गते १८:१९
Shares
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

काठमाडौँ : म्युजिक भिडियो र लघुचलचित्र क्षेत्र राज्यको बेवास्तामा परेको सरोकारवालाहरूले बताएका छन् ।

ncell

शुक्रबार परिवर्तन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लघुचलचित्र तथा म्युजिक भिडियो क्षेत्रका सरोकारवालाहरूले राज्यले प्रभावकारी नीति र कानुन निर्माण गरी कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।

पत्रकार तथा साहित्यकार घनेन्द्र ओझाले सञ्चार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति निर्माण गरिसकेको र उक्त नीतिमा लघुचलचित्र, वृत्तचित्र तथा सांस्कृतिक चलचित्रलाई प्रोत्साहन गर्ने उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए । राष्ट्रिय संस्कृति नीति पनि निर्माण भइसकेको उल्लेख गर्दै उनले उक्त नीतिमा नेपाली कला, संस्कृति र पुरातत्त्वको विकास तथा विस्तारका लागि काम गर्ने भनिए पनि त्यसअनुसार आवश्यक ऐन तथा कानुन निर्माण र संशोधन हुन नसकेको बताए । यसले गर्दा लघुचलचित्रकर्मी र म्युजिक भिडियो निर्माताहरू समस्यामा परेको उनको भनाइ थियो ।

ओझाले नेपाली मौलिक संस्कृतिको संरक्षण र विस्तारका लागि नेपाली संस्कृति तथा परम्परामा आधारित चलचित्र, लघुचलचित्र र गीतसङ्गीतका साथै म्युजिक भिडियो निर्माण गर्नुपर्नेमा जोड दिए। यस्ता विषयमा आधारित चलचित्र तथा म्युजिक भिडियोको निर्माण व्यावसायिक नाफामा मात्र केन्द्रित नहुने भएकाले राज्यले आर्थिक सहायता उपलब्ध गराउने नीति लिनुपर्ने उनले बताए ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डीसीले चलचित्र नीतिअनुसार ऐन संशोधन हुन नसक्दा चलचित्र क्षेत्रका विभिन्न काममा समस्या उत्पन्न भएको बताए । उनले आफू दुई वर्ष अध्यक्ष रहँदा चलचित्र क्षेत्रमा केही महत्त्वपूर्ण काम गरेको पनि उल्लेख गरे ।

विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले लाखौँ व्यक्तिको रोजीरोटीसँग जोडिएका लघुचलचित्र र म्युजिक भिडियो क्षेत्रको संरक्षण तथा संवर्द्धनका लागि सरोकारवाला संस्था र राज्यका निकाय संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए । उनले नेपाली गीतसङ्गीतमा विकृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको प्रभावकारी नियमन आवश्यक रहेको औँल्याए ।

परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले चलचित्रकर्मी तथा म्युजिक भिडियो क्षेत्रका व्यक्तिहरूका आफ्नै सीमितता भए पनि राज्यले आवश्यक नियमन गर्दै प्रोत्साहन र सहयोगका लागि नीति, ऐन तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । लाखौँ कलाकार, सङ्गीतकर्मी र प्राविधिकको जीविकोपार्जनमा समस्या नआउने गरी राज्यले आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

संस्थाका महासचिव तथा म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेले यस विषयमा सरोकारवालाहरूसँग छलफल गरी सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय, चलचित्र विकास बोर्डलगायत सम्बन्धित निकायसमक्ष प्रस्ताव पेस गर्ने बताए ।

कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, लोकप्रिय कलाकार मदनदास श्रेष्ठ र मिथिला शर्मा तथा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसीलगायतको उपस्थिति थियो ।

ताजा खबर

सम्बन्धित खबर