२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रचण्डको दायित्व

ADV
२०८१ साउन २८ गते ०६:५५
प्रचण्डको दायित्व

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । ९ वर्षपछि प्रमुख विपक्षी भूमिकाको हैसियतमा माओवादी बैठक बसिरहेकाले चासोका साथ हेरिनु स्वभाविक हो । अझ बैठकमा उठेको एजेण्डाले चासो बढाएको छ । किनकि बैठकमा साढे तीन दशकदेखि नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष छोड्न दबाव दिइएको छ । उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष छोड्न तीन विकल्प दिएका छन् । लिखित प्रस्तावकै रुपमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण अथवा महाधिवेशन गरेर छोड्न प्रचण्डलाई सुझाव दिएकाले माओवादी बैठक चासोको विषय बनेको हो । प्रचण्डले जति लामो समय माओवादीको नेतृत्व गरे र उनको स्वीकारोक्ति पार्टीभित्र थियो, त्यसआधारमा शर्माको प्रस्ताव अर्थपूर्ण छ । 

अझ शर्मा लामो समयदेखि प्रचण्डकै सहयोगी नेता हुन् । निर्मल लामा, मोहनविक्रम सिंह, मोहन वैद्य, बाबुराम भट्टराई जस्ता नेताहरुले पार्टी छोडेर निस्कने परिस्थिति प्रचण्डले बनाउँदा पनि शर्मा लगायत केही नेताहरुले सधैं बलियो साथ दिने गरेका थिए । प्रचण्डकै समकालीन बाबुरामले ९ वर्षअगाडि माओवादी छोडे । त्यसबेला बाबुरामलाई छोडेर कयौं नेताहरुले प्रचण्डलाई साथ दिएका थिए । तर नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा प्रधानमन्त्री पद गुमाएका प्रचण्डलाई जुनियर नेताहरुले चुनौती दिएका छन् । शर्माले अध्यक्ष पदमा तेस्रो पुस्ताका नेता ल्याउने विकल्प समेत दिएका छन् । धेरैले शर्माको प्रस्तावलाई सकारात्मक भनेका छन् । प्रचण्डले जीवनभर अध्यक्ष छोड्दैनन् भन्ने भाष्यका कारणले पनि शर्माको प्रस्तावलाई सकारात्मक मानिएको हुन सक्छ । 

जवाफमा प्रचण्डले भने आफूलाई हटाउन चाहने शक्तिलाई ‘विदेशी तत्व’को टिप्पणी गरेका छन् । अझ भारतीय विदेश सचिव काठमाडौंमै रहेको र अमेरिकाबाट उच्च तहको भ्रमण हुँदै गर्दा प्रचण्डले यस्तो टिप्पणी गरेका छन् । प्रचण्डको जवाफी टिप्प्णी र शर्माको प्रस्तावका कारण राष्ट्रिय राजनीतिमै असर पर्ने संभावना हुन सक्छ । किनकि माओवादीको राजनीतिले समाज र मुलुकलाई प्रभाव नपार्ने कुरै हुँदैन । अझ माओवादी शक्ति विशेष पृष्ठभूमिबाट उदाएको तथ्य कतै लुक्दैन । तसर्थ माओवादीभित्र उत्पन्न समस्यालाई सुझबुझपूर्ण तरिकाले हल गर्न आवश्यक छ । नेतृत्व परिवर्तन पार्टीभित्रको लोकतन्त्रको कुरा हो । तर त्यसले मुलुकको राजनीतिक संस्कृति र देशको कुटनीतिलाई समेत असर पार्न सक्छ । यसबारे आवश्यक ध्यान दिएर समाधान निकाल्नु स्वयं प्रचण्डकै पनि दायित्व हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise