
काठमाडौँ : नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई २०८२ सालको ‘कविडाँडा आख्यान पुरस्कार’ प्रदान गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो ।
कविडाँडा साहित्य समाजले प्रदान गर्ने उक्त पुरस्कारको राशि दुई लाख १६० रुपैयाँ रहेको छ । आख्यान विधाअन्तर्गत कथा तथा उपन्यास कृतिका लागि प्रदान गरिने यो पुरस्कारको राशि नेपालमै सर्वाधिक रहेको समाजका अध्यक्ष एलबी क्षेत्रीले दाबी गरे ।

अध्यक्ष क्षेत्रीका अनुसार समाजले वर्षभरि प्रकाशित आख्यान कृतिमध्ये उत्कृष्ट कृति छनोट गरी हरेक वर्ष एक कृतिलाई पुरस्कृत गर्दै आएको छ ।
चितवनको भरतपुरमा २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले २०७५ सालदेखि हरेक वर्ष आख्यान पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष प्रकाशित उत्कृष्ट आख्यान कृतिमध्ये ‘राजमाता’लाई पुरस्कृत गर्ने घोषणा गत असोज ७ गते गरिएको थियो ।
