
तोमनाथ उप्रेती
हरेक यात्रा एउटा गन्तव्यबाट मात्र सुरु हुँदैन, त्यो मनभित्र जाग्ने एउटा मौन आकांक्षाबाट पनि सुरु हुन्छ । तर घान्द्रुकतर्फको यो यात्रा भने हिमालले आफैं बोलाएको निमन्त्रणाजस्तै लाग्यो । पोखरा नजिकिँदै गर्दा पूर्व क्षितिजमा अन्नपूर्ण हिमशृंखला बिस्तारै बादलको आवरणबाट बाहिर निस्किन थाल्यो । केही क्षणमै माछापुच्छ«ेको अनुपम शिखर निलो आकाशमा उज्यालो प्रार्थनाजस्तै उभियो । प्रकृतिले आफ्ना सबै रङहरू एकै ठाउँमा बटुलेर मानौं एउटा दिव्य चित्र कोरेकी थिई । हिमालहरू समयभन्दा पुराना ऋषिहरूजस्तै अनन्त ध्यानमा लीन थिए । तिनको श्वेतता केवल हिउँको रङ थिएन, त्यो निर्मल चेतनाको प्रतीक थियो । बिहानको पहिलो सुनौलो किरणले अन्नपूर्णका शिखरलाई स्पर्श गर्दा लाग्थ्यो, सूर्यले पृथ्वीलाई होइन, आत्मालाई उज्यालो पारिरहेको छ ।
माछापुच्छ«े आफ्नो अद्वितीय आकृतिसहित प्रकृतिको मौन गौरव बनेर उभिएको थियो । उसले कहिल्यै आरोहणको अनुमति दिएन, किनभने केही उचाइहरू जित्नका लागि होइन, श्रद्धाले निहार्नका लागि जन्मिएका हुन्छन् । अन्नपूर्णका शृंखलाहरूले आकाशसँग संवाद गरिरहेका थिए भने तल हरिया वन, झरना र सेता नदीहरूले पृथ्वीको हृदयलाई संगीतले भरिरहेका थिए । हावामा गुराँसको सुगन्ध थियो, पाखामा चराहरूको मधुर स्वर थियो, अनि क्षितिजमा फैलिएको हिमरेखाले जीवनको सबैभन्दा शान्त कविता लेखिरहेको थियो । प्रकृतिले कुनै शब्द प्रयोग गरेकी थिइन, तर उसका प्रत्येक दृश्यले हजारौं दर्शन बोलेका थिए ।
त्यही क्षण मैले अनुभव गरेँ– संसारको सबैभन्दा ठुलो मन्दिर हिमाली प्रकृतिको विराट काख हो । यहाँ कुनै मूर्ति छैन, तर प्रत्येक हिमशिखर देवत्वको प्रतीक बनेर उभिएको छ । यहाँ कुनै घण्टी बज्दैन, तर हावाको प्रत्येक सुसाइ प्रार्थनाजस्तो सुनिन्छ । यहाँ कुनै धर्मग्रन्थ पढिँदैन, तर नदी, वन, बादल र हिमालले अनादिकालदेखि जीवनको एउटै सत्य पढाइरहेका छन् जति माथि उठ्छौ, त्यति विनम्र हुन सिक । जति विशाल बन्छौ, त्यति मौन हुन सिक ।
त्यसपछि मैले महसुस गरेँ कि म केवल घान्द्रुकतर्फ यात्रा गरिरहेको थिइनँ । म प्रकृतिको विश्वविद्यालयतर्फ हिँडिरहेको थिएँ, जहाँ अन्नपूर्ण गुरु थियो, माछापुच्छ«े मौन दार्शनिक थियो, नदी समयको व्याख्याता थिई, वन धैर्यको पाठशाला थियो र आकाश अनन्तताको खुला ग्रन्थ थियो । काठमाडौंको कोलाहल बिस्तारै पछाडि छुट्दै गइरहेको थियो, तर मनभित्र एउटा नयाँ शान्ति जन्मिँदै थियो । त्यसैले यो यात्रा कुनै गाउँसम्म पुग्ने यात्रा मात्र रहेन । यो बाहिरी संसारबाट भित्री चेतनातर्फ अघि बढ्ने आध्यात्मिक आरोहणको सुरुवात बन्यो ।
बस पृथ्वी राजमार्ग हुँदै अघि बढ्दै गयो । उपत्यकाका कंक्रिटका भवनहरू बिस्तारै पछाडि छुट्दै गए । तिनको स्थान हरिया डाँडाहरूले लिन थाले । सडकसँगै बगिरहेकी त्रिशूली नदीले यात्राभर साथ दिइरही । नदीलाई हेर्दा लाग्थ्यो, उसलाई समुद्र पुग्ने कुनै हतार छैन । ऊ केवल आफ्नो लयमा बगिरहेकी छे । जीवन पनि सायद यस्तै हुनुपर्छ । हामी गन्तव्यको चिन्तामा वर्तमान गुमाउँछौं, तर नदीले वर्तमानमै आफ्नो सम्पूर्ण सौन्दर्य जिउँछे । प्रकृतिले त्यही क्षण पहिलो पाठ पढाइरहेको थियो । जीवन दौड होइन, प्रवाह हो ।
मुग्लिन पुग्दा त्रिशूली र मास्र्याङ्दीको आलिंगन आँखैअघि खुल्यो । दुई फरक हिमाली काखबाट जन्मिएका नदीहरू यहाँ आएर एउटै लयमा बग्न थालेका थिए । एउटा नदीको वेगमा पहाडको उग्रता थियो भने अर्कोको प्रवाहमा धैर्यको गहिराइ । तर, संगममा पुगेपछि कसैले आफ्नो परिचय जोगाउन खोजेन । दुवैले आफ्नो अहंकार नदीसँगै बगाइदिए । त्यहाँ न जित थियो, न हार; केवल समर्पण थियो । प्रकृतिले मौन भाषामा एउटा महान् सत्य उद्घोष गरिरहेकी थिई । अस्तित्वको सर्वोच्च रूप प्रतिस्पर्धामा होइन, सहअस्तित्वमा हुन्छ ।
केहीबेर म त्यही दृश्यमा हराएँ । संगमको निरन्तर प्रवाहलाई नियाल्दा लाग्यो, मानिसका जीवन पनि यस्तै दुई नदीजस्ता हुन् । हाम्रो जन्मभूमि फरक हुन्छ, भाषा फरक हुन्छ, संस्कार फरक हुन्छ, विश्वास फरक हुन्छ, तर अन्ततः सबैको खोज एउटै हुन्छ । शान्ति, प्रेम र आत्मिक पूर्णता । बाहिरका विभाजनहरू समयले बनाएका हुन्, भित्रको चेतना भने सधैं एउटै रहन्छ । त्यसैले बुद्धले भन्नुभएको थियो– मन नै सबै कुराको मूल हो ।’ मन शुद्ध भए संसार पनि शुद्ध देखिन्छ; मन विभाजित भए संसार पनि विभाजित देखिन्छ ।
संगमले मलाई अर्को सत्य पनि सम्झायो । नदीले कहिल्यै आफ्नो पानी आफैंका लागि बचाएर राख्दिन । ऊ निरन्तर बग्छे, दिन्छे र अन्ततः समुद्रमा आफूलाई विलीन गर्छे । मानिसले भने जीवनभर मेरो र तिम्रोको पर्खाल उठाइरहन्छ । प्रकृतिले त्यस्तो कुनै सीमारेखा कोरेकी छैन । सीमाहरू हाम्रो चेतनाले बनाएका हुन् । नदीले त केवल बग्न जानेकी छे, जोड्न जानेकी छे, जीवन दिन जानेकी छे । सायद त्यसैले नदीहरू सभ्यताका जननी कहलिएका हुन् ।
बस फेरि आफ्नो यात्रामा अघि बढ्यो, तर मेरो मन भने केही क्षण अझै त्यही संगमको किनारमा अडिइरह्यो । मैले महसुस गरेँ । जीवनको सार एक–अर्कामा मिसिन सक्ने विनम्रतामा रहेछ । त्रिशूली र मस्र्याङ्दीले त्यस दिन मलाई नदीको कथा मात्र सुनाएनन् । तिनले मानवता, एकता र आत्मसमर्पणको शाश्वत दर्शन पढाए ।
