–लोकनारायण सुबेदी
हामी इतिहासको अत्यन्तै असाधारण मोडबाट गुज्रिरहेका छौं । एकातिर पुरानो राजनीतिक सत्ताको उपरी ढाँचामा सीमित परिवर्तन आए पछि बनेको अन्तरविरोधपूर्ण संविधान पछिको दोश्रो निर्वाचनबाट यति बेला मुलुक घिस्रिदैन छ भने अर्कोतिर यो निर्वाचनले पनि निकास दिन नसक्ने र व्यापक अन्यौल, अनिश्चितता र अराजकताको माहोल व्याप्त बन्दै जाने खतरा सम्मूख छ । यस प्रकारको अस्थिर परिवेशबाट मुलुकलाई सही दिशामा सन्तुलिन किसिमले डोर्याउँदै र परिवर्तित जनअपेक्षाको परिपूर्ति गर्दै जानसक्ने नेतृत्वको अत्यन्तै अभाव देशमा विद्यमान छ । त्यस्तो जनतामा आधारित र समर्पित, सन्तुलित र संकल्पबद्ध नेतृत्वको निर्माण गर्न अझै हुन सकेको छैन, जसले देशको स्वाधीनता, सार्वभौमिक अखण्डता, नागरिक स्वतन्त्रता र जनतान्त्रिक अधिकार तथा जन जीविकालाई सहज बनाउने ठोस आधार तयार गर्नका निम्ति विश्वासिलो र भरोसायुक्त भूमिका खेल्न सकोस् । वास्वतमा अहिलेको अनिश्चितता र अन्यौल नयाँ नेतृत्वका निर्माणका लागि एउटा चूनौति र अवसरको समय पनि हो । अनि हामी सकारात्मक र सफल दिशातिर जाने कि असफल भएर अध्यारो सुरुङ्गभित्र पस्ने र फस्ने भन्ने प्रश्न पनि हाम्रा अगाडि यतिबेला उभिएको छ ।
हामीले अन्तर्राष्ट्रिय परिदृष्यलाई हे¥यौं भने पनि यो ठूलो उथलपुथलकै कालखण्डबाट परिस्थिति गुज्रिरहेको देखिन्छ । यस परिप्रेक्षलाई हेर्दा नेपालले एउटा अपेक्षाकृत अलिक स्थायी राष्ट्रिय व्यवस्थाको खोजी गरिरहेको छ । यसो हुनु आवश्यक र निश्चित पनि छ । यद्यपि समय सापेक्ष स्थायित्वको परिवेश शीघ्र नै बन्ला या अलिक बढी नै समय लाग्ला, यो परिवर्तन शान्तिपूर्ण किसिमले होला कि हिंसात्मक स्थिति पनि विकसित होला अहिले नै यकिन गरेर यसबारे कसैले केही भन्न सक्दैन र सक्ने कुरा पनि वास्तवमा होइन । तर, आज विश्वभरी र नेपालमा पनि के कुरा प्रष्ट र अखण्डनीय बन्दै गएको छ भने अब उत्पन्न या खडा हुने नयाँ विश्व व्यवस्था र नेपाली समाज व्यवस्थाको नेतृत्व भने कुनै एउटा समुदाय या समूह विशेषको बर्चश्वकोरूपमा एकल हातमा हुने छैन । यो विविध समुदायहरु र समूहहरुको विश्वासिलो आधारमा खडा राष्ट्रिय एकताको बीचबाट मात्र सम्भव हुन सक्नेछ ।
आज विश्व बहुध्रुबमा जान खोजेको र गइरहेको जस्तै नेपाली समाज पनि कुनै अहिलेसम्म खाइपाइ आएका ठालु अभिजात वर्ग र समुदायको भरमा अब चल्न सक्ने स्थिति छैन । विशेषगरी शोषित पीडित नेपाली जनसमुदाय र जन वर्गको सामयिक र सामुहिक हितको आधारमा मात्र देश सही दिशामा अघि बढ्न सक्ने र सम्हालिन सक्ने स्थिति बन्ने आभाष आजको स्थितिले दिइरहेको छ । यस स्थितिले स्वभावतः नयाँ नेतृत्व, नयाँ सामाजिक संरचना र नयाँ कानुन तथा नयाँ–नयाँ संस्थाहरुको उपस्थितिको ठोस माग गर्दछ । फलतः कुनै एउटा हिजोदेखि नै बर्चश्वशाली शक्तिको भरमा रहने, हुने यथास्थिति अब कायम रहन र त्यसैको प्रभावमा समाज प्रवाहित भइरहन सक्दैन ।
हुन पनि जसरी हिजो विश्वमा खास आर्थिक र सैनिक शक्तिको बलमा नयाँ अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गरिन्थ्यो र त्यसलाई अन्य सबै देशहरुले दबाबमा परेर भए पनि बाहिर देखाउँदा स्वेच्छाले देखाउने या त अनिच्छापूर्व स्वीकार गर्ने गर्दथे यस्तो स्थिति हामी धेरै अघिको कुरा नगरी दोश्रो विश्व युद्धको अन्त्यदेखि यता विश्वमा अमेरिकी बर्चश्व चलेको अवस्था उदाहरणको रूपमा लिन सक्दछौ । तर, अब त्यसरी विश्व चल्दैन र एउटै देश पनि पहिलेदेखि चलिआएको वर्ग या अभिजात वर्ग विशेषको एकल बर्चश्वमा चल्न सक्ने स्थिति विज्ञान र प्रबिधिको अपूर्व विकासलगायत अन्य विकसित विभिन्न अर्थ–सामाजिक कारणले गर्दा कायम रहन सक्दैन ।
