
काठमाडौं : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रको एक गेस्ट हाउसमा युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको छ । मृतकको शव हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ भने उनका आफन्त अझै सम्पर्कमा आएका छैनन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोंगबुको बिजी मल पछाडि रहेको माउन्ट एल्भिस होटलको एक कोठामा आइतबार २५ वर्षीया निशा सुनार मृत अवस्थामा फेला परेकी हुन् । होटलमा बस्दा उनले आफूलाई कैलालीको धनगढी उपमहानगरपालिका स्थायी ठेगाना भएको उल्लेख गरेकी थिइन् ।
प्रहरीका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले कोठाभित्र निशाको शव फेला पारी अनुसन्धान सुरु गरेको हो ।
प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको र घटनाका सबै पक्षमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।