
काठमाडौँ : नेपाल प्रज्ञा-प्रप्तिष्ठानले जेनजी लेखकका लागि सिर्जनात्मक रचना आह्वान गरेको छ । साहित्यप्रति नवपुस्ताको अभिरुचि, सिर्जनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने हेतुले ‘जेनजी’ उमेर समूहका लेखकका पुस्तक प्रकाशन गर्न लागिएकाले उक्त पुस्ताका लेखकबाट रचना आह्वान गरिएको सदस्य सचिव डा. रोशन शेरचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भएअजुसार पुस्तकमा कथा, कविता र संस्मरण समावेश गरिनेछ । सन् १९९७ देखि २०१२ सम्म जन्मिएका (जेन–जी उमेर समूहका) नेपाली नागरिकले सहभागिता जनाउन योग्य हुने, रचना अप्रकाशित हुनुपर्ने, रचना नेपाली भाषामा हुनुपर्ने, कथा र संस्मरण अधिकतम् ५ हजार शब्दसम्म हुनुपर्ने र एक लेखकले कुनै एक विधामा एउटा मात्रै रचना पठाउनुपर्ने विज्ञप्तिमा जनाइएको छ । रचना २०८३ कात्तिक ३० भित्र [email protected] मा पठाउनुपर्नेछ ।
प्रज्ञा प्रतिष्ठानको छनोट समितिले छनोट गरेका रचनालाई पुस्तकाकार रूपमा प्रकाशन गरिने र छनोट भएका रचनाका लागि नियमानुसार पारिश्रमिकको व्यवस्थासमेत गरिएको काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले जानकारी दिए । उनले भने, 'नवपुस्ताको सिर्जनशीलता उजागर गर्न यसले सहयोग पुग्ने विश्वास छ । साथै, नयाँ पुस्तामा पठन संस्कृति पनि विकास होस् भन्ने प्रतिष्ठानको उद्देश्य हो ।'