पोखरा पुग्नेबित्तिकै आकाश खुल्यो । बादलको चिर्कोबाट अचानक माछापुच्छ«े हिमाल मुस्कुरायो । फेवातालको निलो पानीमा हिमालको प्रतिविम्ब स्थिर थियो । त्यो दृश्य हेर्दा वास्तविकता र प्रतिविम्बबीचको सम्बन्धबारे सोच्न थालेँ । हामीले देख्ने संसार कति वास्तविक छ ? अनि हामीले बनाएको अहंकार कति स्थायी छ ? तालले कुनै उत्तर दिएन । उसले केवल आकाशलाई आफ्नो हृदयमा सम्हालिरह्यो । मौनता कहिलेकाहीँ सबैभन्दा गहिरो उत्तर हुने रहेछ ।
पोखराबाट हाम्रो यात्रा घान्द्रुकतर्फ मोडियो । सडक साँघुरिँदै गयो । सहरको भिड हराउँदै गयो । पहाडको शान्ति बिस्तारै मनभित्र पस्न थाल्यो । किम्चेबाट उकालो सुरु भएपछि पाइलाहरू भारी भए । सास गहिरो भयो । तर, आश्चर्य के थियो भने शरीर थाक्दै जाँदा मन भने हलुका हुँदै गइरहेको थियो । त्यसबेला लाग्यो– यात्राले सबैभन्दा पहिले शरीर होइन, अहंकारलाई थकाउँछ । उकालोले मानिसलाई विनम्र बनाउँछ, किनभने प्रकृतिका अगाडि कुनै पनि मानिस ठुलो हुँदैन ।
बाटोमा एक वृद्ध गुरुङ काँधमा डोको बोकेर सहज रूपमा उकालो चढिरहेका भेटिए । मैले मुस्कुराउँदै सोधेँ, ‘हजुरलाई थकाइ लाग्दैन ?’ उनले पनि मुस्कुराएर भने, ‘पहाडले थकाइ लगाउँदैन, थकाइसँग बाँच्न सिकाउँछ ।’ उनको त्यो वाक्य त जीवनको दर्शन थियो । हामी दुःख हटाउन खोज्छौं, तर प्रकृतिले दुःखसँग मित्रता गर्न सिकाउँछ । स्वीकार नै शान्तिको पहिलो ढोका रहेछ ।
केही समयपछि उकालोको अन्तिम मोड पार गर्दै गर्दा ढुंगाले छाएका घरहरू आँखाअगाडि खुल्न थाले । मैले सहजै अनुभूति गरेँ । म घान्द्रुक आइपुगेछु । त्यो कुनै गाउँमा प्रवेश गरेको क्षण मात्र थिएन । त्यो त प्रकृतिले आफ्ना सबैभन्दा सुन्दर रहस्यहरू एकैचोटि खोलिदिएको क्षण थियो । अन्नपूर्ण र माछापुच्छ«े हिमशृंखलाको काखमा बसेको घान्द्रुक कुनै चित्रकारको कल्पना होइन, स्वयं प्रकृतिको उत्कृष्ट कलाकृति रहेछ । हिमालका श्वेत शिखरहरू निलो आकाशसँग आलाप गरिरहेका थिए । तल हरिया वनले पृथ्वीलाई हरियो वस्त्र ओढाइदिएका थिए । ढुंगाका घरहरू मानौं ती हिमालका सन्तानझैं शान्त, स्थिर र गौरवपूर्ण देखिन्थे । फूलहरूले सजिएका आँगनमा हावाले मधुर स्पर्श गर्दै हिँड्दा सम्पूर्ण गाउँ एउटा जीवित कविताजस्तो अनुभूत हुन्थ्यो ।
त्यहाँको सौन्दर्य मनले महसुस गर्ने अनुभूति थियो । बिहानको घामले ढुंगाका छानामाथि सुनौलो आभा छर्दा गाउँ लजाएकी नवयौवनाको अनुहारजस्तै उज्यालो देखिन्थ्यो । हल्का हावाले गुराँसका फूलहरू हल्लाउँदा लाग्थ्यो, प्रकृतिले आफ्ना कोमल भावनाहरू मौन नृत्यमार्फत व्यक्त गरिरहेकी छे । पाखापखेरामा फैलिएका हरियाली, चराहरूको मधुर स्वर, झरनाको अविरल संगीत र हिमालबाट झरेको शीतल हावाले वातावरणलाई यस्तो जीवन्त बनाइदिएका थिए कि प्रत्येक साससँग पृथ्वीको प्रेम अनुभव गर्न सकिन्थ्यो । त्यो आकर्षण कुनै क्षणिक मोह थिएन । त्यो त सृष्टि र चेतनाबीचको आत्मीय सम्बन्ध थियो, जहाँ प्रकृतिले आफ्ना सम्पूर्ण रूप, रस र रागलाई एकैसाथ अभिव्यक्त गरेकी थिई ।
घान्द्रुक गुरुङ समुदायको सांस्कृतिक धरोहर हो । यो प्रकृति र संस्कृतिको अद्वितीय मिलनस्थल हो । गाउँका गल्लीहरूमा हिँड्दा परम्परागत जीवनशैलीका असंख्य रङहरू देखिन्थे । कतै वृद्ध आमाहरू ऊन कात्दै समयलाई धागोमा उन्दै थिए । कतै युवाहरू परम्परागत गुरुङ पोसाकमा आत्मीय मुस्कानसहित पाहुनाको स्वागत गरिरहेका थिए । कतै बालबालिकाको निष्कलंक हाँसो हिमाली हावासँग मिसिएर गाउँभरि गुञ्जिरहेको थियो । यहाँका ढुंगाका घरहरू इतिहासका पानाहरू थिए । यहाँका मानिसहरू जीवित संस्कृति थिए । यही कारण घान्द्रुक अनुभव गर्ने चेतना बनेर मनमा बस्छ । यहाँ प्रकृतिको विराट सौन्दर्य र मानवीय आत्मीयताको न्यानोपन एकअर्कामा यति सुन्दर ढंगले विलीन भएका छन् कि फर्किसकेपछि पनि मनको एउटा अंश सधैं त्यही हिमाली गाउँको शान्त काखमा बसेर मुस्कुराइरहन्छ ।
गाउँका मौलिक ढुंगाका घरहरूमा सञ्चालन गरिएका होमस्टेहरूले यात्रालाई अझ आत्मीय बनाइदिए । साँझ स्थानीय परिवारसँग बसेर ढिँडो, गुन्द्रुक, स्थानीय तरकारी र तातो चियाको स्वाद लिँदा लाग्यो, आतिथ्य कुनै व्यापार होइन, त्यो संस्कार हो । यहाँ पाहुनालाई ग्राहक होइन, परिवारको सदस्यजस्तै व्यवहार गरिन्थ्यो । सायद यही कारणले संसारभरका पर्यटकहरू बारम्बार घान्द्रुक फर्केर आउँछन् । उनीहरू मानवताको न्यानोपन अनुभव गर्न आउँछन् ।
साँझ पर्दै जाँदा आकाश असंख्य ताराले भरियो । काठमाडौंमा यति धेरै तारा देख्न सम्भव छैन । त्यहाँ बत्ती धेरै छन्, त्यसैले आकाश हराएको छ । यहाँ अँध्यारो गहिरो थियो, त्यसैले ताराहरू झन् उज्याला थिए । त्यसबेला लाग्यो मानिसको जीवन पनि यस्तै हो । बाहिरी चमक बढ्दै जाँदा भित्री प्रकाश हराउँदै जान्छ । मौनताले मात्र आत्माको तारा देख्न सकिन्छ ।
भोलिपल्ट बिहान अन्नपूर्ण हिमशृंखलामाथि सूर्यको पहिलो किरण पर्दाको दृश्य अवर्णनीय थियो । केही क्षणअघि चाँदीजस्तो देखिएको हिमाल अचानक सुनौलो भयो । त्यो दृश्यले मलाई एउटा गहिरो सत्य सम्झायो । प्रकाश बाहिरबाट आउँदैन, उसलाई ग्रहण गर्ने क्षमता भित्र हुनुपर्छ । एउटै सूर्यले सबै हिमाललाई समान रूपमा छोएको थियो, तर प्रत्येक चुचुरोले त्यसलाई आफ्नो ढंगले प्रतिविम्बित गरिरहेको थियो । मानिसको जीवन पनि त्यस्तै हो । अवसर सबैलाई आउँछ, तर त्यसलाई उज्यालोमा बदल्ने सामथ्र्य प्रत्येकको चेतनामा निर्भर हुन्छ ।
घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर र माछापुच्छ«े आधार शिविरतर्फ जाने पदमार्ग संसारकै लोकप्रिय पदयात्रामध्ये एक मानिन्छ । संसारका विभिन्न देशबाट आएका यात्रु एउटै बाटोमा हिँडिरहेका थिए । उनीहरूको भाषा फरक थियो, तर अनुहारमा देखिने उत्साह एउटै थियो । प्रकृतिले कहिल्यै राष्ट्रियता सोध्दिन । हिमालले धर्म सोध्दैन । हावाले भाषा सोध्दैन । प्रकृतिका अगाडि मानिस केवल मानिस हुन्छ । यही समानताले यात्रालाई विश्वव्यापी बनाउँछ ।
गाउँको माथिल्लो भागमा रहेको एउटा सानो गुम्बामा केही समय बिताएँ । प्रार्थनाका झन्डाहरू हावासँगै फर्फराइरहेका थिए । घण्टीको मधुर ध्वनि वातावरणमा फैलिएको थियो । मैले आँखा बन्द गरेँ । त्यहाँ कुनै चमत्कार देखिनँ । तर, आफ्नै मनको कोलाहल स्पष्ट सुनियो । त्यसै क्षण मैले बुझेँ– अध्यात्म बाहिर देवता खोज्ने यात्रा होइन, आफ्नै बेचैन मनलाई शान्त बनाउने साधना हो ।
फर्किने दिन आयो । उही बाटो, उही खोला, उही डाँडा फेरि देखिए । तर म भने उही थिइनँ । यात्राले बाहिरी दृश्यभन्दा बढी भित्री दृष्टि बदलिदिएको थियो । पोखरा फेरि आयो । काठमाडौं पनि फेरि आयो । भिड, हर्न र हतार फेरि सुरु भए । तर मेरो मनभित्र घान्द्रुकको मौनता अझै जीवित थियो । मैले त्यहाँबाट कुनै महँगो वस्तु ल्याइनँ । कुनै स्मृतिचिह्न पनि किनिनँ । तर, एउटा अमूल्य सम्पत्ति भने लिएर फर्किएँ । सरल जीवनको दर्शन, प्रकृतिप्रतिको श्रद्धा, संस्कृतिप्रतिको सम्मान र आत्माभित्रको मौनताको उज्यालो ।
आज पनि जब जीवन अत्यन्त व्यस्त हुन्छ, म आँखा बन्द गर्छु । त्यसपछि मनमा फेरि घान्द्रुक देखापर्छ । ढुंगाले छाएका घरहरू देखिन्छन् । अन्नपूर्णको शान्त मुस्कान देखिन्छ । माछापुच्छ«ेको गौरव देखिन्छ । गुरुङ गाउँको आत्मीयता महसुस हुन्छ । अनि लाग्छ यात्राको अन्त्य गन्तव्यमा हुँदैन । यात्राको अन्त्य त्यही बेला हुन्छ, जब मानिसले आफूभित्रको हिमाल भेट्छ । र त्यो हिमाल बाहिरको कुनै शिखरभन्दा धेरै अग्लो हुन्छ ।