वास्तवमा आजको स्थितिको सर्सरी आकंलन गर्दा सम्भावित तीन वटा तस्वीर देखा पर्नसक्ने अनुभूत गर्न सकिन्छ । अहिले देखिँदै आएको पहिलो तस्वीर के हो भने विश्वमा चीन आफ्नो आर्थिक तथा सैनिक शक्तिको विकास र विस्तारसँगै विश्व इतिहासको सबैभन्दा शक्तिशाली देश बन्ने दिशामा दृढतापूर्वक अग्रसर छ । कतिपय आकंलनकर्ताहरु त केसम्म भन्न थालेका छन् भने चीनले अहिलेदेखि नै यो भूमिका स्वीकार गर्न थालिसकेको पनि छ । यद्यपि कतिपयले भने चीन त्यो स्थितिमा पुगिसकेको स्वीकारेका छैनन् र त्यसो भइसकेको स्वीकार गर्नु अपरिपक्क हुन्छ पनि भनिरहेका छन् । उनीहरु त्यसको के ठूलो कारण दर्शाउँदछन् भने केही वर्ष पहिलाको भन्दा चीनको अर्थव्यवस्था कोभिड–१९ को कारणले समेत यतिबेला केही ओरालो लागेको स्थिति छ र त्यसले गर्दा चीनको राजीतिक व्यवस्था पनि कमजोर हुन पुग्ने सम्भावना हुन्छ र त्यो बढी आत्मकेन्द्रित पनि हुन पुग्दछ । विश्वको अर्को यो भन्दा भिन्न तस्वीर सत्यको बढी नजिक छ भन्ने मत राख्ने विद्वान विश्लेषकहरु पनि छन् । त्यो के भने अब चीन र अमेरिका, दुबैको संयुक्त व्यवस्था बन्न जान्छ र दुबैले एक अर्कालाई परस्पर प्रभावित हिस्साकोरूपमा चुपाचाप स्वीकार्दछन् भने दुबै एक अर्कासँग निकै कडा प्रतिस्पर्धा पनि गरिरहेका हुन्छन् ।
तर, यस्तो प्रकारको संयुक्त जस्तो देखिएको स्थितिमा यदि कसैले निर्बिरोध प्रभूत्व जमाउन खोज्यो भने त्यतिबेला विश्व व्यवस्था अहिलेभन्दा अझ अस्थिर भएर जाने खतराको आशंका पनि त्यत्तिकै छ । अर्को तेश्रो तस्वीर हो बहुध्रुबीय व्यवस्था उत्पन्न हुने दिशामा विश्व समुदायको अग्रसरता हो, जसको संरचना धेरै हदसम्म विश्व नेतृत्व लिने खालको बन्न सक्दछ । यस्तो खालको व्यवस्था दुई सय वर्षभन्दा अघि १८१५ मा भियना कांग्रेसमा बनाइएको थियो । त्यसलाई झण्डै झण्डै सय वर्षसम्म १९१४ मा पहिलो विश्व युद्धको आरम्भसम्म कायम गरिएको थियो र त्यसले विश्वमा एक किसिमको अमन चयन कायम राख्न सकेकाके थियो भनिन्छ । यो अन्तर्राष्ट्रिय परिदृष्यमा अहिले हुन थालेको या देखापर्न थालेको २१औं शताब्दीको बहुध्रुबीय व्यस्थाको अनुरूप देखिन्छ र यो परिवर्तन हाम्रो जस्तो विकासशील देश अनुकूल हुन सक्ने अपेक्षासमेत गरिन्छ ।
यद्यपि हामी अहिले केवल एउटा नैतिकबान, साहसी र संकल्पबद्ध राजनीतिक नेतृत्वको अभावमा एउटा कमजोर र फितलो किसिमको राजनीतिक परिवर्तनको कालखण्डबाट गुज्रिरहेका छांै । देशमा प्रचुर प्राकृतिक श्रोत साधन र निकै ठूलो जैविक विविधता भइकन पनि हामी परनिर्भर परमुखापेक्षी विकासको गतिमा हाम्रो देश धेरै पछि रहेको नाजुक अवस्थामा छ । देशको सबैभन्दा ऊर्जाशील यूवा शक्ति रोजीरोटीको खोजीमा खाडीका मुलुक, मलेशिया, कोरियालगायतका देशहरुमा आश्रय लिन पुगिरहेको स्थिति छ । यस्तो अवस्थामा उदय हुन सक्ने या हुन लागेको बहुधुव्रीय विश्वबाट पनि उचित र आवश्यक लाभ लिन या उठाउन सक्ने स्थिति बन्न सकेको या बनेको छैन । निश्चय पनि विश्व बहुधुव्रीय दिशातिर अग्रसर भइरहँदा हामीले पनि एक ध्रुबतिर नलागि सुख छैन र त्यो अहिलेको विश्वलाई सर्सरी हेर्दा एशियाली ध्रुबमै हाम्रो संलग्नता हुने स्थिति प्रष्ट देखिन्छ । निश्चय यसरी अहिले विश्व बहुधुव्रीय दिशातिर अग्रसर भइरहँदा हामीले पनि एक ध्रुबतिर नलागि सुख छैन र त्यो अहिलेको विश्वलाई सर्सरी हेर्दा एशियाली ध्रुबमै हाम्रो संलग्नता हुने स्थिति देखिन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हाम्रो देशलाई यतिबेला अपेक्षाकृत एउटा सापेक्ष स्थिरताको आवश्यकता छ । त्यसैले पनि हामी विश्व शान्ति र सुरक्षा कायम होस् भन्ने कुरामा केन्द्रित हुने गर्दछौं । यस सन्दर्भमा खासगरी विश्वमा बढ्दो गर्मी, जलवायु परिवर्तन, विभिन्न माहामारीहरु, साइबर अपराध, अबैध लागु पदार्थहरुको तस्करी, अन्तर्राष्ट्रियरूपमा बढ्दो आतंकवाद जस्ता समकालीनरूपमा बढ्दै गएका गम्भीर समस्याहरुको विश्व समुदायले एकाग्र र एकजुट भएर समाधान निकाल्नु पर्दछ भन्ने कुरातर्फ नै लाग्न प्रेरित गर्दछ । के कुरा सही हो भने विश्वमा एउटा शक्तिशाली पद्धति र व्यवस्था कायम भयो भने त्यसले अरु सबै समस्या हल गर्न गराउन सहज वातावरण बन्छ नै र विभिन्न देशलाई पनि त्यसले सही दिशामा अग्रसर हुन दबाबकारी भूमिका खेल्न सक्दछ । तर, त्यस्तो विश्व पद्धति बसाल्न सहज र सरल भने अवश्य पनि छैन ।
उल्लेख गर्ने नै हो भने आजको अमेरिका १९५० को दशकयता विश्वको एउटा सबैभन्दा शक्तिशाली मुलुककोरूपमा विश्व व्यवस्थामा अहिलेसम्म पनि हाबी रहेको छ । तर, पश्चिमा प्रभूत्वले सदियौंदेखि आकार लिदै आयो । यसरी भन्नुपर्दा वस्तुतः अमेरिका वस्तवमा पश्चिमा प्रभूत्वको जनक देश भने होइन बरु त्यो प्रभूत्वको एउटा बारिस देश चाँही हो । तर, अब कुनै पनि देशले अरु सबै देशको नेता बन्ने आकांक्षा राख्दछ भने उसलाई त्यस्तो बिरासत मिल्ने अवस्था छैन, जस्तो अमेरिकाले प्राप्त गरेको थियो ।
यद्यपि चीन प्राचीन सभ्यता भएको देश र अहिलेको विकासमा विश्वमा अग्रणी भएको कारणले त्यो भूमिका निर्वाह गर्न अग्रसर हुन सक्दछ । तर चीनको चरित्र र उसले बिगतमा भोगेका अनेकौ बाह्य दबाव र प्रभावका भयावह कठिनाईहरुका कारण भिन्नै किसिमले बनेको र परस्पर मैत्री र समान साझेदारका रूपमा आफुलाई विश्वका अगाडि प्रस्तुत गर्ने कुरानै उसले सर्बोपरी राखेको देखिन्छ । त्यसैले चीन बहुधुव्रीय विश्वकै पक्षमा रहेको छ र विश्व शान्ति, समानता र समुन्नतिका निमित्त हिजोको जस्तो एक ध्रबीय सोच आजको निमित्त सुहाउँदा पनि सुहाउँदैन र बहुध्रुबीय सामुहिक परिचालन, परस्पर अन्तरनिर्भरता सम्मानपूर्ण र समान साझेदारी अबको विश्वको गति र विकासको बाटो हो भन्ने निष्कर्ष निस्कन्छ । यही नै अर्थात् साझा समुन्नति र विकासको बाटो नै राष्ट्रिय राजनीतिको पनि आजको सापेक्ष मूल बाटो हो । नेपालले बदलिँदो नेपाली जनताको आकांक्षा र विश्वको बदलिँदो परिस्थितिबाट लाभ लिन सक्ने गरी आफ्नो नेतृत्वको विकास गर्न सक्नु र सिक्नु पर्दछ । त्यसमा रहेका बाह्य र आन्तरिक बाधा अड्चनहरुलाई पञ्छाउन सक्नुपर्दछ । यसरी मात्र नबोन्नत नेतृत्वको निर्माण हुने आधार तयार हुन्छ । यही नै नयाँ नेपालको आजको बदलिँदो परिस्थिति सापेक्ष मूलबाटो पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies